गुल्मी- विषय विज्ञविना पनि आठ वर्षदेखि कफी अनुसन्धान कार्यक्रम सन्चालन भइरहेको छ भनेको सुन्दा अचम्म लाग्न सक्छ। तर, गुल्मीमा यस्तै भइरहेको छ। दरबन्दीअनुसारको विज्ञ नहुँदा कार्यालय नै सन्तुष्ट छैन्। कार्यालयबाट सेवा लिन आउने सन्तुष्ट होलान भनेर कसरी विश्वास गर्ने?
केही समयअघि जिल्ला स्तरीय प्रगती समीक्षामा कफी अनुसन्धान कार्यक्रमका प्रमुख जितनारायण चौधरीले कफी अनुशन्धान कार्यक्रम बारे फेरेस्त सुनाए। तर, अन्तिममा दरबन्दीअनुसार विज्ञ नभएकाले विज्ञ उपलब्ध गराइदिन माग गरे। कार्यक्रममा मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी झोक्किएर कार्यालय प्रमुखलाई उल्टै प्रश्न गरे। ‘तपाईको केन्द्रीय कार्यालयलाई कर्मचारी नभएको थाहा छ की छैन?’
रुरु क्षेत्र गाउँपालिका-४ को भण्डारी डाँडामा ०७१ सालदेखि कफी अनुसन्धान कार्यक्रम संचालन भएको हो। जग्गा, भौतिक पुर्वाधार, कर्मचारीसँगै अनुसन्धानका लागि अहिलेसम्म करोडौं खर्च भइसकेको छ। कार्यक्रम सुरु भएको दशक पुग्न थाले पनि किसानहरूले भने थाहा पाएका छैनन्। आठ बर्षमा १० जातका बिउबाट सुरु गरेको अनुसन्धानलाई ४२ जातमा पुर्याइएको छ। कफीको बोट, फल, बिउ, माटो, बिरुवा, उत्पादनदेखि गुणस्तरसम्म सबै परीक्षण गरिने केन्द्रका वरिष्ठ वैज्ञानिक जितनारायण चौधरीले जानकारी दिए।
सेतो गवारोबाट बिचलित किसानले अनुसन्धानबाट केही निकास पाउन सकेका छैनन्। कफी अनुसन्धान कार्यक्रमको लागि ६ जनाको दरबन्दी छ। जसमा बागबानी, किट, माटोलगायत पर्छन्। अहिले कार्यालय प्रमुख चौधरीबाहेक वैज्ञानिक छैनन्। कार्यालयको प्रशासनीक अधिकृत र लेखा अधिकृतसहित अरु पद पनि रिक्त रहेको चौधरीले बताए। ‘विज्ञकै कारण सोचअनुसारको काम भएको छैन। म एक्लैले के गरौँ,’ उनले भने, ‘विज्ञ र प्राविधिकविना अनुसन्धानको के अर्थ?’
जनशत्ति मात्रै होइन् यहाँ माटो परीक्षण गर्ने प्रयोगशाला छैनन्। वर्षातमा कार्यक्रम स्थलसम्म पुग्नै सकिँदैन्। सडक राम्रो नभएका कारण कफीको अध्ययन, अनुसन्धान र अवलोकन गर्न आउनेहरूले समेत दु:ख पाएको चौधरीले बताए। सेतो गवारो नियन्त्रण नहुँदा निराश बनेका जिल्लाका कफी किसानले कार्यक्रमबाट राहतको आशा गरेका थिए। तर, कार्यक्रम प्रभावकारी नहुँदा सोचे अनुसारको उपलब्धि भएको छैन।
नेपालमा गुल्मी कफीको जननी जिल्ला हो। ८० वर्ष पहिलेदेखि यहाँ कफी उत्पादन हुँदै आएको छ। यहाँको तत्कालिन पचौर गाविसका स्थानीय हिरा गिरीले बर्माबाट कफीको बिरुवा ल्याएर रोपेका थिए। आँपचौरमा कफी निकै राम्रो हुँदै गयो। त्यो बेला कफी बगैचा तत्कालिन राजा वीरेन्द्रलेसमेत अवलोलन गरेका थिए। तर, कफीमा देखिएको सेतो गवारो र सिंधुरे रोगको कारण किसान आजित थिए। कैंयौँले कफी फाँडेर अन्य खेति गर्न थालेका थिए।
०७१ सालमा सरकारले गुल्मीमा कफी अनुसन्धान कार्यक्रम सुरु गरेपछि किसानहरूमा उर्जा पलाएको थियो। तर, देशमै एक मात्रै कार्यक्रम प्रभावित भएपछि दु:ख लागेको किसान बेदबहादुर ज्ञवालीले गुनासो गरे। उनले कार्यक्रमबाटै राज्यको कृषिप्रतिको सोच छर्लङ्ग हुने प्रतिक्रिया दिए। ‘देशकै कार्यक्रमलाई गवारो लाग्यो। किसानका कफीको समस्या कसले हेर्ने,’उनले भने,‘आखिर मर्ने किसान हो।’
-न्युज काराखाना