काठमाडौं– नेपालको जनसंख्या तीन करोड हाराहारी रहेको तथ्यांक विभागले जनाएको छ। विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको हाराहारीसम्म पुग्ने अनुमान गरिएको बताए। विभागले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले भने, ‘सबैको लेखाजोखा गर्दा तीन करोडको हाराहारीको जनसंख्या हो। त्यसको लगभग आसपासमा हामी पुगौंला नभए २ करोड ८० लाख सम्म पुग्छ कि भन्ने प्रारम्भिक अनुमान छ।’
उनले राष्ट्रिय जनगणना २०७८ कुनै पनि प्रकारको अवरोध बिना सम्पन्न भएको जानकारी दिए।
कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना गरिएको थियो। उनले राष्ट्रिय जनगणनाका सम्बन्धमा केही आशंका उब्जिए पनि विभागले सम्बन्धित पक्षहरुसँग छलफल गरी जनगणना कार्यलाई अगाडि बढाएको बताए।
जिल्ला जनगणना कार्यालयबाट मंसिर मसान्तसम्ममा विवरण केन्द्रमा आउने भन्दै उहाँले केन्द्रीय तथ्यांक विभागले विवरण इन्ट्री गर्न ६ देखि ८ महिना लाग्ने जानकारी दिए। एक वर्षपछि जनगणनाको रिपोर्ट निकाल्न सुरु गर्ने र दुई वर्षभित्रमा सम्पूर्ण जनगणनाको सम्पूर्ण क्रियाकलाप सम्पन्न गर्ने उनको भनाइ छ। उनले भने, ‘जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनाभित्र आउनेछ।’
महानिर्देशक श्रेष्ठले केही गणकहरुले जनगणनाको समयमा पेन्सिलको प्रयोग गलत नियतले नगरी सुपरीवेक्षकलाई राम्रो अक्षर देखाउनका लागि गरिएको स्पष्ट पारे। दुर्गम र पुग्न कठिन ठाउँहरुमा पनि गणकहरुले जनगणना गरेको उनको भनाइ छ। श्रेष्ठले भने, ‘साथीहरु मान्छे हिँड्ने बाटो नै होइन, जंगल नै जंगलको बाटोमा तीन दिन लगाएर रुखका हाँगा समातेर दार्चुलाको तिङ्कर र छारुङमा पनि पुग्नुभयो।’
उनले त्यहाँ पुगेका गणकलाई हेलिकप्टरबाट सदरमुकाम खलंगा ल्याएको जानकारी दिए। केन्द्रीय तथ्यांक विभागले देशभरका सम्पूर्ण भूभागमा जनगणना सम्पन्न गरिसकेको जनाएको छ। श्रेष्ठले भने, ‘केही विवादित क्षेत्रहरुमा भने कूटनीतिक पहल गरी छिट्टै गणना सम्पन्न गरिनेछ।’