झापा- भद्रपुरबाट लागूऔषध ब्राउनसुगरसहित सात पक्राउ परेका छन्।
भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीबार बेलुका भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर–६ सङ्गमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड–८ सैनिकटोलका १८ वर्षीय सुदीप श्रेष्ठ, बिर्तामोड–६ कसेनिटोलका ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा–१ का २८ वर्षीय राज श्रेष्ठलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
वडा प्रहरी कार्यालयको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्ने क्रममा चार ग्राम ६१० मिलीग्राम ब्राउनसुगर, एक थान नाइट्रोजन ट्याबलेट, एक थान डिजिटल तराजु बरामद गरेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट मे८प ९७०१ र को३८प ९०२८ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।