काठमाडौं– नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनको थप स्वास्थ्योपचारका लागि थाइल्याण्डबाट आज चीन लगिएको छ।
माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहेका दुर्गा चापागाईंका अनुसार उनलाई थर्ड पिपल्स हस्पिटल अफ सेनजेन लगिएको हो। डेढ महिनादेखि उनको थाइल्याण्डस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको थियो। जटिल प्रकारको जण्डिसबाट पीडित नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि चिकित्सकको सुझावका आधारमा चीनको सेनजेन पठाइएको हो।
नेता पुनसँगै उनका पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला पनि बैंककबाट चीनको सेनजेन गएका छन्। जण्डिसले पिरोलेपछि नेता पुनलाई गत असोज १३ गते बैंकको समितिभेज अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा सुधार नभएपछि चिकित्सकको सल्लाहमा चीनको सेनजेन लगिएको नेता चापागाईले बताए।
नेता पुनको थप उपचारका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक पहल गरेको बताइएको छ।
–रासस