सुर्खेत- नेपाली कांग्रेस कर्णाली प्रदेश समितिको सभापतिमा लागि ललितजंग शाही र भूपेन्द्रजंग शाहीबीच प्रतिस्पर्धा हुने भएको छ। सभापति शेरबहादुर देउवा समूहबाट ललितजंग शाही र संस्थापन इतर (रामचन्द्र पौडेल समूह)बाट भूपेन्द्रजंग शाहीलाई उम्मेदवार बन्ने भएका छन्।
जुम्लाका ललितजंग २०७० को संविधान सभा सदस्य हुन्। पहिलेदेखि नै कोइराला परिवारसँग नजिक रहेका ललितजंग केही महिनाअघि मात्रै देउवा समूहमा खुलेका हुन्। ललितजंगले आफूलाई दुबै पक्षको साथ रहेको भन्दै जित सुनिश्चित भएको दाबी गरेका छन्। उनलाई कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र कांग्रेस संसदीय दलका नेता एवम् कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री जीवनबहादुर शाहीको साथ छ।
त्यस्तै कालीकोटका भूपेन्द्रजंग नेपाल तरुण दलका केन्द्रीय महामन्त्री हुन्। कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी २०७० संविधानसभा सदस्यको उम्मेद्वार र २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेद्वार बनेका थिए। दुबै निर्वाचनमा उनले पराजय भोगेका थिए। आफू युवा पुस्ताको रोजाई परेका कारण शाहीले पनि जित सुनश्चित रहेको दाबी गरेका छन्। उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानी समूहको साथ छ।
शाहीद्वय नै सभापतिमा भिडेपछि निर्णायक मानिएको साविक कर्णालीको भोट विभाजित हुने निश्चित भएको छ। कर्णालीमा भेगिए नारा निकै प्यारो मानिन्छ। यही कारण दुबै समूहले साविक कर्णालीबाट प्रदेशको नेतृत्व भिडाउने निर्णय गरेका हुन्।
दुबै समूह प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन्। ललितजंगको समूहबाट उपसभापतिमा कालीकोटका कालीबहादुर सहकारी, महामन्त्री सुर्खेतका निरजंन केसी, सह–महामन्त्रीमा सुर्खेतका उपेन्द्रबहादुर थापालाई उम्मेदवार बनाउने पक्का भएको छ। बाँकी पदाधिकारीसहित सदस्यहरु उम्मेद्वार टुंग्याउन छलफल भइरहेको संस्थापन समूहले जनाएको छ।
संस्थापन इतर समूहबाट उपसभापतिका लागि जुम्लाका देवेन्द्रबहादुर शाही र रुकुमपश्चिमका तिकल भण्डारीलाई उम्मेदवार बनाइएको छ।
त्यस्तै महामन्त्रीमा दैलेखका कृष्णकुमार विसी, सहमहामन्त्रीमा डोल्पाका जयनन्द उपाध्याय, जाजरकोटका देवीकाकुमारी सिंहलाई उम्मेदवार बनाइएको छ। अर्का महामन्त्री र सहमहामन्त्रीमा भने सल्यान र मुगुबाट उम्मेदवार बनाउने गरी छलफल भइरहेको पौडेल पक्षले जनाएको छ। दुबै समूहले उम्मेदवारको टुंगो लगाउन छलफलमा व्यस्त छन्। आज नै मनोनय गर्नुपर्ने भएका कारण दिउँसोसम्म उम्मेद्वार टुंग्याउने गरी तयारी भइरहेको छ।