विराटनगर- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारका छोरा सुभाष गच्छदार मोरङ क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मोरङको क्षेत्र नम्बर ६ मा मंगलबार दिउँसो निर्वाचन सुरु भएको थियो। सर्वसम्मतिको प्रयास गरिए पनि सहमति नजुटेपछि ४ बजे चुनावी प्रक्रियाबाट क्षेत्रीय पदाधिकारी र महाधिवेशन प्रतिनिधि छान्न चुनाव सुरु भएको थियो। कांग्रेसमा सभापतिका आकांक्षी शेखर कोइरालाको पकड मानिएको यो क्षेत्रमा संस्थापन पक्ष कमजोर छ।
मतदानस्थल तोक्ने विषयमा संस्थापन र संस्थापन इतर पक्षबीच विवाद भएपछि मनोनयन समेत मंगलबार सारिएको थियो। मधेशी महिला कोटाबाट पुनम सिंह पनि निर्विरोध भएकी छन्। डा. कोइरालालाई नेता गच्छदारले सुभाषलाई निर्विरोध निर्वाचित गराई दिन आग्रह गरेको बताइएको छ।
क्षेत्र नम्बर ६ बाट २५ जना महाधिवेशन प्रतिनिधि र क्षेत्रीय पदाधिकारी चयन हुने छन्। मोरङको क्षेत्र १ र ५ मा सर्वसम्मत क्षेत्रीय सभापति निर्वाचित भएका छन्। क्षेत्र नम्बर १ बाट शंकर राई र ५ बाट जिवछ गच्छदार निर्विरोध भएका हुन। राई संस्थापन इतर समूहका हुन भने गच्छदार संस्थापन समूहका हुन। बाँकी ४ वटा क्षेत्रमा मंगलबार मतदान भएको हो।