काठमाडौं– दिगो विकास लक्ष्य प्राप्तिमा टेवा पुर्याउने उद्देश्यले राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
जनगणनामार्फत स्थानीय, प्रादेशिक र संघीय स्तरमा मातृ मृत्युको अवस्था र यसको कारण पत्ता लगाउन सकिने मन्त्रालयको जनसंख्या व्यवस्थापन शाखाका प्रमुख कपिल तिमल्सिनाले बताए। यासले गर्दा मातृ सुरक्षासम्बन्धी कार्यक्रमहरु अगाडि बढाउन सहज हुने र सोही अनुसार थप सुदृढिकरण गर्न सकिने उनको भनाइ छ। ‘कुनैपनि महिलाको गर्भावस्थामा वा सुत्केरी हुँदा मृत्यु भएको छ भने त्यसको कारणलाई सम्बोधन गर्नका लािग हामीले जनागणनामार्फत मातृ मृत्युको गणना गर्दैछौं। आमाको मृत्यु हुने कारणलाई सम्बोधन गर्न नीति बनाउनका लागि हामीले यो काम गरिरहेका छौं,’ उनले भने।
यसअघि पनि जनस्वास्थ्य सम्बन्धी सर्वेक्षणहरु भएका र त्यसकै आधारमा नीति तथा योजनाहरु तय गरिएको बताउँदै उनले अहिले पहिलोपटक जनगणना गर्न लागिएको बताए। ‘यस किसिमको अध्ययन विश्व इतिहासमा विरलै देशमा भएको पाइनछ। विश्वले पनि नेपालको यो जनगणनामा गर्न लागेको मातृ मृत्यु गणनालाई विशेष चासोका साथ हेरेको छ। यसबाट आउने तथ्यांकको गुण्स्तर राम्रो हुने निश्चित छ,’ तिमल्सिनाले भने।
सन् २०१६ मा मातृ मृत्यु अध्ययनको अनुपात प्रतिलाख जन्ममा २३९ रहेकोमा २०३० सम्मको दिगो विकास लक्ष्यले प्रतिलाख जन्ममा ७० मा झार्ने लक्ष्य लिइएको छ। त्यसैलाई सार्थक तुल्याउन राष्ट्रिय स्वास्थ्य नीति २०७६, जनसंख्या नीति २०७१ ले पनि यसलाई प्राथमिकता दिएको छ।
राष्ट्रिय जनगणना कात्तिक २५ देखि सुरु भइसकेको छ। मातृ मृत्यु गणनाका लागि जनगणनामा खटिएका कर्मचारीहरुले १५ देखि ४९ वर्षका महिलाहरुको मृत्यु भएको छ भने मृत्युको तथ्यांक पत्ता लगाउनेछन्। त्यसपछि त्यो तथ्यांक तत्काल मातृ मृत्यु सूची फारममा संकलन गर्नेछन्। सँगै मातृ मृत्यु भएका महिलाको संख्या पत्ता लागेको अवस्थामा स्थानीय स्तरमा तालिम प्राप्त स्वास्थ्यकर्मीलाई एसएमएसमार्फत जानकारी गराइन्छ। सूचना पाएलगत्तै स्थानीय स्वास्थ्यकर्मीले भर्वल अटप्सीमार्फत निर्दिष्ट गरिएको फारम भरेर मातृ मृत्युसम्बन्धी विस्तृत विवरण संकलन गर्नेछन्। त्यसरी संकलन गरिएका विवरण स्थानीय तहको स्वास्थ्य शाखामार्फत स्वास्थ्य कार्यालयमा प्राप्त हुनेछन्।
मातृ मृत्यु अध्ययनमा जनगणनामा खटिएका गणक, सुपरिवेक्षक, स्वास्थ्यकर्मी, स्वास्थ्यका निकाय, जनगणनाका कार्यालयहरु केन्द्रिय तथ्यांक विभाग लगाएत सबै पक्षलाई सहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ।
स्वास्थ्य कार्यालयले ती फाराम पूर्ण रुपमा भरिएको सुनिश्चित गरी प्रादेशिक स्वास्थ्य मन्त्रालय मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपलब्ध गराउँछन्। यसरी फारम संकलन भएपछि विज्ञमार्फत मातृ मृत्युको पहिचान गरी त्यसलाई कोडिङ गरेर विश्लेषण गरिने शाखा प्रमुख तिमल्सिनाले जनाए।
यो कार्य सम्पन्न गर्नको लागि केन्द्रीय तथ्यांक विभाग अन्तर्गत जिल्ला जनगणना कार्यालय मार्फत गणकहरुलाई र सुपरिवेक्षकलाई यो काम गर्न दीक्षित गरिएको छ। दीक्षित भएकाहरुले आफ्नो क्षेत्रमा मातृ मृत्यु अध्ययन पत्ता लगाइसकेपछि सोही अनुसार सूचित गर्नेछन्। नेपालमा पहिलोपटक गर्न लागिएको मातृ मृत्यु अध्ययनमा जनगणनामा खटिएका गणक, सुपरिवेक्षक, स्वास्थ्यकर्मी, स्वास्थ्यका निकाय, जनगणनाका कार्यालयहरु केन्द्रिय तथ्यांक विभाग लगाएत सबै पक्षलाई सहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल गरेको छ।