काठमाडौं– भारतले आगामी जनवरी २६ मा मनाइने ७३ औं गणतन्त्र दिवसका अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई प्रमुख अतिथि बनाउने भएको छ।
भारतले बंगालको खाडीको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यको प्रयास (बिमस्टेक) का राष्ट्र तथा सरकार प्रमुखलाई गणतन्त्र दिवसमा प्रमुख अतिथि बनाउने योजना बनाएको हो। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्पमा अघि सारिएको क्षेत्रीय संगठन हो बिमस्टेक। बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यानमार र थाइल्यान्ड सदस्य राष्ट्रका रुपमा छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको लालकिल्लामा हुने गणतन्त्र दिवसको मुख्य परेडमा प्रमुख अतिथि बनाउने गरी बिमस्टेक सदस्य राष्ट्रसँग छलफल भइरहेको छ। भारतीय विदेश मन्त्रालयले गणतन्त्र दिवसमा सबै बिमस्टेक सदस्य राष्ट्रको उपस्थिति सम्भव हुने–नहुनेबारे कूटनीतिक च्यानलबाट छलफल अघि बढाएको इन्डियन एक्सप्रेसको अनलाइन संस्करणमा उल्लेख छ।