काठमाडौं-नेपाली कांग्रेसका सांसद जितेन्द्रप्रसाद देवले केपी ओली नेतृत्वको वर्तमान सरकारले वितगको सरकारले गरेका काम उल्ट्याउन गरेको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस र कम्युनिस्ट विना कुनै पनि काम सम्भव नभएको स्मरण गराए । 'यो सरकारले विगतको सरकारले गरेका वैधानिक निर्णयहरुलाई खारेज गर्ने निर्णय गर्यो त्यसले टकराव निम्त्याउँछ । यसले अहिलेसम्म प्राप्त उपलब्धी माथि नै चुनौती थपिन्छ,' सांसद देवले भने, 'हरेक परिर्वनहरु कांग्रेस र कम्युनिस्ट मिलेर मात्र सम्भव भएको छ । उदाहरणका लागि तपाईंहरु ०४६ र ०६२/६३ को आन्दोलनलाई लिन सकनुहुनेछ ।'
यो उपलब्धी प्राप्त गर्न कांग्रेसको सहयोग बिना सम्भव नरहेको भन्दै सांसद देवले भने, 'कांग्रेस कै नेता गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियाको नेतृत्व नलिएको भए । अर्का नेता सुशील कोइरालाले चुनौतीका बाबजुत संविधान जारी गर्ने निर्णय नगरेको भए । यो अवसर आउँथ्यो र ? तपाईहरु यो कुर्सीमा बस्न पाउने अवस्था आउने थिएन ।'
देउवा नेतृत्वको सरकार पनि निर्वाचित सरकार रहेको भन्दै सांसद देवले देउवा सरकारले गरेको कुनै पनि नियुक्ति कानुन विपरीत नरहेको बताए । उनले भने, 'अब त्यतिबेलाका वैधानिक निर्णय उल्टाएर वर्तमान सरकारले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग भिडन्त निम्त्याउने काम गरिरहेको छ । यसले प्रतिक्रान्तिको जन्म हुन्छ ।
विगतमा पनि कम्युनिस्ट र कांग्रेस विभाजन हुँदा लोकतन्त्रमाथि आएको खतरा कसैले पनि बिर्सनु हुँदैन ।' उनले अहिलेको सरकारले गरेका सबै निर्णय फिर्ता लिएर विगतको सरकारले गरेका जहायज कामलाई साथ दिनुपर्ने बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४