कोपनहेगन - दक्षिण अफ्रिकाबाट कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' देखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यो विगतका कोरोना भेरियन्टभन्दा खतरानाक भएको भन्दै चिन्ता व्यक्त गरेको छ।
यस भेरियन्टबाट जोगिनका लागि विभिन्न मुलुकहरुले दक्षिण अफ्रिकासहित विभिन्न मुलुकहरुबाट आउने यात्रुहरुमाथि प्रतिबन्ध लगाएका छन्। दक्षिण अफ्रिकासहित बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इस्वातिनी, मोजाम्बिक तथा मलावीबा हुने हवाई तथा स्थल यात्रामाथि अमेरिका, क्यानडा, बेलायत, युरोपेलि संघ, जापान, इरान, साउदी अरब, संयुक्त अरब इमिरेट्स र बहराइनले प्रतिबन्ध लगाएका हुन्।
नयाँ खतराप्रति सचेतता अपनाउन आग्रह गर्दै दक्षिण अफ्रिका, बोत्सवाना र हङहङबाट आउने यात्रुहरुमाथि कडारुपमा जाँच गर्न निर्देशन दिएको छ। डब्लूएचओले यस भेरियन्टबाट जोगिनका लागि समयमै यात्रा प्रतिबन्ध लगाउन र विभिन्न सावधानीहरु अपनाउन आग्रह गरेको छ।
तर, दक्षिण अफ्रिकीका स्वास्थ्यमन्त्रीले भने आफ्नो मुलुकमाथि लगाइएको हवाई प्रतिबन्ध अनुचित भएको बताएका छन्। डब्लूएचओका अनुसार २४ नोभेम्बरमा पहिलो पटक दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट देखा परेको हो। पछिल्लो समय बोत्सवाना, बेल्जियम, हङहङ र इजरायलमा पनि यस भेरियन्टका संक्रमितहरु फेला परेका छन्।