पर्वत- पर्वतको कुश्मा नगरपालिका-८ चुवाको पराधिमा आज बिहान बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो।
मृत्यु हुनेमा उदयपुरको चौवन्दी गाउँपालिकाका १८ वर्षीय विशाल लामिछाने रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्र्याक्टरमा मध्यपहाडी लोकमार्गका मजदुर सवार थिए। उनीहरुमध्ये पाँच जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिएका छन्।
उनका अनुसार १४ जना सामान्य घाइते भएका छन्। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पर्वत र गम्भीर घाइतेलाई पोखरा पठाइएको छ। बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको छ।