महोत्तरी- महोत्तरीको मनरासिस्वा नगरपालिकामा गए राति आफैँले चलाएको ट्र्याक्टरमा चेपिएर ट्रयाक्टर चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मनरासिस्वाँ नगरपालिका-७ बस्ने सत्यनारायण मण्डलका छोरा ट्रयाक्टर चालक मनोज रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए।
गए राति ८:३० बजे मनरासिस्वाँ-६ बस्ने विनोद साहको ज१त ४३२८ नंको ट्रयाक्टर खेत जोतेर घर फर्किरहेका अवस्थामा मनरासिस्वाँ-६ मै पर्ने वनमा ट्र्याक्टर अचानक अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टर चलाउने चालक मण्डलको सोही ट्र्याक्टरमा चेपिएर गम्भीर घाइते भएका थिए।
गम्भीर घाइते चालकलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याई प्राथमिक उपचारपछि थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगिएकामा उपचारकै क्रममा राति नै मृत्यु भएको प्रहरी उपरीक्षक कडायतले बताए। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४