बिहीबार, भदौ ४, २०८३

रावलको 'साहसिक' पराजय

ओली समूहका कार्यकर्ताका नाराबाजीमा एमाले अध्यक्षका दाबेदार रहेका भीम रावललाई विभिन्न आरोप लगाइएको थियो। उनलाई 'नक्कली राष्ट्रवादी', 'पार्टी फुटाउने मतियार' र 'लड्डुलाल' र 'गद्दार' जस्ता आरोप लगाइएको थियो।
 |  मंगलबार, मंसिर १४, २०७८

तीर्थराज निरौला

तीर्थराज निरौला

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं- नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली ठूलो मतान्तरसहित अध्यक्षमा निर्वाचित भए। उनलाई भीम रावलले चुनौती दिएका थिए। यद्यपि रावलको पक्षमा २२३ मत मात्र खस्यो, ओलीले १८३७ मत प्राप्त गरे।

महाधिवेशनमा रावलले प्राप्त गरेको मतलाई मात्र आधार मान्ने हो हो भने अंकगणीतिय रूपमा कम नै हो। तर रावलको पराजय पनि साहसिक बनेको छ। एमालेमा ओलीको विपक्षमा गरिने अभिव्यक्तिमाथि नै झन्डैझन्डै बन्देज लाग्न आँटेका बेला रावलले उनीविरुद्ध उम्मेदवारी दिनु, त्यसमा अडिग रहनु र चुनाव चाहँदै-नचाहने ओलीलाई अन्ततः चुनामै पुर्‍याउनुलाई रावलको नैतिक जित भन्न सकिन्छ। 

महाधिवेशनका क्रममा रावलले विभिन्न चुनौती भोगे। ओली, उनी पक्ष र आसेपासेहरूले रावललाई विभिन्न चुनौती खडा गरेका थिए। नवौँ महाधिवेशनबाट अध्यक्षमा विजयी भएदेखि नै ओलीले रावललाई किनारामा पार्न थालिसकेका थिए। तैपनि दसौँ महाधिवेशनका गतिविधि र त्यसको ५ दिन अघि अध्यक्षमा रावलको उम्मेदवारी घोषणापछिका क्रियाकलापका आधारमा मात्रै भन्ने हो भने पनि रावलको हारलाई साहसिक भन्न सकिन्छ। 

आरोपका शृंखला 

नेकपा एमाले महाधिवेशनको बन्दसत्रस्थल सर्वसम्मत नयाँ नेतृत्व चयनका लागि भन्दै ओलीलगायतको समूहले निर्वाचनका कार्यक्रममा ढिलाई गरिरहेको थियो। तर आफूहरू कुनै पनि हालतमा उम्मेदवारी फिर्ता लिने पक्षमा नभएकाले सर्वसम्मत नेतृत्व चयनका नाममा समय धेरै खर्च नगरी निर्वाचनका कार्यक्रम सुरु गर्नुपर्ने माग गर्दै आएका थिए। 

त्यही बेला बन्दसत्रस्थलमा ओलीका कार्यकर्ताले नाराबाजी गरे। बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र राती अबेर सुरु भएपछि बन्दसत्रस्थलमा ओली पक्षका कार्यकर्ताले नाराबाजी गरेका थिए।

ओली समूहका कार्यकर्ताका नाराबाजीमा एमाले अध्यक्षका दाबेदार रहेका भीम रावललाई विभिन्न आरोप लगाइएको थियो। उनलाई 'नक्कली राष्ट्रवादी', 'पार्टी फुटाउने मतियार' र 'लड्डुलाल' र 'गद्दार' जस्ता आरोप लगाइएको थियो।

राजनीतिक विश्लेषक सौरभ कम्युनिस्ट राजनीतिमा 'गद्दार' भन्दा तलको गाली नहुने बताउँछन्। 'कम्युनिस्ट राजनीतिमा गद्दार भन्दा तलको गाली नै हुँदैन। त्यसपछि त फाइनल हो,' पत्रकार टीकाराम यात्रीसँग अन्तर्वार्ताका क्रममा सौरभले भनेका छन्। 

उनले विभिन्न देशका कम्युनिस्ट नेताहरूको उदाहरण दिएर यसको व्याख्या गरेका पनि छन्। 'त्यत्रो क्रान्तिकारी नेता टार्टस्कीलाई गद्दार भनेर स्टालिनले सिद्ध्याएको हो। लेभ्रेन्तीभेरियलाई गद्दार भनेर ख्रुस्चेभले सिद्ध्याएको हो रुसमा। चीनमा माओत्सेतुङ अध्यक्ष भएका बेला उपाध्यक्ष लिम्पियाओलाई सिद्ध्याएको हो,' उनले भने, 'लिउ साउ चेलाई गद्दार भनेर आजीवन जेल हाल्या हो। हंगेरीको इम्रेनागीलाई गद्दार भनेर सिद्ध्याएको हो। गद्दार भनेको त्यस्तो हो। त्यसपछि मिल्ने ठाउँ कतै पनि रहँदैन।' तर यसमा भनाइको गहिराइ छ भन्ने कुराले भने फरक पर्न सक्ने उनको भनाइ छ।

यी विभिन्न आरोप लगाइएपनि ओलीविरुद्ध उम्मेदवारी पेस गर्न विभिन्न बाधा उनलाई आइपरेका थिए। तर ती बाधाव्यवधानसँग जुध्दै रावलका लागि 'संकटपूर्ण' महाधिवेशन पूरा भएको छ।

रावलले हल छोड्नै पाएनन् 

मतदान हुने भनिएको दिन बन्दसत्र सुरु हुने प्रतीक्षामा भीम रावल आठ घण्टासम्म बन्दसत्र हलबाट बाहिर निस्किएनन्। ओलीको समूहले जुनसकै बेला जेसुकै पनि गर्न सक्ने भन्दै उनी ८ घण्टासम्म बन्दसत्र हलमा नै कुर्नुपरेको थियो। उता केपी शर्मा ओली पक्ष भने त्यसबेला सहमतिको प्रयास भन्दै दिनभर होटलमा भेटघाटमा व्यस्त थिए।

ओली टिम होटलमा बसेर फोटोसेसन गर्दै ओलीले गोजीबाट निकालेका 'पदाधिकारी र केन्द्रीय सदस्यको सूची प्रिन्ट भइसक्यो। ९९ प्रतिशत सहमति भइसकेको छ' भन्ने सार्वजनिक खपतका समाचार सार्वजनिक गर्न व्यस्त थिए। 

राती अबेर सहमतिका लागि भन्दै अध्यक्ष मण्डलको बैठक बोलाइयो। अध्यक्ष मण्डलमा रावल पनि थिए। बैठकमा सहभागी हुनका लागि मात्र उनी हल बाहिर निस्किए। अध्यक्ष मण्डलमा ओलीसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, रामबहादुर थापा, युवराज ज्ञवालीसहित ११ जना नेता थिए। बैठकमा उनलाई सहमतिमा आउन भनियो तर उनी आफ्नो अडानमा कायम रहे। 

महाधिवेशनका अधिकांश प्रतिनिधि ओलीले जे गर्‍यो त्यसलाई जयजयकार गर्ने पंक्ति ठूलो भएकाले रावलले बन्दसत्रस्थल छोड्न नसकेको भन्न सकिन्छ। रावलले 'जति बेला पनि जेसुकै हुन सक्ने' भनेर यसैलाई संकेत गरेका थिए। 

रावलको पर्चा बाँड्ने निकालिए

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा भीम रावलको पर्चा वितरण गरिरहेका कार्यकर्तालाई बाहिर निकालिए। महाधिवेशन प्रतिनिधिहरूलाई रावल निकट युवाहरूले तस्बिरसहितको सानो पुस्तिका वितरण गरिरहेका थिए।

पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरूलाई एमाले स्वयंसेवकहरूले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाएको बताइएको छ।

‘मेरो उम्मेदवारी किन’ लेखिएको हाते पुस्तिका रावल निकट कार्यकर्ताले बाँडेका थिए। एमालेको १०औं महाधिवेशनमा पदाधिकारी वा केन्द्रीय सदस्यका आकांक्षी कसैले पनि पर्चा पम्प्लेट बाँड्न नपाउने गरी आचार संहिता जारी गरिएको थियो। तर, त्यसको बेवास्ता गर्दै बन्दसत्र हल बाहिर रावल निकट युवाले पर्चा बाँडेका थिए।

हुन त, केपी शर्मा ओली पहिलो पटक एमाले अध्यक्ष भएदेखि नै रावललगायतका नेताहरूलाई किनारा गर्ने प्रयासमा थिए। पछिल्लो समय तत्कालीन नेकपा हुँदा माधवकुमार नेपाल पक्षमा लागेपछि ओलीले उनीलगाययतलाई झन् पेलानमा पारे। यो क्रम महाधिवेशनको मतदान सुरु नहुन्जेलसम्म कायमै रह्यो। 

प्रतिनिधि चयनमा किनारा

महाधिवेशनबा सहमतिमा 'सर्वेसर्वा' बन्ने प्रयासमा रहेका ओलीले प्रतिनिधि चयनबाट नै भीम रावललाई किनारामा पार्ने काम गरेका थिए। प्रतिनिधि चयनमा व्यापक धाँधली भएको भन्दै उनले पटकपटक अभिव्यक्ति राखे।  विधानसम्मत रूपमा प्रतिनिधि चयन गर्नुपर्ने भन्दै पार्टीका निकायमा उजुरी दिए। तर उनको भनाइ सुनिनेवाला थिएन, सुनिएन। 

प्रतिनिधि चयनमा 'धाँधली' भएको भन्दै उनले सार्वजनिक रूपमा नै विज्ञप्ति जारी गर्नुपरेको थियो। निर्वाचन र सहमति पनि नगरी कथित व्यक्तिहरूलाई स्वेच्छाचारी ढंगबाट प्रतिनिधि बनाइएको उनको आरोप थियो। 

मंसिर १ गते उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, 'दसौं राष्ट्रिय महाधिवेशन स्वच्छ र निष्पक्ष किसिमले हुनुपर्छ भन्ने सबैको चाहना र पार्टीको आवश्यकता हो,'  रावलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'तर यस्तो चाहना र आवश्यकता विपरीत कतिपय स्थानमा पार्टी सदस्यता वितरण, नविकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरीतका क्रियाकलाप भएका छन्।'

कैलालीलगायतका जिल्लामा सदस्यता वितरण, नवीकरण र प्रतिनिधि चयनमा भइरहेको बेथितिबारे आफूले कुरा उठाएपनि सुनुवाइ नभएको उनको भनाइ थियो। कैलालीको निर्वाचन क्षेत्र नम्बर २, लम्कीचुहा नगरपालिकामा प्रतिनिधि चयनमा चरम स्वेच्छाचारी कार्य भएको उनको भनाइ छ।

'त्यहाँको वस्तुतथ्यबारे पार्टी अध्यक्ष र संगठन विभाग प्रमुखलाई लिखित र मौखिकरुपमा जानकारी गराउँदै विधिसम्मत् प्रतिनिधि चयनको काम हुन आग्रह गरिएको थियो। बिडम्बना, प्रतिनिधि चयनको कुनै विधिवत् प्रक्रिया बिना धनगढीबाट कथित प्रतिनिधिको नाम घोषणा गरिएको छ,' उनको असन्तुष्टि थियो। 

यसविरुद्ध १२०० पार्टी सदस्यहरुले हस्ताक्षर गरी पार्टीमा उजुरी गरेको समेत उनले जानकारी दिएका थिए। निर्धारित प्रणाली अनुसार विधिवत् प्रतिनिधिको चयन नभएको, सहमति नगरी एकतर्फी रूपमा प्रतिनिधि छानिएको, निर्वाचन नै नगरी बलजफ्ती प्रतिनिधिको नाम घोषणा गरिएको समेत उनको आरोप थियो। पार्टी निर्णय र विधिपद्धति विपरीतका कार्यलाई बदर गर्न उनले माग गरेका थिए। उनको माग मागमै सीमित भयो। 

के भन्छन् रावल?

आफूले निर्वाचन परिणामलाई सहज रूपमा लिएको रावलले बताएका छन्। निर्वाचन प्रक्रिया र त्यसमा प्राप्त भएको मतलाई आफूले उठाएका विषयको सन्देश प्रवाह गर्न सफल भएको भन्दै उनले सन्तोष व्यक्त गरेका छन्। 'निर्वाचनलाई एकदमै सहजै रूपमा लिन्छु। मैले जे कुरा उठाएको थिएँ। त्यसमा म एकदमै सन्तुष्ट छु,' मतदान चलिरहँदा उनले भनेका थिए। 

जनताको बहुदलीय जनवाद र विधान महाधिवेशनका मर्म कार्यान्वयमा भने महाधिवेशन विफल भएको उनले प्रतिक्रिया दिए। 'समग्रमा यो महाधिवेशनले जबज र विधान महाधिवेशनका विषयलाई सम्बोधन गरेन। व्यवस्थापन पनि सहज भएन। यद्यपि महाधिवेशन सकिएको छ। यसका विविध विषयमा काठमाडौं गएपछि गर्नेछु,' निर्वाचितहरूको शपथग्रहण कार्यक्रम सकिएपछि बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूसँग भनेका छन्। 

रावलले आफूलाई प्राप्त भएको मतलाई महत्त्वपूर्ण रूपमा लिएको बताए। 'भर्खरै महाधिवेशन सकियो। कमिटीमा नै नरहेपछि पार्टीमा कसरी विषयमा सोचौँला,' उनले कुराकानी टुंग्याए। 

ओली रणनीति विफल, फाइदा पनि

रावललाई पक्कै पनि थाहा थियो, ओलीसँग प्रतिस्पर्धा गर्दा यो पटक जितका लागि पर्याप्त मत आउँदैन। तैपनि उनी भनिरहन्थे- विधानसम्मत तरिकाले महाधिवेशन हुनुपर्छ, निर्धारित समयमा महाधिवेशनका काम अघि बढ्नुपर्छ। 

मंसिर ५ गते रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि उनले दिएका कैयौँ पटकका अन्तर्वार्तामा सामना गरेको एउटा प्रश्न हो- 'ओलीका अघि तपाईंको मत कति आउला?' प्रश्नका शब्द फरक परेपनि ती प्रश्नको समान आशय यस्तै हुन्थ्यो। पृष्ठभूमि जोडेर उत्तर दिने गर्थे। उनले आफू हार्न तयार भएको तर लोकतान्त्रिक पद्धति र अभ्यासलाई अवमूल्यन गर्न नसकिने बताउँथे। 

ओलीको उम्मेदवार सूचीमा नपरेका उपाध्यक्षका आकांक्षी घनश्याम भुसालले सहमतिका नाममा आफूहरूलाई हार्न पनि नदिने काम भइरहेको गुनासो गरेका थिए। तर अन्तमा उनले भनेजस्तै हार्न दिइयो। हारे।

केपी ओलीले कसैलाई हार्न पनि नदिने रणनीति भने अन्त्यमा विफल भएको छ। रावल र भुसालहरुको अडानका कारण ओली अन्ततः निर्वाचनमा जान बाध्य भयो। ओलीले चाहे अनुसारकै परिणाम आएपनि सर्वसम्मत अध्यक्ष चुनिएको दाबी गर्न आधार अब ओलीलाई उपलब्ध हुने छैन। यसलाई भीम रावलहरूले  अंकगणितीय हार भएपनि आफूहरूको नैतिक जित भएको मान्न सक्छन्। 

महाधिवेशनमा ओलीले भनेजस्तै गरी अध्यक्षमा निर्वाचित नभएपनि यसको फाइदा ओलीलाई नै बढी छ। सर्वसम्मतिको प्रयासमा उम्मेदवारको सूची प्रकाशन गरिसकेका थिए। 'टीका' लगाएको भन्ने आरोपबाट ओलीले आफूलाई मात्र होइन, निर्वाचितहरूलाई बचाएका छन्। यसबाट समग्र एमालेलाई हेर्ने दृष्टिकोण नै फरक बन्ने नै छ। 

प्रकाशित: Nov 30, 2021| 19:25 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...