काठमाडौं- पब्लिकेसन्स नेपालयले सरला गौतमको निबन्धहरूको संकलन 'पिँजडाको मान्छे' सार्वजनिक गरेको छ। यो पुस्तक यसवर्ष नेपालयले प्रकाशित गरेको दोस्रो प्राइमरी ई-बुक हो। नेपालयले यसभन्दा पहिले सुजीव शाक्यको 'अर्थात् परिवर्तन' लाई प्राइमरी ई-बुकको रूपमा प्रकाशित गरेको थियो।
संकलित निबन्धहरूले आधुनिक मनुष्यको एकाकीपना, प्रविधि, पितृसत्ता र पर्यावरणका मुद्दाहरूमा गहन दृष्टि राखेका छन्। पुस्तक निर्माणको मनोवैज्ञानिक विचरण बारे प्रस्ट्याउँदै लेखक गौतम भन्छिन्, 'महामारीले संसारलाई दुई वटा फरक धारमा विभाजन गरिदियो- कोभिडभन्दा पहिलो र कोभिडभन्दा पछिल्लो धार। महामारी पछिको संसार आफ्नै समस्याको भारी बोकेर आएको छ; साथै यसले नसुल्झेका पुराना मुद्दाहरूलाई अझै चर्काएको पनि छ।'
यो अन्तरालमा पितृसत्ता, पर्यावरण, कृषि, समानताका मुद्दाहरूलाई नियाल्ने नयाँ आयाम खुलेको उनले बताएकी छन्। विराटतम स्वतन्त्रताको खोजीमा सहर पसेको मान्छे कस्ता अदृश्य पिँजराहरूको जन्जालमा फस्दैगएको र त्यही प्रक्रियाहरूको चिन्तनको उपज यो पुस्तक रहेको उनको तर्क छ।
संकलित निबन्धहरूमा सुपरिचित गद्य-शैली झल्किएको छ। जसले गौतमलाई नेपाली पत्रपत्रिकामा उल्लेखनीय स्तम्भकारको रूपमा स्थापित गराउन मद्दत गरेको छ। समाचारपत्रमा पूर्व-प्रकाशित उनको निजत्व झल्कने केही लामा लेखहरूले पनि पुस्तकमा स्थान पाएका छन्।
'हामी गद्यका उल्लेखनीय कृतिहरूलाई सहज बनाउनका निम्ति थप पहुँच-योग्य डिजिटल फर्म्याटमा काम गरिरहेका छौं,' पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी अधिकृत सैजन मास्केले जानकारी गराइन्। 'पिँजडाको मान्छे' यो शृङ्खलाको पहिलो कृति हो। आगामी दिनहरूमा ई-बुक खण्डका निम्ति गद्य कृतिहरूको दायरालाई अझै फराकिलो पार्ने उनले बताएकी छन्।
'पिँजडाको मान्छे' नेपाली बजारका निम्ति थुप्रै डट कमले १०० मा उपलब्ध गराउने छ।