काठमाडौं- केन्द्रीय तथ्यांक विभागले नेपालको जनसंख्याको तथ्यांक दैनिक अद्यावधिक गर्दै आएको छ। वेबसाइटमार्फत सार्वजनिक गरिएको तथ्यांक अनुसार मंगलबार साँझसम्म नेपालको जनसंख्या तीन करोड पाँच लाख ४२ हजार ५०१ रहेको छ। तथ्यांक विभागका निर्देशक तिर्थराज चौलागाईं जन्म, मृत्यु र बसाईसराईको विवरण विभागको प्रणालीमा प्रविष्ट गरिएपछि सो तथ्यांक बन्ने गरेको बताउँछन्। ‘हामीसँग एउटा सिस्मट छ। दैनिक हुने जन्ममृत्यु तथा बसाईसराईलाई मिलाएरै हामी अपडेट गर्छौं,’ चौलागाईं भन्छन्।
पछिल्लो समय विभागले गत ९ मंसिरमा १२औं जनगणना २०७८ सम्पन्न गरेको छ। सम्पन्न जनगणनापछि गरिएको पत्रकार सम्मेलनमा विभागले नेपालको जनसंख्या २ करोड ८० लाख देखि ३ करोडको बीचमा हुनसक्ने अनुमान रहेको बताएको थियो। तीन करोड भन्दा तल जनसंख्या हुनु भनेको अहिले रहेको जनसंख्याभन्दा जनसंख्या घट्नु हो। विभागका जनगणना निर्देशक ढुण्डीराज लामिछाने अहिले तीन करोड जनसंख्या भनिए पनि यसमा कमी आउनसक्ने अनुमान रहेको बताउँछन्।
पछिल्लो समय सानो परिवारमा बस्न रुचाउने भएका कारण घरपरिवार संख्या अघिल्लो जनगणना २०६८ को तुलनामा बढेको छ। जनगणना २०६८ मा नेपालमा घरपरिवारको संख्या ५४ लाख २७ हजार रहेकोमा पछिल्लो समय घरपरिवार संख्या ६८ लाख नाघेको लामिछानेको भनाई छ। ‘सानो परिवारमा बस्न रुचाउन थाले भनेपछि घरपरिवार संख्या बढ्नु स्वभाविक हो,’ लामिछाने भन्छन्, ‘पहिला औसतमा एउटा परिवारमा ५ जना बस्थ्ये भने अहिले ४ जना बस्न थालेका छन्। पहिला एक जना महिलाले ३ जना बच्चा जन्माउथे भने अहिले २ मा झरेको छ। त्यसकारण हामीले भन्दै आएको के हो भने नेपालको जनसंख्या तीन करोड भन्दा घट्न सक्छ। यद्यपि अन्तिम नतिजा आएपछि मात्रै यकिन भन्न सकिन्छ।’
सूचना अधिकारी समेत रहेका अर्का निर्देशक चौलागाईं पछिल्लो समय मानिसले पहिलोको तुलनामा कम बच्चा जन्माउन थालेका कारण विभागले अनुमान गरेको अनुसार जनसंख्या नपुग्ने बताउँछन्। ‘२०६८ सालमा भएको ११औं जनगणना अनुसार अहिलेको जनगणनामा नेपालको जनसंख्या तीन करोड नाघ्छ नै भन्ने अनुमान थियो,’ चौलागाईं भन्छन्, ‘अहिले मान्छेहरुले बच्चा जन्माउन अलि छाडेका छन्। कम जन्माउन थालेका छन्। जन्म कम हुनेभएपछि अहिलेको जनगणनामा जनसंख्या घट्ने अनुमान गरिएको हो। अवस्था हेर्दा नेपालको जनसंख्या ३ करोड पनि नपुग्ने देखिएको छ।’
यसअघि २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो। सो जनगणना अनुसार नेपालको जनसंख्या वृद्धिदर वार्षिक १.३५ प्रतिशत रहेको थियो। पछिल्लो समय सम्पन्न जनगणना अनुसार नेपालको जनसंख्या वृद्धिदर पनि खस्किने विभागका अधिकारीहरुको भनाई छ।
तथ्यांक अधिकृत दिनानाथ लम्साल नेपालको सहरी क्षेत्रको जनसंख्या वृद्धिदर रिप्लेसमेन्ट लेबलभन्दा तल देखिएको बताउँछन्। ‘कोर अर्बन एरियामाचाँही बिलो रिप्लेसमेन्ट लेबल पुगेको छ,’ उनी भन्छन्।
विभागका अनुसार बुढाबुढीलाई रिप्लेस गर्न एउटा दम्पत्तिले कम्तीमा दुईवटा बच्चा जन्माउनै पर्छ। मुलुकभरि नै हुने मृत्यु दरलाई समेत समेट्नका लागि औसत एउटा दम्पत्तिले २.१ बच्चा जन्मायो भने त्यसलाई रिप्लेसमेन्ट लेबल भनिने विभागका अधिकारीहरु बताउँछन्।
मुलुकबाट बाहिरिनेको संख्या, जन्मदर र मृत्युदर सबै हेर्दा पछिल्लो जनगणनाले वार्षिक जनसंख्या वृद्धिदरमा कमी आउन सक्ने विभागका अधिकारीहरु बताउँछन्।
विगतका जनगणनामा जनसंख्या वृद्धिदर कस्तो?
नेपालले पहिलो जनगणना वि.सं. १९६८ मा गरेको थियो। सो वर्ष नेपालको जनसंख्या ५६ लाख ३८ हजार ७४९ जना रहेको थियो। त्यसयताका प्रत्येक १०-१० वर्षमा हुँदै आएको जनगणना अनुसार वि.सं. २०५८ सालमा दशौं जनगणना भएको थियो। सो जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ३१ लाख ५१ हजार ४२३ थियो। सो वर्ष नेपालको वार्षिक जनसंख्या वृद्धिदर २.२५ प्रतिशत थियो। जनगणना अवधि २०४८ सालदेखि २०५८ सम्मको जनसंख्या वृद्धिदर २५.२० प्रतिशत रहेको थियो।
त्यसपछि वि.सं. २०६८ सालमा गरिएको ११औं जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो। जनगणना अवधिको वृद्धिदर १४.४४ प्रतिशत रहेको सो जनगणनामा वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेको थियो। यस वर्ष गत जेठ २५ देखि हुने भनिएको जजगणना कोरोना महामारीको जोखिमको कारण कात्तिक २५ देखि सुरु भइ ९ मंसिरमा सम्पन्न भएको छ। सो जनगणनाको प्रारम्भिक नतिजा फागुनभित्र सार्वजनिक गर्ने तथ्यांक विभागको भनाई छ। जनगणना सम्पन्न गरेर तथ्यांक प्रशोधनको काम थालेको विभागले प्रारम्भिक अध्ययनहरुले जनसंख्या वृद्धिदर घट्ने अनुमान गरेको छ।