आइतबार, वैशाख ७, २०८२

अफ्रिकामा ओमिक्रोनको आतंक, के छ नेपालको पूर्वतयारी?

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ।
 |  आइतबार, मंसिर १२, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

आइतबार, मंसिर १२, २०७८

vianetvianet

काठमाडौं– दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा जानकारी पाएपछि विश्व स्वास्थ्य संगठन यसको अनुसन्धानमा लागेको छ। ओमिक्रोन तीव्र रुपमा फैलिरहेको विज्ञहरुले बताइरहेका छन्। यो भाइरस धेरै संख्यामा पत्ता लागेको आशंका गरिएको छ। यद्यपि यो भेरियन्ट पहिले भन्दा बढी घातक छ या कम घातक छ भन्ने कुरा अनुसन्धानकै विषय बनेको छ। 

triton college

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ। यतिबेला अमेरिका, बेलायत, जर्मनी, क्यानडा, युरोपियन मुलुक लगायत छिमेकी देश भारतले पनि उच्च सतर्कता अपनाउन सुरु गरेका छन्। इजरायलले त एक कदम अगाडि बढ्दै १४ दिनका लागि विदेशीको प्रवेशमा प्रतिबन्ध लगाएको छ। इजरायलको कोरोना भाइरस क्याबिनेटले शनिबारको आपतकालिन बैठकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नयाँ भेरियन्टबारे सचेत रहन चेतावनी दिएको छ। नयाँ भेरियन्ट चिन्ताको विषय बनेको छ तर वैज्ञानिक दृष्टिकोण राखेर मात्रै यात्रामा प्रतिबन्ध लगाउन संगठनले अनुरोध गरेको छ। 

अस्ट्रेलियामा पनि ओमिक्रोन भेरियन्ट देखिएको छ। दक्षिण अफ्रिकाबाट सिड्नी पुगेका दुई यात्रुमा भाइरस देखिएको हो। उनीहरु दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै शनिवार सिड्नी विमानस्थलमा उत्रिएका थिए।

परीक्षणपछि उनीहरुमा कोभिड पोजेटिभ देखिएको थियो। संक्रमित दुबै जनाले पूर्ण खोप लगाएका थिए। सोही उडानमा दक्षिण अफ्रिकाबाटै गएका अन्य १२ यात्रुको पनि परीक्षण गरिएको थियो। तर, उनीहरुको रिपोर्ट नेगेटिभ भएको थियो। 

National life insurance
नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपाल भित्रने जोखिम रहेको जनाएको छ। जनस्वास्थ्यका मापदण्ड पालना नभएसम्म नयाँ भेरियन्ट नेपाल भित्रने जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन्। भन्छन्, ‘नयाँ भेरियन्टको जोखिममा नेपाल पनि छ। जनस्वास्थ्यका मापदण्डमा चुक्यौं भने खतरा हुन्छ। नयाँ भेरियन्टको जोखिन रोक्न तयारी थालेका छौं। हुन त दक्षिण अफ्रिकाबाट नेपालमा सिधै उडान छैन तर पनि ट्रान्जिट हुँदै आउने मानिसहरुबाट जोखिम छ।’

प्रभावित देशबाट आएका मानिसलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने र त्यसको लागि पहिले नै जारी भएको आदेश कार्यान्वयनमा ल्याउन सकिने उनले बताए। कोरोनाको जोखिम नटरिसकेको अवस्थामा संक्रमण रोकथामका लागि पूर्वाधारहरु तयारी अवस्थामा रहेको डा. पौडेलले बताए। यस विषयमा आज (आइतबार) नै सीसीएमसीसीले केही नर्णय लिने बताइएको छ। 

नेपालमा जोखिमको अवस्था 

ओमिक्रोन फैलिएपछि कतिपय देशले दक्षिण अफ्रिका जाने वा आउने क्रमलाई सीमित बनाएका छन्। वैज्ञानिकहरूले यो भेरियन्ट कत्तिको संक्रामक छ भन्ने कुराको अनुसन्धान गरिरहेकाले नयाँ भेरियन्टको संक्रमणदर केही हप्तामा पत्ता लाग्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ। 

नेपालमा नयाँ भेरियन्ट भित्रन सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. शेरबहादुर पुनका अनुसार अहिले लगाइरहेको कोरोनाविरुद्धको खोपले  नयाँ भेरियन्टलाई काम गर्छ भन्न सकिँदैन। ‘यो खोपले काम गर्न नसक्ने खालको भेरियन्ट रहेछ भने फेरि हामीले अर्को क्षति बेहोर्नुपर्ने हुन सक्छ। भारतमा नयाँ भेरियन्ट पुष्टि भए नेपालमा खतराको घण्टी बज्न सक्छ। त्यसैले हामीले क्वारेन्टिनलाई व्यवस्थित गर्दै होल्डिङ सेन्टरहरु तयारी अवस्थामा राख्नुपर्छ,’ पुनको सुझाव छ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ। 

ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा खतरनाक हुन सक्ने भन्दै वैज्ञानिहरुले सचेत रहन आग्रह समेत गरेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ भेरियन्टको जोखिम रोकथामका लागि पूर्वतयारी थालिसकिएको छ। अफ्रिकाबाट आएका मानिसलाई क्वारेन्टिन अनिवार्य राख्ने, परीक्षण गर्ने लगायत विषयमा निर्णय भइसकेको छ। 

गत वैशाख ६ मा नयाँ भेरियन्टसहितको गत बैशाखमा कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको आदेशलाई पालना गरिने प्रवक्ता पौडेलले बताए। उक्त आदेशअनुसार प्रवेश बिन्दुका हेल्थ डेस्कमा एन्टिजेन वा पीसीआर परीक्षण गर्दा नतिजा पोजेटिभ आएका सीमित व्यक्तिलाई अस्पताल वा आइसोलेसन केन्द्र वा होल्डिङ सेन्टरमा सुरक्षित रूपमा पठाउन स्थानीय तहसँग सहकार्य गर्ने र संक्रमणको शंका नभएका अन्य व्यक्तिलाई स्वास्थ्य मापदण्ड पालना गराई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी गन्तव्यमा पठाई कम्तीमा दश दिन क्वारेन्टिनमा अनिवार्य राख्न लगाउने लगायत उल्लेख छ।

सोही आदेशलाई कार्यान्वयनमा ल्याउने र आजको बैठकबाट थप निर्णयहरु गर्न सकिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता पौडेल बताउँछन्। बाहिरबाट आउने मानिसको निगरानी तथा परीक्षण गर्ने काम भइरहेको र रेन्डमली जिन सिक्वेन्सिङ गरिने मन्त्रालयले जनाएको छ। 

यसकारण हामीले चिन्ता गर्नुपर्छ

शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ

sher bahadur punअफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्टलाई भेरियन्ट अफ कन्सर्न अन्तर्गत राखेको छ विश्व स्वास्थ्य संगठनले। यसमा हामीले चिन्ता गर्नुको कारण चाहिँ अत्यधिक मात्रामा म्युटेसन हुनु हो। त्यसमा पनि स्पाइक जिीमा पविर्तन अत्यधिक मात्रामा छ। 

दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एण्ड इनोभेसनले पनि ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढीमा स्पाइक प्रोटिन भएको बताएको छ। भाइरसको तहमा हुने काँडाजस्तो देखिने स्पाइक प्रोटिन भनिने अवयवलाई धेरै खोपले निसाना बनाएका हुन्छन्। स्पाइक प्रोटिन मानिसको कोषमा टाँसिने र भित्र छिर्न सघाउने अवयव हो। इनोभेसनका निर्देशक–प्राध्यापकले पनि यसअघि फैलिएका अन्य भेरिअन्टभन्दा यो धेरै भिन्न र उत्परिवर्तनको अस्वाभाविक समूह देखिएको बताएका छन्।   

विश्वमा हालसम्म कोरोना भाइरसका जति पनि भेरियन्टहरु भेटिएका छन्, तर कोरोना भाइरसलाई मानव कोषमा छिर्न सघाउने स्पाइक प्रोटिनमा परिवर्तन भएका भेरियन्टहरु चिन्ताको विषय बनेका छन्। धेरै खोपले स्पाइक प्रोटिन भनिने शरीरको कोषमा टाँसिने भाइरसलाई निसाना बनाएका हुन्छन्, त्यहाँबाट भाइरसले शरीरका कोषमा छिर्ने मार्ग बनाउँछ।   

खोपमा वैज्ञानिकहरूले भाइरसको आनुवंशिक संरचनाको एउटा अंश निकाल्छन् र प्रक्रिया पुर्याएर शरीरका कोषमा छिर्न सक्ने बनाउँछन्। त्यसलाई सुइमार्फत दिइन्छ र त्यस खोपले शरीरमा कोरोना भाइरसको स्पाइक प्रोटिन बनाउन निर्देशन दिन्छ। उक्त प्रोटिन शरीरमा बनेपछि कोरोना भाइरससँग लड्न प्रतिरोधात्मक क्षमता विकसित हुन्छ। स्पाइक प्रोटीनले सीमित कोषलाई नष्ट सहयोग गरिदिन्छ। धेरै उत्परिवर्तनहरू खराब नै हुँदैनन्। तर उत्परिवर्तनले के गरिरहेका छन् भन्ने थाहा पाउनु महत्त्वपूर्ण हो। यो नयाँ भेरियन्टले धेरै क्षति पुर्याउने हो कि भन्ने शंका उब्जिएको पनि छ। 

हाल दक्षिण अफ्रिकामा केही प्रान्तमा तीव्र गतिमा फैलिएको छ भनिएको छ। त्यहाँ किन फैलिएको छ भनेर सरसर्ती हेर्दा त्यहाँ भ्याक्सिनको कभरेज धेरै रहेनछ। त्यसैले पनि त्यहाँ तीव्र गतिमा कोरोना फैलिएको अनुमान गरिएको छ। दक्षिण अफ्रिकामा जम्मा ३५ प्रतिशतले मात्रै खोप लगाउन पाएको तथ्यांक छ। 

त्यहाँ युवाहरु धेरै अस्पतालमा भर्ना भएको भनिएको छ तर त्यहाँ के बुझ्नुपर्छ भने अस्पतालमा भर्ना भएकाहरु भ्याक्सिन लगाएका थिए वा थिएनन्, कति मात्रा खोप लगाएका थिए भन्ने कुरा हाम्रो लागि बुझ्नु जरुरी हुन्छ। नेपालमा त खोप लगाउने काम जारी छ। खोप लगाएको ठाउँमा कम संक्रमण भएको छ भने त्यति चिन्ता लिनु पर्दैन। होइन भने खोपलाई पनि छल्ने सम्भावना छ भने चिन्ताको विषय हो। 

यो कारणलाई हामी बिर्सनु हुँदैन। तर हाम्रो चिन्ता कहाँ रह्यो भन्दा अत्यधिक मात्रामा भाइरस उत्परिवर्तन हुनु र स्पाइक जीनमा पनि धेरै परिवर्तनको स्वरुप देखिएको हुनाले चिन्ताको विषय बनेको छ। 

धेरै म्युटेसन भएको हुनाले हाम्रो शरीरमा सहज भित्रिन सक्ने क्षमता विकास गर्यो कि भन्ने शंका हो।  त्यस्तै हाम्रो अधिकांश खोपहरु स्पाइक जीनप्रति लक्षित छ। तर स्पाइक जीनमा नै स्वरुप परिवर्तन भयो भने खोपले तयार गरेको एन्टिबडीलाई नै छल्न सक्ने क्षमता त छैन भन्ने प्रश्न छ जसको उत्तर हामीसँग छैन। हामीसँग सैद्धान्तिक त्यो सम्भावना बढेको छ। त्यसैले चिन्ता व्यक्त गरिएको हो। 

विदेशी वैज्ञानिकहरुले हालसम्म यो तीव्र गतिमा फैलने मात्रै भनेका छन्, यद्यपि यो कति घातक छ र खोपलाई कति छल्न सक्छ भन्ने पत्ता लागिसकेको छैन। यो दुवै चिज हाम्रो लािग महत्वपूर्ण हुन्छ। यी दुवै कुराको उत्तर नआइसकेकाले हामी अनुमान मात्र गर्न सक्छौं। तर धेरै भ्याक्सिन लगाएको देशमा फैलिँदा वा अन्य देशहरुमा न्यू भेरियन्टको हर्कत कस्तो हुन्छ भन्ने कुरा त्यहाँ फैलिएपछि नै थाहा हुने भएकाले हामी सचेत हुनु भने जरुरी छ।  हामी धेरै कुराहरुमा प्रतीक्षामा नै छौं, अबको केही हप्तामा हामीले अवस्था थाहा पाउनेछौं। 

प्रकाशित: Nov 28, 2021| 15:34 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्