बिहीबार, चैत १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नौ ब्रुमरले खाए वर्षमै करोडको डिजेल, सडकमा धुलो उस्ताको उस्तै

नौ ब्रुमरले खाए वर्षमै करोडको डिजेल, सडकमा धुलो उस्ताको उस्तै

काठमाडौं महानगरसँग भएको नौ वटा ब्रुमर कुनै प्राविधिक कारणले त कुनै जनशक्ति अभावका कारण पूर्ण क्षमतामा सञ्चालन भएका छैनन्। नौ वटा ब्रुमरले बढार्दा पनि किन घटेन त काठमाडौंको धुलो?
 |  आइतबार, मंसिर १२, २०७८
nespernesper

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

आइतबार, मंसिर १२, २०७८

vianetvianet

काठमाडौं- काठमाडौंलाई धुलोरहित बनाउन काठमाडौं महानगरपालिकाले तीन वर्षअघि पाँच वटा ब्रुमर खरिद गरेको थियो। १० करोड ८० लाख रुपैयाँमा २०७५ फागुन २८ गते इटालीबाट झिकाइएका ब्रुमर २०७५ चैत १३ गतेबाट सञ्चालनमा आए। त्यस्तै, २०७६ असार ३ गते चीनको छिङदु नगरपालिकाले दुई वटा ब्रुमर महानगरलाई उपहार दियो।

triton college

२०७६ सालमा साढे ४ करोडमा दुई वटा ब्रुमर थपिए। ब्रुमर खरिदमा जम्मा १४ करोडभन्दा बढी खर्च भएको छ भने त्यसको सञ्चालनका लागि १९ कर्मचारी तीन वर्षदेखि खटिएका छन्।

काठमाडौं महानगरसँग भएको नौ वटा ब्रुमर कुनै प्राविधिक कारणले त कुनै जनशक्ति अभावका कारण पूर्ण क्षमतामा सञ्चालन भएका छैनन्। नौ वटा ब्रुमरले बढार्दा पनि किन घटेन त काठमाडौंको धुलो? विज्ञका अनुसार शहर धुलाम्मे हुनुका दुई कारण छन्। पहिलो ब्रुमर सञ्चालनमा देखिएको गडबडी र दोस्रो ब्रुमरको गलत प्रयोग।

‘ब्रुमरले धुलो नियन्त्रणमा उल्लेखनीय काम गर्दैन,’ वातावरण विज्ञ डा. नवराज खतिवडा भन्छन्, ‘ब्रुमर लेभल मिलेको चिल्ला सडकमा हुने हल्का धुलो सफा गर्न उपयोगी हुन्छन् न कि काठमाडौंको जस्तो अस्व्यस्त सडकमा।’

हाल महानगरले मुख्य सडकमा ब्रुमर चलाए पनि काम प्रभावकारी हुन सकेको छैन। ‘हाम्रा सडकहरुमा खाल्डाखुल्डी धेरै छन्। सडक भत्किएका छन्। जहाँबाट धुलो निस्किहाल्छ,’ उनले भने।

धुलो सफा गरेर काठमाडौंलाई चिटिक्क पार्न किनिएको ब्रुमर एक वर्षमा ६ महिना मात्र चल्ने गरेको छ। महानगर स्रोतका अनुसार भएका नौ ब्रुमरमध्ये हरेक महिना एउटा न एउटा ब्रुमर बिग्रिएकै हुन्छ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष डा खतिवडाका अनुसार ब्रुमरमा भन्दा महानगरको ध्यान सडकको स्तरोन्नतीमा जानुपर्छ। ‘पहिला त धुलोको स्रोतलाई व्यवस्थापन गर्नु पर्यो नि,’ उनले भने, ‘धुलोभन्दा पनि दुर्घटनाको जोखिम बढाउने सडकका खाल्डाखुल्डी उस्तै छन्। त्यस्तो अवस्थामा धुलोमुक्त पार्न ब्रुमर ल्याउनुको के अर्थ?’

काम देखाउन किनिएको ब्रुमरले कामभन्दा बढी खर्च मात्र बढाएको उनको तर्क छ।

आफैं बिरामी छ ब्रुमर

धुलो सफा गरेर काठमाडौंलाई चिटिक्क पार्न किनिएको ब्रुमर एक वर्षमा ६ महिना मात्र चल्ने गरेको छ। महानगर स्रोतका अनुसार भएका नौ ब्रुमरमध्ये हरेक महिना एउटा न एउटा ब्रुमर बिग्रिएकै हुन्छ।

‘हाल दुईवटा बु्रमर बिग्रिएको छ,’ महानगरपालिकाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘यो हामीले बनाउन सक्दैनौं। मर्मतका लागि खरिद गर्दा नै चिनियाँ कम्पनीसँग सम्झौता भएको छ। उतैबाट प्राविधिक आउनुपर्छ। त्यसैले गर्दा पनि बिग्रिएको ब्रुमर बनाउन समय लाग्ने गरेको छ।’


ब्रुमरले बढारेको धुलोको मापन नभए पनि यसले खाने डिजेलको मात्रा भने चर्को देखिन्छ। महानगरले हालसम्म ब्रुमरको डिजेलको लागि करिब तीन करोड रुपैयाँ खर्च गरेको छ भने यसलाई चलाउने १९ कर्मचारीको तलबमा हालसम्म ७० लाखभन्दा धेरै खर्च भएको छ। 

आयोजनाका कामले ब्रुमरको काम देखिएन

काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ बु्रमरले नियमित ५ टन धुलो संकलन गर्ने बताउँछन्। उनका अनुसार हरेक दिन बिहान ५ बजेदेखि ११ बजेसम्म बु्रमरले काठमाडौंका सडक बढार्छ।

‘वर्षातमा पानी परेका बेला बु्रमरको काम हुँदैन,’ श्रेष्ठ भन्छन्, ‘त्यस्तै काठमाडौंमा सञ्चालित मेलम्ची खानेपानी आयोजना र नेपाल विद्युत प्राधिकरणले तारलाई भूमिगत गर्ने कार्यले गर्दा काममा बाधा परेको छ।’

उनले बताए अनुसार ब्रुमर किनेको सुरुका केही महिना मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउन सडक खनेकाले धुलो नियन्त्रण गर्न नसकिएको अवस्था थियो भने पछिल्लो समय विद्युत प्राधिकरणले विद्युतीय तार भूमिगत गर्न खाल्डो खन्दा धुलो नियन्त्रण गर्न गाह्रो भइरहेको छ।

आफ्नो काम सक्नेबित्तिकै सडक खन्ने निकायहरुले सडक नपुर्दा पनि ब्रुमरको काम प्रभावकारी हुन नसकेको महानगरका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन्। ‘कहिले कसले त कहिले कसले सडक खनिरहेकै हुन्छन्। अनि आफ्नो काम सकिएपछि पनि सडक नबनाइदिँदा अपेक्षाअनुसार काम हुन सकेको छैन।’

प्रकाशित: Nov 28, 2021| 06:34 आइतबार, मंसिर १२, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।