काठमाडौं– १० रुपैयाँमा पनि लुगा पाइन्छ! झट्ट सुन्दा तपाईंलाई के भनेको होला भन्ने लाग्न सक्छ। तर, यो सत्य हो १० रुपैयाँमा पनि कपडा पाइन्छ। त्यो पनि राजधानीमा। काठमाडौंको सामाखुसीस्थित टाउनप्लानिङमा रहेको सुखवती स्टोर, जहाँ तपाईंले छानीछानी १० रुपैयाँमा सर्ट–प्यान्ट किन्न पाउनुहुन्छ।
सर्ट, टिसर्ट, भेस्टलगायतका बच्चादेखि पाका उमेरसम्मका व्यक्तिलाई हुने कपडा पाइन्छ। सुखावती स्टोरका सञ्चालक चिजमान गुरुङका अनुसार १० रुपैयाँदेखि ६०० रुपैयाँसम्मका कपडा यहाँ बिक्री हुने गरेको छ। ‘कपडाको गुणस्तर हेरेर मूल्य निर्धारण गर्ने गरेका छौं। केहीको मूल्य १० रुपैयाँ छ भने केहीको मूल्य २०, ५०, ३०, १००, २५०, ५०० र ६०० सम्म छ’, उनले भने।
१० रुपैयाँमा बिस्कुटसमेत आउन छाडेका बेला यति सस्तोमा कपडा बेच्न कसरी सम्भव भयो? सुखावती स्टोरका सञ्चालक गुरुङ भन्छन्, ‘यहाँ होलसेलबाट वा कपडा उद्योगबाट किनेर लुगा बेचिँदैन। यहाँ सर्वसाधारणले दिएका लुगा संकलन गरेर, त्यसलाई रिमेक गरेर बेचिन्छ।’ उनको भनाइमा यहाँ नयाँ लुगा होइन नयाँजस्तै लुगा बेच्ने गरिन्छ। अर्थात् सेकेन्ड ह्यान्ड कपडा बेचिन्छ।
‘हुनेखानेसँग काम लाग्ने पुराना कपडा संकलन गर्ने र हुँदा खानेलाई सस्तो बेच्चे माध्यम हौं हामी। हामीले विगत ७ वर्षदेखि यही गरिरहेका छौं। जसबाट हजारौँ व्यक्ति लाभान्वित भएका छन्।’
‘पुरानो भएको, सानो भएको वा धेरै भएको लुगा सर्वसाधारणबाट संकलन गर्छौ, त्यसलाई धुन्छाैं बटम, चेन नभएको भए हाल्छौं र सस्तो दरमा बेच्ने गर्छौं’, उनले भने। उनका अनुसार यो स्टोर अत्यन्त न्यून आय भएका व्यक्तिलाई केन्द्रित गरेर खोलिएको हो। ‘हुनेखानेसँग काम लाग्ने पुराना कपडा संकलन गर्ने र हुँदा खानेलाई सस्तो बेच्चे माध्यम हौं हामी। हामीले विगत ७ वर्षदेखि यही गरिरहेका छौं। जसबाट हजारौँ व्यक्ति लाभान्वित भएका छन्’, सञ्चालक गुरुङले सुनाए।
त्यसो त यहाँ निम्न आय भएका व्यक्ति मात्रै होइन, मध्यम वर्गका व्यक्ति पनि आउने गरेका छन्। ‘पछिल्लो समय जागिरेहरु र विद्यार्थी बढी मात्रा आउने गरेका छन्। मजदुर वर्ग त पहिलेदेखि नै आउँथे, पछिल्लो समय अझै बढेका छन्’, उनले भने, ‘सहरी गरिबीलाई सबैले बेवास्ता गरिरहेका छन्। हामीले तिनै गरिब वर्गलाई लक्षित गरेर यो योजना सुरु गरेका हौं।’
कसरी जन्मियो १० रुपैयाँमा लुगा बेच्ने योजना?
कास्की पोखराका ४८ वर्षीय चिजमान गुरुङ रोजगारीको सिलसिलामा सन् १९९३ मा कोरिया पुगे। उनले गार्मेन्ट कारखानामा काम गर्न सुरु गरे। गार्मेन्टबाट हुने आम्दानीले मात्रै पुगेन, होटलमा समेत काम गर्न थाले। सन् २००२ मा स्वदेश फर्किए। करिब ५ वर्ष देशमै रमाएका उनी फेरि सन् २००७ मा कोरिया हान्निए।
यसपटक उनले एउटा स्टोरमा काम गर्ने मौका पाए। जहाँ पुराना लुगा, जुत्ता, ब्याग, भाँडा लगायत थुप्रैसेकेन्ड ह्यान्ड सामानलाई रिमेकिङ गरेर निम्न आय भएकाहरुलाई सस्तोमा बेचिन्थ्यो। त्यहाँ काम गर्दागर्दै उनको मनमा आफूले पनि यस्तो गर्न पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो। ‘विकसित देशमा त पुराना कपडा बेचेर आवश्यक पर्नेलाई सहयोग गरिन्छ भने नेपालमा किन सकिँदैन भन्ने लाग्यो। अनि यो काम थाल्ने योजना बनाएँ’, उनले भने।
सन् २०१२ मा नेपाल फर्किएका उनले आफ्नो आइडिया साथीभाइलाई सुनाए। धेरै साथीहरुसँग सल्लाह लिए। उनी भन्छन्, ‘सुरुमा त कन्भिन्स गराउँनै सकस भयो। तर, जतिलाई कन्भिन्स गराएँ ती सबैले गज्जब आइडिया भनेर हौसला दिए।’ सन् २०१४ मा सामाखुसीस्थित टाउन प्लानिङमा खोले सुखावती स्टोर।
सुरुमा पैसा थिएन। पैसा नभएका कारण उनलाई काम गर्ने आँट आएको थिएन। वैदेशिक रोजगार व्यवसायी पदमराज पौडेलले उनको योजना मन परेछ। ५० हजार रुपैयाँ सहयोग दिए। अनि यो काम गर्ने हिम्मत बढेको सुनाउँछन् उनी।
सडकबाट सुरु भएको थियो सुखावती
चिजमान गुरुङले सुखावतीलाई स्टोरका रुपमा विकसित गरेर काम सुरु गर्नुअघि सडकमै राखेर सेकेन्ड ह्यान्ड सामान बेचेका रहेछन्। सडकमै दिनमा ५ देखि ७ हजारसम्मको कारोबार हुन थालेपछि सटरमा राखेर सामान बेच्न थालेको उनले सुनाए। ‘पहिलो पटक मासिक ७ हजार रुपैयाँ सटर भाडामा लिएर बेच्न थालें। त्यसपछि १० हजारको लिएँ। १८ हजारको सटर लिएँ। व्यापार राम्रो हुँदै गएपछि अहिले ३५ हजारको सटर लिएर व्यापार गरिरहेको छु’, उनले भने।
सुरुसुरुमा बसुन्धराका मान्छेले नै पुराना कपडा ल्याएर दिन थाले। उनी कसैका घरै पुगेर ल्याउँथे त कसैले त्यहीँ ल्याइदिन्थे। कपडा धेरै आउन थालेपछि भने बाटोमा राख्न समस्या भयो। म्हैपीमा एउटा सटर खोजेर त्यहीँ राख्न थाले। सटरमा पसल राखेपछि झन् धेरै कपडा आउन थाल्यो। अहिले मध्यम वर्गका व्यक्तिले आफूलाई साँघुरो भएका लुगाकपडा धेरै मात्रामा दिने गरेका छन्। लुगा फेरिफेरी लगाउने उच्च वर्गकहाँ आफूहरु पुग्न नसकेको उनी सुनाउँछन्।
‘सरकारले खाली जग्गा भाडा सरकारी हुने थियो। हामीजस्ता व्यक्तिलाई पनि सहज हुने थियो। तर, जग्गा खाली राखिन्छ, हामीलाई दिइँदैन।’
सुखावतीले विभिन्न छ ठाउँमा ‘ड्रप–बक्स’ राखिदिएको छ। चिजमानका अनुसार भैंसेपाटी, नख्खिपोट, हात्तीवन हाउजिङ, नारायणथान, नेपालटार र वनस्थलीका साथीमार्टका अगाडि ड्रप बक्स राखिएको छ। सहयोग गर्न चाहने तर समय नभएकाहरूलाई दृष्टिगत गरेर गरेर ड्रप–बक्स राखिएको उनले बताए।
सुखवती स्टोरले अहिले लुगा मात्रै बेच्दैन, भाँडाकुँडा, गमला, सीडी, किताबसमेत बेच्ने गरेको छ। ‘सेवा गरौं र खुसी बाँडौं’ भन्ने उद्देश्यले सुखावती स्टोर सञ्चालनमा ल्याएको हुँ। यो विशुद्ध व्यापारिक कम्पनी होइन। सामाजिक व्यवसाय हो। समाजकल्याण परिषद्मा दर्ता छ। यसले महिला उद्यमशीलता निमार्णको काम पनि गर्दै आएको छ’, गुरुङले भने।
उनका अनुसार स्टोरबाट दैनिक ५/१० हजारको व्यापार हुन्छ। खर्च र कर्मचारीलाई यहीँको नाफाले दिन पुगेको छ। अचेल उनलाई लत्ताकपडा संकलन गर्न समस्या छैन। विभिन्न मेला र चाडपर्वका बेला बाहिर गएर समेत उनले बेच्ने गरेका छन्। उनी सुखावतीको थप शाखा विस्तार गर्ने योजनामा छन्।
नेपालमा केही गर्छु भन्यो भने सरकारले सहयोग नगर्ने उनको गुनासो छ। वडासँग भाडा तिर्छु, खाली ठाउँको जग्गा उपलब्ध गराउनुस् भन्दा नदिएको उनले सुनाए। उनी भन्छन्, ‘सरकारले खाली जग्गा भाडा सरकारी हुने थियो। हामीजस्ता व्यक्तिलाई पनि सहज हुने थियो। तर, जग्गा खाली राखिन्छ, हामीलाई दिइँदैन।’