बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालापानी र लिम्पियाधुराको जनगणना नगरे राष्ट्रघात गरेको ठहरिन्छ : बुद्धिनारायण श्रेष्ठ

कालापानी र लिम्पियाधुराको जनगणना नगरे राष्ट्रघात गरेको ठहरिन्छ : बुद्धिनारायण श्रेष्ठ

केन्द्रीय तथ्यांक विभागले कार्तिक २५ गतेदेखि सुरु गरेको जनगणना आगामी बिहीबार सम्पन्न हुने तयारी गरेको तर कालापानी र लिम्पियाधुरा क्षेत्रमा बाटोको असुविधा भएको भन्दै गणकहरू नखटाइएको प्रति उनले आश्चर्य प्रकट गरेका छन्।
 |  सोमबार, मंसिर ६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ६, २०७८

काठमाडौं- सीमाविद् बुद्धिनारायण श्रेष्ठले दार्चुला जिल्लाको उत्तर-पश्चिमी क्षेत्र कालापानी र लिम्पियाधुरालगायतका स्थानमा जनगणना नगरे राष्ट्रघात गरेको ठहरिने बताएका छन्। कार्तिक २५ गतेदेखि सुरु भएको जनगणना आगामी बिहीबार सम्पन्न हुने तयारी भइरहेको तर कालापानी र लिम्पियाधुरा क्षेत्रमा बाटोको असुविधालाई कारण देखाएर गणकहरू पठाउने विषयमा केन्द्रीय तथ्यांक विभाग अलमलमा रहेको भन्दै उनले आश्चर्य प्रकट गरेका छन्। 

अघिल्लो वर्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी र लिम्पियाधुरालगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि ती क्षेत्रमा नेपालले अनिवार्य रूपमा जनगणना गरिनुपर्ने सीमाविद् बुद्धिनारायण श्रेष्ठको भनाइ छ। 

कालापानी लिम्पियाधुरालगायतका गुञ्जी, कुटी र नाबीमा जनगणना गर्न भने केन्द्रीय तथ्यांक विभागका अधिकारीहरु अझसम्म पनि अलमलमै देखिन्छन्। वि. सं. २०१८ सालयता नेपालको तर्फबाट जनगणना हुन नसकेका ती ठाउँ राष्ट्रिय नक्सामा समावेश गरिएपनि यसवर्ष जनगण्ना गर्नैपर्ने दबाब नेपाल सरकारलाई रहेको छ। तर, जनगणनाको अन्तिम चरणमा आइपुग्दा पनि विभाग अलमलमै रहेपछि सीमाविद् श्रेष्ठले जनगणना गर्नैपर्ने र यसका लागि वैकल्पिक उपाय पनि सुझाएका छन्। श्रेष्ठको भनाइ जस्ताको तस्तै:

हाम्रो मिसिएको भाग नाबी, गुञ्जी, कुटीमा जनगणना गर्नका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जान दिँदैन। भारतीय बाटोबाट ती क्षेत्रमा जान नदिएपछि त्यहाँको जनगणना तीन वटा विकल्पमा गर्न सकिन्छ। पहिलो विकल्प भनेको छांगरुका जनतालाई सोधेर, गुञ्जी, कुटी र नाबीमा कति बासिन्दा छन् भनेर सोध्न सकिन्छ। किनभने छांगरुका नातेदारहरु कुटी, गुञ्जी र नाबीमा छन्। मराउपराउ पर्‍यो भने छांगरुका जनतालाई उतातिर एसएसबीले जान दिन्छ। छाङरुको जनताको बिहेवारी पनि उता हुने गरेको छ। नावी, गुञ्जी र कुटीका मानिसहरू पनि छांगरूतिर आउँछन्।

त्यसैले छांगरुका स्थानीय वा व्याँस गाउँपालिकाका संयन्त्र परिचालन गरेर पनि त्यहाँ जनगणना गर्न सकिन्छ। मैले किन पनि यस्तो भनेको हो भने मेरो घरमा गणक आउँदा पनि मलाई नै सोध्ने हुन्। मैले बताउने हो। त्यसैगरी कालापानीको गुञ्जी, कुटी र नावीको पनि छांगरुका मान्छेलाई सोधेर लिन सकिन्छ। तर यो वैकल्पिक विधि मात्र हो। 

दोस्रो विकल्प भनेको स्याटेलाइटको माध्यमबाट फोटोले घर गन्ती गर्ने। स्याटेलाइट फोटोको सहायताले गुञ्जी, कुटी र नावीमा घर गन्ती गर्ने र त्यही अनुसार तथ्यांक तयार गर्ने। 

मैले आफैँ पनि त्यहाँको फोटोबाट अध्ययन गरेको छु। हवाई फोटो र अन्य फोटोबाट गणना गर्दा कुटी, गुञ्जी र नावीमा ७ सय ३० घर रहेका पाएको थिएँ। सरदरमा प्रतिघर ५ जनाभन्दा बढी हुन्छन् मान्ने मान्ने हो भने त्यहाँ करिब ४ हजार जनसंख्या हुन सक्छन् भन्ने मेरो आकलन हो। त्यसकारण दोस्रो वैकल्पिक व्यवस्था यो भयो।

त्यहाँको गणना गर्ने तेस्रो विकल्प पनि छ। हामीले इन्टरनेटमा राखिएका सामग्री नै हेर्‍यौँ भने पनि 'अप्पर व्याँस रिजन' भनेर गुञ्जी, कुटी र नाबीको पनि जनसंख्या उल्लेख गरेको छ। त्यसैले इन्टरनेटमा प्राप्त तथ्यांकलाई आधार मानेर त्यस क्षेत्रको जनगणना फारममा भरेर तथ्यांक कायम गर्न सकिन्छ। 

भारतले सन् २०११ मा त्यो क्षेत्रको जनगणना गरेको छ। त्यो जनगणनालाई पनि आधार लिएर हाम्रो नेपालबाट जनगणना गरेर भर्चुअल्ली भए पनि जनगणना गर्नैपर्छ। अहिले जनगणना गरिएन भने नेपालले चुच्चे नक्सा निकालेको व्यर्थै जान्छ। भारतसँग पछि यो चुच्चे नक्साको बारेमा कालापानीको कुरा गर्दा हाम्रो नेपालको कमजोरी देखिन्छ। जनगणना नै गरेका छैनौं तिमीहरूले भनेर भारतले भन्न सक्छ। भर्चुअल्ली भएपनि गणना गरी तथ्यांक बसाउनु पर्छ। 

दार्चुला सदरमुकाम खलङ्गाबाट भारतीय बाटो भएर छांगरु जाने हफ भने १ दिनमा पुगिन्छ। नेपाली भूभाग भएर जाँदा छांगरु पुग्न ३-४ दिन लाग्छ। बाटो अप्ठ्यारो छ। युवा उमेरका गणक नेपाली भूभागबाटै पनि पुग्न सक्छन्। जानै नसकिने भन्ने होइन। भीरपहराको बाटो जानुपर्ने भएको हुनाले युवा उमेरका गणकलाई पठाइयो भने चाहिँ गणनामा हिँड्नुपर्छ। यो प्रबन्ध तथ्यांक विभागले गर्नैपर्छ। गणक पठाउनै पर्छ। 

भारतले बाटो दिएन भनेर आफ्नो बाटोबाट नजाने काम विभागले गर्नै हुँदैन। ४ दिन मात्र होइन, आफ्नो भूभाग पुग्न जति दिन लागेपनि अप्ठेरो छ भनेर छोड्नु हुँदैन। 

कालापानी, लिम्पियाधुरा, गुञ्जी, कुटी र नावीको जनगणना लिइएन भने राष्ट्रघात हुन्छ। भौगोलिक अखण्डतामा प्रतिकूल असर पर्छ। एक प्रकारले तथ्यांक विभागका उच्च अधिकारीहरूले राष्ट्रघात गरेको ठहरिन्छ। राष्ट्रियता रक्षाका लागि पनि यो गणना गर्नैपर्छ। तीन वटा वैकल्पिक उपायमध्ये कुनै पनि एउटा उपायले तथ्यांक बसाउनुपर्छ।

प्रकाशित: Nov 22, 2021| 14:02 सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।