काठमाडौं- एघार महिना वैदेशीक लगानी प्रतिवद्धता ५७ अर्ब २९ करोड रुपैयाँ आएको छ । विभिन्न क्षेत्रका ३३९ आयोजना सञ्चालनको लागि उक्त रकम बराबरको वैदेशीक लगानी प्रतिबद्धता आएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको तथ्याङ्कअनुसार गएको एघार महिना (साउन–जेठ) को अवधिमा ३३९ विभिन्न आयोजनाका लागि केही स्वदेशीसहित कुल ५७ अर्ब २९ करोड रुपैयाँ वैदेशीक लागनी प्रतिवद्धता आएको छ। जसमा वैदेशीक लगानी मात्रै ५२ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। एघार महिनामा सबैभन्दा धेरै ३६ अर्ब २५ करोड रुपैयाँ उर्जा क्षेत्रमा वैदेशीक लगानी प्रतिबद्धता आएको छ।
दोस्रोमा उत्पादनमुलक क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता ६ अर्ब ५४ करोड रुपैयाँ आएको छ। त्यसपछि पर्यटन क्षेत्रमा ३ अर्ब ४३ करोड, खनिजमा २ अर्ब, सेवा क्षेत्रमा १ अर्ब ९५ करोड, कृषि तथा वन पैदावारमा १ अर्ब ९२ करोड र सूचना प्रविधि क्षेत्रमा ३१ करोड रुपैयाँ वैदेशीक लगानीको प्रतिबद्धता आएको विभागको तथ्याङकमा देखिन्छ।
प्रतिबद्धता २७८ प्रतिशत बढ्यो
गत आर्थिक वर्ष २०७३-७४ को ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशीक लगानी प्रतिबद्धता २७८ प्रतिशत बढेको छ। गत वर्ष १३ अर्ब ८५ करोड रुपैयाँ वैदेशीक लगानी प्रतिबद्धता आएकोमा चालू आर्थिक वर्षको सोही अबधिमा बढेर ५२ अर्ब ४२ करोड रुपैयाँ आएको हो।
गत वर्ष ऊर्जा क्षेत्रमा कुनै पनि लगानी प्रतिबद्धता आउन नसकेकोमा यस वर्ष सबैभन्दा बढी सोही क्षेत्रमा भित्रिएको भित्रिएको विभागको तथ्याङमा देखिएको छ।
यद्यपि गतको वर्ष निर्माण क्षेत्रमा एक करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएकोमा यस वर्ष भने आउन सकेन ।
१२ हजार ३ सयलाई रोजगार मिल्ने
एघार महिनामा आएको लगानी प्रतिबद्धताबाट १२ हजार ३०१ जनालाई रोजगार मिल्ने भएको छ। विभागको अनुसार गत आर्थिक वर्ष २०७३÷७४ को सोही अवधिमा आएको वैदेशिक लगानी प्रतिबद्धताबाट मात्र १० हजार ४६६ जनाले रोजगारी पाएका थिए।
उद्योग विभागको प्रवक्ता दुर्गा भुसालले पछिल्लो समय स्थिर सरकार आउनु, लोडसेडीङको अन्त्य हुनु, लगानीमैत्री वातावरण बन्दै जानुलगायत कारणले वैदेशीक लगानी प्रतिबद्धता बढेको बताए। ‘अझै विभिन्न मुलुकहरुबाट नेपालमा लगानी गर्न चासो दिइरहेका छन्,’ उनले भने ‘विगतमा विभिन्न चरणमा भएको लगानी सम्मेलनको प्रभावको कारणले पनि अहिले मुलुकमा लागानी भित्रिने क्रम बढेको हो।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४