पोखरा–बागलुङ सडकखण्डमा मंगलबार बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा आठ यात्रु घाइते भएका छन्।भैरहवाबाट बागलुङतर्फ गुडिरहेको लु१ख ७७६६ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुर घुम्तीस्थित पोखरा–बागलुङ सडकखण्डमा सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो।
दुर्घटनामा पाल्पा घर भएका चालक ४५ वर्षीय भूपनाथ खनालको मृत्यु भएको छ। उनको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। घाइते यात्रुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।