शनिबार, जेठ ५, २०८१

संस्थापन इतरको कलहमा खेल्दै देउवा, शशांक फकाउने रणनीति

संस्थापन इतर पक्षमा देखिएको खटपटलाई 'क्यास' गर्ने प्रयत्नमा देउवा पक्ष छ।
 |  मंगलबार, मंसिर ७, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं- १४औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसका शीर्ष नेताहरू समीकरणहरू बनाउने, तुलनात्मक अध्ययन गर्ने र भत्काउने कसरतलाई प्राथमिकता दिन थालेका छन्। महाधिवेशनबाट अनुमोदित भएर सानेपा शक्ति आफूमा केन्द्रित गर्ने अभ्यासमा मैदानमा रहेका शीर्ष नेताहरू आफू अनुकूल टिम बनाउन र आफूविरुद्धको टिम भत्काउने प्रयासमा छन्।

triton college

हुन त कांग्रेस पार्टीभित्र थुप्रै शक्ति-समूह छन्। मुख्यतया, संस्थापन (सभापति शेरबहादुर देउवा) पक्ष र पछिल्लो समय बहुध्रुवमा विभाजित बन्न पुगेको संस्थापन इतर समूह (वरिष्ठ नेता रामचन्द्र पौडेलसहित, महामन्त्री शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला क्लस्टर) देखिन्छ। सभापति देउवाको आग्रहलाई बेवास्ता गर्दै विमलेन्द्र निधिले सभापतिका लागि उम्मेदवारी घोषणा गरेपछि केही शक्ति घटेको 'विश्लेषण' गरेको देउवा पक्ष आफूविरुद्ध सकेसम्म समीकरण बन्नै नदिने र बनिहाले त्यस्ता समीकरण भत्काइदिने रणनीतिमा छ। 

यतिबेला संस्थापन इतर समूहभित्रको कलहमा चुलिएको छ। सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार चयन गर्ने उक्त समूहको लामो समय अघिदेखिको दाबीअनुसार सहमति हुने सम्भावना न्यून छ। संस्थापन इतर समूहबाट सभापतिका चार आकांक्षी छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइरालाले संस्थापन इतर समूहबाट सभापतिमा दाबी गरिरहेका छन्। 

संस्थापन इतर पक्षमा देखिएको खटपटलाई 'क्यास' गर्ने प्रयत्नमा देउवा पक्ष छ। यसको नेतृत्व सभापति देउवा आफैँले गरेका छन्। दोस्रो पटक सभापति बनेर सानेपा शक्तिको केन्द्रमा रहिरहने योजनालाई मूर्त रूप दिन देउवाले आफ्नो समूह नरहेका प्रभावशाली नेता फकाउने प्रयासमा छन्।संस्थापन इतर समूहको कलहमा सभापति देउवा खेल्न चाहन्छन्। संस्थापन इतर समूह एकढिक्का भएर साझा उम्मेदवार खडा गर्ने हो भने सभापतिमा दोहोरिने देउवाको इच्छामा ब्रेक लाग्न सक्छ। त्यसलाई बुझेका देउवाले आफूइतर समूहको कलहबाट फाइदा लिने प्रयास थालेका हुन्। 

कलहलाई मलजल

corrent noodles
Metro Mart

खासगरी वरिष्ठ नेता पौडेललाई सत्ता गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक पद दिएर इतर समूहमा रहेको कलहलाई मलजल गर्ने काम देउवाले गरेका थिए। जसको असर तुरुन्तै देखिएको थियो। केन्द्रीय कार्यसमितिको बैठक र सार्वजनिक रुपमा पनि नेताहरू दोषारोपमा उत्रिए। पौडेल पक्षको कलहलाई मलजल गरी सतहमा ल्याउन देउवा सफल पनि देखिए। 

पौडेल संयन्त्रको संयोजक बनेलगत्तै सिंहले सार्वजनिक रूपमै पौडेललाई नेता नमान्ने अभिव्यक्ति दिए। ‘उहाँ (रामचन्द्र पौडेल) अब शेरबहादुरको कार्यकर्ता बन्नुभयो। उहाँलाई नेता मान्न सकिन्नँ। अब म सभापतिमा लड्ने हो,’ सिंहले भनेका थिए। 

मन्त्री चयनमा एकलौटी गरेको, काठमाडौंमा भएको अधिवेशनमा आफ्ना उम्मेदवार हराउन लागेको र संयन्त्रको संयोजकको नाममा देउवाको कार्यकर्ता बन्ने अवस्थामा पुगेको विश्लेषण गरेका सिंह वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालासँग असन्तुष्ट बनेका हुन्। 

सिंह-शशांकको 'तुष' यतिमै सीमित छैन। यही तुषका कारण महामन्त्री कोइरालासँग सिंहको आरोपप्रत्यारोप समेत चर्किएको छ। कोइरालाले सभापतिमा लडे पनि सिंहलाई काठमाडौं बाहिर नचिन्ने आरोप लगाएका थिए। त्यसको जवाफमा सिंहले सुशील कोइरालाले सभापतिमा ल्याएको भन्दा बढी मत ल्याएर महामन्त्री जितेकोले सबैसँग सम्बन्ध राम्रो रहेको जवाफ फर्काएका थिए। यद्यपि पौडेल र कोइराला दुवैले सिंहलाई भेटेर असन्तुष्टि मत्थर गर्ने प्रयास गरेका पनि छन्। 

शशांक तान्ने खेल

संस्थापन इतर समूहबाट सभापतिका एक दाबेदार हालका महामन्त्री कोइरालालाई आफ्नो पक्षमा पार्ने प्रयासमा देउवा देखिन्छन्। शनिबार सिंहलाई भेटेलगत्तै कोइरालाले देउवालाई बालुवाटार पुगेर भेटेका थिए। भेटमा महाधिवेशन केन्द्रित छलफल भएको बालुवाटार स्रोत बताउँछ। 

मंसिर २ गते दाजु शेखरसँगको 'सहमति' तोडेर महामन्त्री कोइराला संखुवासभा पुगेका थिए। शेखरसँगको सहमतिपछि पनि उनले देउवासँग भेटेको उनको सचिवालयले पुष्टि गरिसकेको छ। पत्रकार सम्मेलनमार्फत् सहमति सार्वजनिक गर्ने तयारी भइरहेकै बेला शशांकले देउवालाई भेटेका थिए। संयुक्त पत्रकार सम्मेलनको सहमति तोडेर शशांक बालुवाटारमा देउवालाई भेटेर संखुवासभा पुगेका थिए।

महामन्त्री शशांक कोइराला।

शनिबार सिंहलाई भेटेर देउवालाई भेटेका कोइरालाले निरन्तर संस्थापन समूहका नेताहरुसँग छलफल गरिरहेका छन्। त्यसकै निरन्तरता स्वरुप आइतबार सह-महामन्त्री डा. प्रकाशशरण महतसँग कोइरालाले छलफल गरेका थिए। कोइरालालाई भेट्न महत महाराजगञ्ज पुगेका थिए। उनीहरूबीच दुई महाधिवेशनका विषयमा छलफल भएको थियो।

‘आइतबार मैले महामन्त्री (शशांक कोइराला)जीलाई भेटेको हुँ,’ महतले भने, ‘महाधिवेशन केन्द्रित छलफल भयो,' देउवा निकटका महतले भने, 'प्रतिनिधि चुनिने क्रम जारी रहेकाले त्यसको अपडेट लिने र समूहमा देखिएको विवाद मिलाउन केन्द्रित छु भन्दै हुनुहुन्थ्यो। हाम्रा बीचमा भएको यो छलफललाई समान्य रुपमै लिनुपर्छ।’ स्रोतका अनुसार देउवाले शशांकलाई आफ्नो पक्षमा ल्याउने प्रयत्न गरिरहेका छन्। 

रणनीति दोहोर्‍याउने देउवा दाउ 

१३औं महाधिवेशनमा तत्कालीन संस्थापन समूहका नेता अर्जुननरसिंह केसीलाई आफ्नो पक्षमा ल्याएर देउवाले महामन्त्रीको उम्मेदवार बनाएका थिए। उनै केसीलाई हराएर कोइराला महामन्त्री निर्वाचित बनेका थिए। कांग्रेस वृत्तमा १३औं महाधिवेशनमा देउवाले केसीलाई प्रयोग गरेर कोइलालाई सहयोग गरेको चर्चा आजपर्यन्त हुने गरेको छ। 

तेह्रौँ महाधिवेशनमा पौडेल पक्षबाट अर्जुनरसिंह केसीलाई भित्र्याएर महामन्त्री दिई प्यानल घोषणा कार्यक्रममा केसी, देउवा र चित्रलेखा यादव (अघिल्लो लाइनमा बायाँबाट क्रमशः)।

२०७४ फागुनमा भएको संसदीय दलको निर्वाचनमा आफ्नो समूहका सिंहलाई छाडेर कोइरालाले देउवालाई साथ दिएका थिए। त्यसले नै देउवा-कोइरालाको कार्यगत एकतालाई प्रष्ट पार्ने संस्थापन इतर समूहका एक नेताको दाबी छ। ‘संसदीय दलको निर्वाचन, महामन्त्रीका रुपमा उहाँको कार्यशैलीले उहाँ सभापतिजीसँग कति नजिक हुनुहुन्छ भन्ने देखाउँछ,’ ती नेता भन्छन्।  

१३औं महाधिवेशन देउवाले जसरी केसीलाई आफ्नो पक्षमा ल्याएका थिए। सोही प्रकृतिको रणनीति १४औं महाधिवेशनमा पनि अख्तियार गर्ने योजनामा देउवा देखिन्छन्। इतर समूहमा रहेका प्रभावशाली नेतालाई आफ्नो पक्षमा पार्दा त्यसको फाइदा महाधिवेशनमा पर्ने देउवाले राम्ररी बुझेका छन्। 

जानाजान विलम्ब पनि

अहिले महाधिवेशन प्रतिनिधि छानिने क्रम जारी रहेको र महाधिवेशन प्रतिनिधिको संख्याको हिसाबकिताब भइरहकाले तत्कालै कसैलाई आफ्नो टिममा ल्याएर सार्वजनिक गरिहाल्ने अवस्थासम्म देउवा पुगेका छैनन्। यद्यपि महाधिवेशन प्रतिनिधि चुनिइसकेपछि उनले इतरसमूहका नेतालाई आफ्नो पक्षमा ल्याउन अन्तिम समयसम्मै प्रयास गर्नेछन्। 

देउवा।

‘अहिले महाधिवेशन चुनिने क्रम जारी छ। त्यसैले अहिले नै कोही कसैलाई ल्याउने भन्ने हुँदैन। तर, महाधिवेशन प्रतिनिधिको हिसाबकिताब पछि अर्को समूहका प्रभावशाली नेतालाई आफ्नो पक्षमा ल्याउने प्रयास भने हुनेछ,’ देउवा निकट स्रोत भन्छ, ‘हाम्रो पक्षमा जो नेता आउँछ। उसको प्रभाव हेरेर उचित व्यवस्थापन गरिनेछ।’ 

देउवाले महामन्त्री वा उपसभापतिको उम्मेदवार बनाउने गरी अन्य समूहका नेताहरुलाई आफ्नो समूहमा तान्ने प्रयास गर्नेछन्। र, संस्थापन इतर समूहमा कलह बढ्दै गए कोइरालालाई आफ्नो पक्षमा पार्ने प्रयास गर्नेछन्। ‘१४औं महाधिवेशनमा नै नेतृत्व दिने गरी त होइन, निर्वाचन पछि वा १५औं महाधिवेशनपछि पार्टीको नेतृत्व दिने सर्तमा उहाँलाई ल्याउने प्रयास हुन सक्छ,’ देउवा निकटका एक नेता भन्छन्, ‘अरुलाई पार्टी जिम्मा लगाउनुभन्दा बीपीकै छोरालाई जिम्मा दिँदा फाइदा होला नि त।’ 

'शेर-शशांक एकैठाउँ हुने सम्भावना नकार्न सकिन्न'

राजनीतिक विश्लेषक समेत पछिल्ला घटनाक्रमले देउवा–कोइराला एक ठाउँमा आउने सम्भावना बढेको टिप्पणी गर्छन्। शशांकको दिल्ली भ्रमण, देउवाको बेलायत भ्रमण र कांग्रेसको आन्तरिक राजनीतिलाई मूल्यांकन गर्दा १४औं महाधिवेशन देउवा-कोइराला एकै कित्तामा रहे भने अचम्म मान्न नहुने राजनीतिक विश्लेषक विष्णु दाहाल बताउँछन्। 

‘देउवा र कोइराला एकअर्काप्रति नरम छन्। पछिल्ला घटनाक्रमले पनि उहाँहरु एकै ठाउँ उभिन सक्ने संकेत गरेका छन्, यसलाई नकार्न सकिन्न,’ दाहाल भन्छन्। 

कात्तिक पहिलो साता शशांक भारत भ्रमणमा गएका थिए। कोइरालाले भारत भ्रमणका क्रममा को-कोसँग कुरा गरे भन्ने बाहिर आएन। त्यसअघि भारतीय जनता पार्टीका-भाजपा)को निम्तोमा सह-महामन्त्री महत नेतृत्वको टोली भारत भ्रमणका लागि गएको थियो। महत नेतृत्वको टोलीले भाजपा र सरकारका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए। 

महत र कोइरालाको भारत भ्रमणपछि प्रधानमन्त्री देउवा जलवायु सम्बन्धी २६ औँ सम्मेलन सहभागिता जनाउन स्कटल्यान्डको ग्लास्गोमा पुगेका थिए। त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। यी सबै घटनाक्रमलाई केलाएर हेर्दा देउवा र कोइराला मिलाउन भारत सक्रिय रहेको बुझ्न सकिन दाहालको भनाइ छ। 

‘कोइराला र महतको भारत भ्रमण लगत्तै देउवाको बेलायत भ्रमणका क्रममा र भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता भयो। यसले भारतले शेरबहादुर र शशांकलाई एकै ठाँउमा उभ्याउन चाहेको जस्तो देखिन्छ,’ दाहाल भन्छन्, ‘महाधिवेशनको मुखमा भइरहेका अहिलेका गतिविधिले पनि त्यही बताउँछ। शेखरसँगको सहमति सार्वजनिक गर्न नमान्नु र देउवासँग निरन्तर भेटघाटमा रहनुले पनि यही कुराको संकेतलाई बलियो बनाउँछ।’

प्रकाशित: Nov 23, 2021| 09:58 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...