स्वीडेन - स्वीडेनका विधायकहरूले आगामी सोमबार ‘सोसल डेमोक्रेटिक पार्टी’का नेता म्याग्डालेना एन्डर्सनलाई नै प्रधानमन्त्री बनाउने कि नबनाउने भन्ने निर्णय लिन संसद्मा मतदान गरिने भएको छ। यो एक हप्ता पनि नबित्दै उनलाई प्रधानमन्त्री चुन्नका लागि हुने दोस्रो मतदान भएको संसदका प्रवक्ताले बिहीबार बताए।
संसद्ले बुधबार देशकै पहिलो महिला प्रधानमन्त्रीको रूपमा एन्डर्सनलाई निर्वाचित गरेको थियो। तर, गठबन्धन सरकारका सहभागीले उनलाई साथ नदिने भएपछि प्रधानमन्त्री निर्वाचित भएको केही घण्टापछि उनले राजीनामा दिएकी थिइन्।
५४ वर्षीया एन्डर्सनले सोसल डेमोक्रेटबाट मात्र बनेको अल्पसंख्यक सरकार गठन गर्ने सम्भावना देखिएको छ। उनलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षी गठबन्धनको बहुमत सदस्यले उनीविरूद्ध मतदान गर्नुपर्ने प्राबधान स्वीडेनको कानूनमा रहेको छ।