काठमाडौं- तिब्बती निर्वासित धार्मिक नेता दलाई लामाको जन्मोत्सवका अवसरमा काठमाडौं उपत्यकामा रहेका शरणार्थीले गतिविधि गर्ने शंकाका कारण प्रहरीले उच्च सुरक्षा सतर्कता बढाएको छ।
महानगरीय प्रहरी कार्यालय स्रोतका अनुसार तिब्बती शरणार्थीका शिविर रहेका बौद्ध, जावलाखेल, स्वयम्भुलगायत इलाकामा बढी सतर्कता अपनाइएको हो । विगतमा दरबारमार्ग क्षेत्रमा शरणार्थीहरूले चर्को आन्दोलन गरेका थिए। सोही कारण दरबारमार्ग, हात्तीसार र चिनियाँ दूतावास रहेको बालुवाटार क्षेत्रमा पनि प्रहरीको तैनाथी बढाइएको छ।
काठमाडौं उपत्यकामा जावलाखेल र बौद्धस्थित शिविरमा दलाई लामाको जन्मोत्सवमा पूजापाठ गर्ने गरिएको छ।
पोखरास्थित शरणार्थी नेता सोनाम साङ्पोका अनुसार सबै शिविरभित्र पूजापाठ गरेर जन्मोत्सव मनाइएको छ। नयाँ झण्डाहरू गाडेर दलाई लामाको चिरायुको कामना गरिएको साङ्पोले जानकारी दिए। झण्डा गाडेपछि हावामा लहराउँछ तथा त्यसबाट शान्ति र चिरायुको मंगल कामना पूरा हुने तिब्बती बौद्ध धर्मावलम्बीहरूको विश्वास छ।
पोखराको छोरेपाटनस्थित शिविरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेका थिए, तिब्बती शरणार्थीहरूले। ‘सबै शिविरमा त्यसरी नै पूजा गरिएको छ,’ शरणार्थी नेता साङ्पोले नेपाल समयसँग भने।
उनका अनुसार अहिले नेपालमा राजनीतिक गतिविधि गर्ने शरणार्थीहरूको कुनै रणनीति छैन । त्यसका बावजुद बिहानैदेखि शिविरमा प्रहरी तैनाथ हुँदा नमज्जा लागेको साङ्पोले बताए।
‘अहिलेसम्म शरणार्थीका बाह्य गतिविधि देखिएको छैन,’ प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षत्रीले भने, ‘गतिविधि हुने सम्भावित क्षेत्रमा सतर्कता बढाइएको छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४