काठमाडौं– तोकिएको समयमा काम भएको भए यतिखेर संघीय सरकारका मन्त्रीहरु पुलचोकस्थित सरकारी निवास छाडेर भैंसेपाटीस्थित मन्त्रीनिवासमा सरिसकेका हुन्थे। मुख्यमन्त्री र प्रदेश प्रमुख काठमाडौं आउँदा होटलमा होइन सुविधासम्पन्न सरकारी निवासमा हुन्थे। सरकारी उच्च अधिकारीहरुको ओहोरदोहोरले भैंसेपाटी अझ व्यस्त हुने थियो।
तर, तोकिएको समयमा काम नहुँदा मन्त्रीहरु ललितपुर, भैंसेपाटीस्थित मन्त्री निवासमा सर्ने समय पर धकेलिएको छ। कात्तिक महिनामै सम्पन्न हुनुपर्ने मन्त्री क्वाटरको काम ६५ प्रतिशत मात्रै सकिएको छ। अब सहरी विकास तथा भवन निर्माण विभागले असार मसान्तसम्म काम सक्न ठेकेदार कम्पनी श्रीहनुमान जेभीलाई म्याद दिएको छ।
श्रीहनुमान जेभीले २७ वटा भवनको भ्यालढोका, रंगरोगनको काम मात्र बाँकी रहेको र सिभिल ईन्जिनयरिङको सबै काम सकिएको जनाएको छ। ‘अहिले पनि हामीले दैनिक २ सय ५० कामदारबाट काम गराइरहेका छौं,’ परियोजना अधिकृत होमकार मर्हजनले भने, ‘असारसम्ममा काम सकिन्छ होला।’
२०७८ कात्तिक १४ गतेभित्र काम सक्ने गरी दुई वर्षअघि सहरी विकास तथा भवन निर्माण विभागले संघीय मन्त्री निवास बनाउने ठेक्का लगाएको थियो। निर्माणको सो काम १ अर्ब ३ करोड ४६ लाखमा सक्ने गरी उक्त कम्पनीले ठेक्का पाएको थियो।
‘तोकिएकै समयमा निर्माण सक्ने योजना थियो तर कोरोना महामारीका कारण दुई चरणमा लगाइएको लकडाउनले गर्दा झण्डै ८ महिना काम हुन नपाउँदा काम प्रभावित भएको हो,’ महर्जनले भने, ‘अब केही अवरोध नआएमा असारसम्म सबै काम सक्नेछौं।’
मन्त्रीको आवास क्षेत्रमा सभाहल, जिमखाना, हेलिप्याड, हेल्थ क्लब, ग्रोसरी, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, स्विमिङपुल र पार्किङ हुनेछन् ।
पहिलो चरणमा २७ भवन निर्माण गरेपछि दोस्रो चरणको निर्माण कार्य सुरु भएको छ। दोस्रो चरणमा अहिले मन्त्रीसहित प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षहरूका लागि जिम, स्विमिङपुलदेखि हेलिप्याड निर्माणको काम सुरु भएको सहरी विकास तथा भवन निर्माण विभागका विशेष भवन निर्माण आयोजना निर्देशक दिलीपशेखर श्रेष्ठले बताए।
मन्त्रीको आवास क्षेत्रमा सभाहल, जिमखाना, हेलिप्याड, हेल्थ क्लब, ग्रोसरी, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, स्विमिङपुल र पार्किङ हुनेछन् ।
प्रदेश प्रमुख र मुख्यमन्त्रीको भवन निर्माण सुस्त
प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि समेत सोही स्थानमा भवन निर्माणाधीन छ। सो भवनको काम ७० प्रतिशत सकिएको भवन विभागले जनाएको छ। प्रदेश प्रमुख र मुख्यमन्त्रीको भवन निर्माणमा खटिरहेका साइट इन्जिनियर राहुल तिवारीका अनुसार अब झ्यालढोका लगाउने, भवनमा पेन्टिङ गर्ने र सडक निर्माणका काम मात्र बाँकी छन्।
‘अब ३५ प्रतिशत काम बाँकी छ,’ उनले भने, ‘आउँदो असारसम्म सकिने हाम्रो विश्वास छ। कोरोनाका कारण ६ महिनाभन्दा लामो समय काम हुन सकेन, मजदुरहरु तितरबितर भए, सामान ल्याउन सहज थिएन। हाल कामले गति लिएको छ।’
समयमा काम नसकिएपछि शहरी विकास तथा भवन निर्माण विभागले ठेकेदार कम्पनी केसी समानान्तर जेभीलाई असार मसान्तसम्मको म्याद दिएको छ। निर्माण कम्पनीले थपिएको म्यादमा सबै काम सक्ने दाबी गरेको छ।
२७ रोपनी १२ आना जग्गामा प्रदेशप्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय बनिरहेको छ। प्रत्येक प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि यहाँ ७ वटा भवनमा १४ वटा ब्लक बनाइएको छ। प्रत्येक भवनमा दुईवटा ब्लक रहनेछन्। एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीका लागि हुनेछ।
सबै भवन साढे दुई तलाको हुनेछ। प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयको कुल लागत ७२ करोड ४७ लाख रहेको छ। यसको निर्माण कार्य २०७६ कात्तिकदेखि सुरु भएको थियो।
सहरी विकास तथा भवन निर्माण विभागले आगामी असारसम्ममा मन्त्रीहरुको क्वार्टर तयार पार्ने बताएको छ। मुख्य भवनका काम सकिएकाले बाँकी काम आगामी असारसम्म सकेर मन्त्री बस्नका लागि तयार पार्ने भवन विभागका विशेष भवन निर्माण आयोजना निर्देशक दिलीपशेखर श्रेष्ठको भनाइ छ।
‘अब ३५ प्रतिशत काम बाँकी छ,’ उनले भने, ‘आउँदो असारसम्म सकिने हाम्रो विश्वास छ। कोरोनाका कारण ६ महिनाभन्दा लामो समय काम हुन सकेन, मजदुरहरु तितरबितर भए, सामान ल्याउन सहज थिएन। हाल कामले गति लिएको छ।’
यस वर्ष लगातार परेको वर्षाले पनि काममा केही असर गरेको आयोजना निर्देशक श्रेष्ठ बताउँछन्। ‘फेरि कोरोनाको नयाँ भेरियन्ट फैलिएको हल्ला छ, यदि त्यसले कुनै असर गर्ने र प्राकृतिक विपत्ति सहनु परेन भने निर्माण कम्पनीले समयमै काम सक्छ’, उनले भने।
कस्तो हुनेछ मन्त्री क्वार्टर
१ सय २४ रोपनी ६ आना क्षेत्रफलमा रहेको मन्त्री क्वार्टर क्षेत्रमा ९६ रोपनी १० आनामा भवन बनेको छ। मन्त्रीहरुको निवास २४ वटा, राष्ट्रिय सभाको अध्यक्षको निवास १, राष्ट्रिय सभाको उपाध्यक्षको निवास १, उपसभामुखको निवास १ छन्।
मन्त्रीनिवासको भुइँतलामा लबी, मिटिङ हल, निजी कोठा, गार्ड कोठा, कर्मचारीका लागि सुत्ने कोठा रहनेछन्। पहिलो तलामा मन्त्री सुत्ने मुख्य कोठा, परिवारका सदस्य सुत्ने कोठा, बैठक कक्ष, भान्सा र डाइनिङ हल हुनेछ। दोस्रो तलामा दुईवटा पाहुना कोठा, पूजा कोठा र लन्ड्री रुम हुनेछ। मन्त्री क्वार्टरमा एउटा बहुद्देश्यीय सभाहल र सुरक्षा गार्डका लागि एउटा भवन बन्दैछ। १७ मंसिर ०७५ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, राष्ट्रिय सभाका अध्यक्षसहित मन्त्रीहरूका लागि आवास निर्माण गर्ने निर्णय गरेको थियो। सोही अनुसार यी भवनहरु निर्माण भइरहेका हुन्।