कैलाली- धनगढीका हरिराम चौधरीको व्हाट्सएपमा म्यासेज आयो, 'बधाई छ, तपाईंलाई २५ लाख रुपैयाँ लट्री परेको छ ।' चिठ्ठा परेको कुराले उनलाई खुशी बनाउनु स्वाभाविकै थियो । म्यासेज पठाउने व्यक्तिसँग उनको संवाद शुरु भयो ।
ती व्यक्तिले हिन्दीमा कुरा गर्थे । चौधरी सम्पर्कमा आएपछि ती व्यक्तिले उनलाई अर्को म्यासेज पठाए, 'तपाईंले जितेको २५ लाख पाउन हामीले भनेको मान्छेलाई आईएमई गरेर निश्चित रकम अग्रिम बुझाउनुपर्छ ।' व्हाट्सएपमै चौधरीलाई नागरिकताको फोटोकपी मागियो । २५ लाख पाउने आशामा उनले जे जे भनियो त्यही गरे ।
म्यासेजमा भनिएअनुसार उनले २९ चैत ०७४ मा चितवनमा अभिषेक गौतमको नाममा ५५ हजार चार सय रुपैयाँ आईएमई गरेर पठाए । त्यसपछि 'यतिले मात्र हुँदैन तपार्इंले थप पैसा पठाउनुपर्छ' लेखिएको अर्को म्यासेज आयो । तिनै अभिषेकको नाममा पुनः ७५ हजार चार सय रुपैयाँ चितवनमै पठाए ।
दुई पटक गरी एक लाख ३० हजार आठ सय रुपैयाँ पठाइसकेका चौधरीलाई थप रकम पठाउन भन्दै अर्को म्यासेज आयो । तेस्रो पटकको म्यासेजमा पैसा पठाउन भनिएको व्यक्तिको नाम र ठेगाना पहिलेको भन्दा फरक थियो । यस पटक नवलपरासीका प्रकाश अधिकारीको नाममा रकम पठाउन भनिएको थियो । उनले प्रकाशको नाममा २ वैशाखमा ५० हजार तीन सय रुपैयाँ पठाए ।
तीन पटक गरी एक लाख ८१ हजार एक सय रुपैयाँ नचिनेका मानिसहरूका नाममा खुरुखुरु पठाएका चौधरीलाई थप रकम माग्ने क्रम भने रोकिएन । चौथो पटकको म्यासेजमा उनलाई एक लाख २५ हजार रुपैयाँ पठाउन भनियो । त्यसपछि मात्र उनलाई कतै फसेको शंका लाग्यो ।
उनले अब थप रकम नपठाउने बताउँदै आफूले पठाएको सबै रकम फिर्ता मागे । तर, उनीसँग रकम माग्न छोडिएन । 'तिमीले पठाएको रकम फिर्ता लाने भए थप ४५ हजार रुपैयाँ पठाऊ' भनेर म्यासेज आयो । चौधरीले 'अब म पैसा पठाउँदिनँ' भनेपछि त्यो आईडी नै बन्द भयो । त्यसपछि मात्र उनले आफू ठगिएको थाहा पाए र जिल्ला प्रहरीमा उजुरी दिए ।
'रकम पठाइएको भनिएकाहरूबारे बुझ्दा उनीहरू पनि त्यस्तै ठगीमा परेको भेटिए,' कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले भने, 'रकम माग गर्ने विदेशी प¥यो यता रकम पाउने भनिएकाहरू आफैं ठगीमा परेका रहेछन् ।'
एसपी घिमिरेका अनुसार भारतमा बसेर नेपालीहरूलाई नै प्रयोग गरी चिठ्ठा परेको म्यासेज पठाएर रकम ठगी हुने गरेको छ । त्यसरी पठाइएको पैसा फिर्ता आउने सम्भावना नरहेको उनले बताए ।
कसरी हुन्छ यस्तो ठगी
व्हाट्सएपमा जोडिएका साथीहरूलाई चिठ्ठा परेको म्यासेज आउँछ । जसले बुझेको हुन्छ, उसले कुनै वास्ता गर्दैन । नबुझेकाहरू खुशी हुन्छन् र ठगिन्छन् । जसले म्यासेजको प्रतिक्रिया जनाउँछ, उसलाई ठग्न सकिन्छ भन्ने ठानेर शुरुमा उसको नागरिकता मागिन्छ ।
त्यसपछि लट्रीको प्रक्रिया पूरा गर्न पैसा पठाऊ भन्ने म्यासेज आउँछ । जसले पैसा पठाउँछ, ऊ पक्कै ठगिन्छ । प्रहरीका अनुसार एकबाट मागेको नागरिकताका आधारमा अर्को व्यक्तिलाई पैसा पठाउन भनिन्छ । जसको नाममा आईएमईमार्फत् पैसा पठाएको हो, त्यही व्यक्तिको नागरिकताको फोटोकपी लगेर अर्कै मान्छेले पैसा बुझ्छ ।
यस्ता घटना विशेषगरी भारतीय सीमावर्ती जिल्लामा बढी हुने गरेको छ । यस्तो ठगी धन्दा भारतबाट हुने गरेको प्रहरीको बुझाइ छ ।
कैलालीमा मात्र चालु आर्थिक वर्षमा ६ जना लट्री परेको २५ लाख रुपैयाँ पाउने लालचमा ठगिएका छन् । जिल्ला प्रहरीको मुद्दा शाखाका अनुसार कोही २५ हजार, कोही ३५ हजार त कोही ४५ हजार रुपैयाँसम्म ठगीमा परेको उजुरी आएका छन् ।
सूचना प्रविधिको विकाससँगै त्यसको प्रयोगका कारण अपराध र ठगीको प्रकृतिसमेत बदलिएको छ । 'जसले गर्दा प्रहरीलाई अपराध अनुसन्धान गर्न चुनौती थपिएको छ,' एसपी घिमिरेले भने । फेसबुक, व्हाट्सएपजस्ता सामाजिक सञ्जालहरूको प्रयोगबाट हुने ठगीका घटना दिनप्रतिदिन बढिरहेको उनले बताए । चालु आर्थिक वर्षमा फेसबुकबाट रकम ठगीका मात्र १८ वटा उजुरी प्रहरीमा परेका छन् ।