संस्कृतमा एउटा भनाइ छ– विद्या कालेन पच्यते, अर्थात् जानेको विद्या आत्मसात् गर्नलाई पनि समयको लामोछोटो यात्रा तय गर्नुपर्दछ। बास्वतमा यो जगत्मा जान्नुपर्ने आधारभूत कुरा त प्राथमिक तहको विद्यार्थी हुँदा नै थाहा हुन्छ। तर ‘त्यो के भनिएको हो?’ भन्ने बुझ्न भने व्यवहारिक संसारको हण्डर खानुपर्छ। अनुभवले खारिन्छ भन्ने त उखानै छ।
बेन होरोविट् पनि यस्ता व्यक्ति हुन् जो सिलिकन भ्यालीको हण्डर र गोता खाएर खारिए। अहिले उनी पश्चिमा विश्वमा ‘तातोरोटी’ अर्थात् ‘हटकेक’ भएका छन्, आफ्नो अनुभवजन्य व्यवस्थापकीय पुस्तक लेखकका रूपमा। उनको ‘द हार्ड थिङ्स एवाट हार्ड थिङ्स’ व्यवस्थापनका विद्यार्थीहरूलाई अनिवार्य सरह मानिन थालेको छ। कम्पनी कसरी स्थापना गर्ने, चलाउने, र प्रतिस्पर्धी बनाउने भन्ने गुत्थी उनले आफ्नो यस पुस्तकमा फुकाएका छन्।
व्यवसाय सुरु गर्दाका कठिनाइ र त्यसलाई सामना गरिएको घटनाहरूको सारगर्भित वर्णन सरह छ उनको पुस्तक। जागिरेको रूपमा काम थालेदेखि आफ्ना विभिन्न व्यवसाय सञ्चालनका क्रममा आएका समस्यासँग संघर्ष गर्दै सफल व्यवसायी भएका किस्साहरूले भरिपूर्ण छ उनको पुस्तक।
उनले सुरुमा नेटल्याब्समा काम गरे। त्यहाँबाट लोटस कम्पनीमा गए। लोटसमा काम गर्दागर्दै इन्टरनेटको महत्त्व बुझेर नेटस्केपमा आवेदन दिए। त्यहाँ उनलाई २२ वर्षीय मार्क एन्डर्सनले अन्तरवार्ता लिए, जो कम्प्युटरका ज्ञाता थिए। नेटस्केपलाई अमेरिकन अनलाइनले किनेपछि बेन होरोविट् र मार्क एन्डर्सनले आफ्नै कम्पनी लाउड क्लाउडको स्थापना गरे। होरोविट् सिइओको भूमिकामा रहे।
तर, सन् १९९९ मा आइपुग्दा धेरै कम्पनी डुबे। कम्पनी चलाउन गाह्रो भएपछि होरोविट् र एन्डर्सनको लाउड क्लाउड आइपिओमा गयो। र, अन्त्यमा बिक्री नै भयो। हाल होरोविट्स र एन्डर्सन ‘भेन्चर क्यापिटल’ फर्मका संस्थापकका रूपमा कार्यरत छन्।
किताबको मन्त्र छ– दीर्घकालीन सफलताको कुनै सूत्र छैन। कुनै पनि व्यवसाय सञ्चालन गर्न कठिन छ। सञ्चालनपछि टिकाउन र टिकाएपछि सफल बनाउन झनै कठिन छ।
१९८४ मा जुनबेला कम्प्युटरको किबोर्ड देखेर टाइपराइटर सोच्थे, डेक्सटप देखेर टिभि र क्यालकुलेटरको प्रतिस्थापनमा हिसाब गर्ने यन्त्र भनेर सोच्थे त्यो बेलादेखि बेवसर्भर बनाउने, क्लाउडमा जाने र सफ्टवेयर बनाउनेसम्मको कार्य गरेको अनुभव छ, होरोविट्सको। कम्प्युटर र इन्टरनेटको क्रमिक विकाससँगै व्यवसायको संघर्षका परिघटना वर्णित छन्, किताबमा।
किताबको मन्त्र छ– दीर्घकालीन सफलताको कुनै सूत्र छैन। कुनै पनि व्यवसाय सञ्चालन गर्न कठिन छ। सञ्चालनपछि टिकाउन र टिकाएपछि सफल बनाउन झनै कठिन छ। जहाँ भावनाहरू तर्कसँग बाझिन्छन् त्यहाँ सूत्रले काम गर्दैन। जटिल र गतिशील परिस्थितिलाई चिर्न कुनै एउटा सरल मार्गनिर्देशक सिद्धान्त हुँदैन।
सबैभन्दा गाह्रो हो, आफ्नो समूहलाई समस्याबाट मुक्त बनाउने काम। अप्ठ्यारो परिस्थितिमा टोलीलाई उत्प्रेरित गर्ने कुनै सूत्र पनि हुँदैन। यसलाई हल गर्न आफैंले उपाय खोज्नुपर्छ।
के हो कठिनाइ
पुस्तकमा होरोविट्सले कठिनाइ बारे पनि राम्ररी व्याख्या गरेका छन्। कठिनाइ भनेका कम्पनीको उत्पादन वा सेवा प्रवाहमा आएको समस्या हो। जसलाई ठिक गर्न सजिलो छैन।
आफ्ना कर्मचारीले गुमाउने आत्मविश्वास पनि कठिनाइ हो। त्यस्तै, पुराना र अनुभवी कर्मचारीले त्याग्नु र नगदको कमी हुनु अर्को कठिनाइ हो। आफ्ना ग्राहक गुमिसकेको र जताततै समस्याका पर्खाल खडा भएका अवस्था पनि कम्पनीको लागि कठिनाइ हो।
व्यक्तिगत रूपमा भने आफूले गरेको गल्तीको कारण थाहा नपाउनु कठिनाइ हो। र, यी सबै कठिनाइलाई चिर्नको लागि तपाईंसँग बाँकी रहने एउटै मात्र अस्त्र हो, संघर्ष।
संघर्ष भनेको त्यो समय हो जुनबेला तपाईंका कुरामा कर्मचारीहरूले विश्वास गर्दैनन् र तपाईंलाई भने आफ्नै कुरा ठिक लाग्छ। अर्को रोचक अभिव्यक्तिमा होरोविट्सले संघर्षलाई कसरी अथ्र्याएका छन् भने तपाईं आफ्नो कम्पनीको सिइओ भएकोमा पश्चताप गर्नु पनि संघर्षको एक पाटो हो। यसलाई होरोविट्सले भन्दा राम्रोसँग कसले पो बुझ्न सक्ला र ? जसले आफ्नै कम्पनीलाई कठिन चुनौतीहरूबाट पार लगाउने सफलता पाए।
उनी भन्छन्, संघर्ष भनेको आफ्नो काँधमा भएको जिम्मेवारीलाई सहज अवतरण गर्न नसक्नु पनि हो। मानिसहरूले घेरिँदा पनि आफू एक्लो हुनु पनि संघर्ष हो, जहाँ कुनै दया र सहानुभूति पाउन सम्भव छैन।
होरोविट्सको विचारमा सफल सिइओ हुने कुनै गोप्य रहस्य छैन। विपरीत अवस्थामा पनि आफ्नो काममा ध्यान केन्द्रित गर्नसक्ने क्षमता र राम्रो चाल चल्नसक्ने क्षमता भएमा सफलता पाइन्छ। प्रायः चल्नका लागि एक चाल मात्र बाँकी रहँदा त्यसलाई सुझबुझ पुर्याएर सही तरिकाले चल्नु नै एउटा जिम्मेवार सिइओको काम हो।
सफलताको रहस्य
होरोविट्सको विचारमा सफल सिइओ हुने कुनै गोप्य रहस्य छैन। विपरीत अवस्थामा पनि आफ्नो काममा ध्यान केन्द्रित गर्नसक्ने क्षमता र राम्रो चाल चल्नसक्ने क्षमता भएमा सफलता पाइन्छ। प्रायः चल्नका लागि एक चाल मात्र बाँकी रहँदा त्यसलाई सुझबुझ पुर्याएर सही तरिकाले चल्नु नै एउटा जिम्मेवार सिइओको काम हो।
त्यस्तै, स्थितिको सही मूल्याङ्कन गर्नसक्ने क्षमता पनि मान्छेमा हुनुपर्दछ। परिस्थिति अनुरूपको परिणतिको सामना गर्नैपर्छ र स्थिति जे छ, त्यसैलाई त्यसरी नै स्वीकार गर्नु पर्दछ।
जब कम्पनीको प्रदर्शनी खराब हुन थाल्छ। चिजहरू गलत हुन थाल्छ, कसैले वास्ता गर्दैन। मिडिया, लगानीकर्ता, बोर्डका सदस्यहरू, कर्मचारी मात्र होइन परिवारका सदस्यसम्मले बेवास्ता गर्छन्। तर प्रतिकूल परिस्थिति आए पनि तपाईंले समाधानको बाटो खोज्नु नै एक मात्र उपाय हो।
अर्जुनदृष्टि र लगन
पुस्तकको निष्कर्षको रूपमा होरोविट्सले नेतृत्वको गुणलाई औंल्याएका छन्। उनका अनुसार नेतृत्वको मुख्य तीन गुण हुन्छन्, लक्ष्य प्रस्ट रूपमा देख्ने र त्यसलाई अभिव्यक्त गर्न सक्ने क्षमता, र उचित महत्वकांक्षासहित त्यसलाई हासिल गर्ने उत्साह भएको। नेतृत्व भनेको नतिजा हो, जुन कार्य सम्पादनबाट मात्रै प्राप्त हुन्छ।
होरोविट्सले विपरीत परिस्थितिका कठिन समयमा गनुपर्ने संघर्षलाई अनुभवका आधारमा लेखेर हामीसबैलाई त्यसबाट पार पाउने एउटा आधार दिएका छन्।