चितवन- चितवनमा आगलागीमा परी एकै घरका दुई बालबालिकाको ज्यान गएको छ। राप्ती नगरपालिका–१ मा पर्ने पहाडी गाउँ परेवाकोट मइनटारमा जितबहादुर तमाङको घरमा आगलागी हुँदा उनका नातिनातिहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा तीन वर्षका बालबालिकाहरू सुरज रुम्बा र मनिषा तामाङ रहेका छन्। शनिबार बिहान १० बजेतिर जितबहादुरको जस्ताले छाएको र काठले बारेको घरमा आगलागी हुँदा उनीहरूको ज्यान गएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरी अधिकारीले बताएका छन्।
बिजुली नपुगेको उक्त गाउँमा गाउँमा सोलारबाट बत्ती बाल्ने गरेको र उनीहरूले घरमा राखेको सोलारको ब्याट्री खेलाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ।