भोजपुर- नेपाली कांग्रेस भोजपुरको नेतृत्व चयनका लागि भएको पहिलो चरणको मतदानको नतिजाअुनसार कुनै पनि उम्मेदवार सभापतिमा चयन हुन नसकेपछि मंगलबार पुनः मतदान हुने भएको छ।
सोमबार भएको मतदानमा कांग्रेस भोजपुरको सभापतिमा निवर्तमान सभापति नन्दमणि राई, पूर्वसभापति बालकृष्ण थापा र नेविसंघका पूर्व केन्द्रीय कोषाध्यक्ष विनोद वान्तवाबीच प्रतिस्पर्धा भएको थियो। पहिलो चरणको मदतानमा खसेको कुल १२२६ मतमा ४१४ मत ल्याएका वान्तवा पहिलो, ३९४ मत सहित राई दोस्रो र २९२ मत ल्याएका थापा तेस्रो भएका हुन्।
विधानको व्यवस्था अुनसार पहिलो चरणको मतदानबाट कुनै पनि उम्मेदवार जिल्ला सभापतिमा विजयी नभएपछि दोस्रो चरणमा मतदान हुने भएको छ। सोमबार भएको मतदानमा सभापतिका तीन आकांक्षीमध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो।
कांग्रेसको विधान अनुसार सभापतिका उम्मेदवार दुई वा दुई जना भन्दा बढी उम्मेदवार भएको अवस्थामा ५१ प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था छ। तीन जना उम्मेदवार हुँदा पहिलो चरणमा ५१ प्रतिशत मत कट्न नसके पहिलो र दोस्रो हुनेका उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुने भएको हो। दोस्रो चरणमा भने सबैभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी घोषित हुनेछन्।