मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजपाले छाडेर गएका नेता-कार्यकर्तालाई फिर्ता बोलायो

राजपाले छाडेर गएका नेता-कार्यकर्तालाई फिर्ता बोलायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजपा नेपालले पार्टी छाडेर अन्य दलमा गएका र स्वतन्त्र भएका नेता-कार्यकर्तालाई फर्किन आव्हान गरेको छ।

काठमाडौं बबरमहलस्थित केन्द्रीय कार्यालय बिहीबारदेखि शुरु राजनीतिक समितिको बैठकले स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मुखमा असन्तुष्टी जनाउँदै पार्टी छाडेर गएका नेता-कार्यकर्तालाई पुरानै घर फर्किन आव्हान गरेको हो।

‘मधेश र मधेशका बासिन्दाको अधिकार र समृद्धिको संघर्षलाई सफल बनाउन पुरानै घरमा फर्किन आव्हान गर्ने बैठकले निर्णय गरेको छ,’ महामन्त्री केशव झाले नेपाल समयसँग भने, ‘अन्य दलमा गएका वा निष्कृय तथा स्वतन्त्र भएर बसेका सबै साथीहरूलाई पार्टीमा गोलबद्ध हुन आव्हान गरिएको छ।’

स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाउँदा र पार्टीको कार्यशैलीप्रति नै असन्तुष्टी जनाउँदै राजपाका तत्कालीन सह–अध्यक्ष हृदयेश त्रिपाठी, सह–महामन्त्री पशुपतिदयाल शर्मा र ईश्वरदयाल मिश्र तत्कालीन एमालेको चुनाव चिन्ह सूर्य लिएर निर्वाचन लडेका थिए। त्रिपाठी हाल नेकपाका सांसद छन्।

राजपाको महामन्त्री छाडेर फोरम लोकतान्त्रिक हुँदै संघीय समाजवादी फोरम प्रवेश गरेका विमलप्रसाद श्रीवास्तव हाल प्रतिनिधिसभा सांसद छन्। राजपाकै महामन्त्री बृजेशकुमार गुप्ता र जंगीलाल राय कांग्रेस प्रवेश गरेर प्रतिनिधिसभाको उम्मेदवारसमेत भए। गुप्ताले कपिलवस्तु–३ बाट चुनाव पनि जितेका छन्। 

राजपा सह–महामन्त्री धिरेन्द्र यादव महोत्तरीमा स्वतन्त्र भएर चुनाव लडेका थिए भने राजपा सिरहाका अध्यक्ष दिनेश राय यादव माओवादी प्रवेश  गरेका थिए। पार्टी उपाध्यक्ष अजयमान राई एमालेमा प्रवेश गरी प्रदेश सांसद छन्।

राजपा सह–महामन्त्री सरोज सिंह फोरम प्रवेश गरेर महोत्तरीबाट प्रदेश सांसद भए। उनी हाल प्रदेश–२ को गृह राज्यमन्त्री छन्। यस्तै, राजपा छाडेर स्वतन्त्र उम्मेदवार बनेका केन्द्रीय सदस्य फुलबाबु प्रदेश सभामा सांसद छन्। 

७ वैशाख ०७४ मा ६ वटा मधेशकेन्द्रित दल मिलेर गठन भएको राजपा नेपालको बिहीबारको बैठकले संशोधित विधान मस्यौदामाथि छलफल अगाडि बढाएको छ। विधानमा पार्टीको संगठनात्मक संरचना बुथदेखि वडा समितिसम्म पुर्‍याउने प्रस्ताव गरिएको छ।

विधान मस्यौदा समितिका संयोजक लक्ष्मणलाल कर्णले सात तहको सांगठनिक संरचना प्रस्ताव गरेका छन्। प्रस्तावमा गाउँ वा नगरपालिका समिति, प्रादेशिक क्षेत्रीय समिति, संघीय क्षेत्रीय समिति, जिल्ला समिति, प्रादेशिक समिति र राष्ट्रिय समिति रहनेछन्।

मस्यौदामा पार्टीको उच्च नेतृत्व हालको जस्तो अध्यक्ष मण्डल नरहने प्रस्ताव छ। अध्यक्ष मण्डलको साटो एक जना मात्र अध्यक्ष हुने र अन्य नेताका लागि आवश्यकताअनुसार वरिष्ठ नेता वा सल्लाहकारको व्यवस्था गर्ने भनिएको छ। 

विधानले सदस्यता वितरणपछि हरेक तहमा ३३ प्रतिशत महिला रहने, समिति संख्याको ७० प्रतिशत निर्वाचित र ३० प्रतिशत मनोनित गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित विधानमा संविधान बमोजिम समानुपातिक प्रतिनिधित्वको प्रत्याभूति गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।