काठमाडौं- पतञ्जली योगपीठ नेपालले आइतबार दुईवटा टेलिभिजन पतञ्जली नेपाल र आस्था नेपाल च्यानलको उद्घाटनबारे भइरहेको आलोचनालाई रोक्नका लागि अर्को झुटको साहरा लिएको पाइएको छ। टिभि उद्घाटनका क्रममा अनावरण गरिएको शिलालेख र पतञ्जलीले पछि जारी गरेको विज्ञप्ति नै विरोधाभाषपूर्ण देखिएको छ।
भारतीय पतञ्जली ब्रान्डको आयुर्वेद औषधिका व्यापारी बाब रामदेवको लगानी रहेका दुई टेलिभिजन च्यानलको शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो। दर्ता नै नगरी टेलिभिजन उद्घाटनमा प्रधानमन्त्री देउवालाई बोलाएर चोरबाटोबाट स्वीकृति लिन खोजेको भन्दै आलोचना भएपछि पतञ्जलीले आइतबार विज्ञप्ति जारी गर्दै टिभी नभएर भवन उद्घाटन भएको बताएको छ।
तर, शुक्रबार प्रधानमन्त्रीले अनावरण गरेको शिलालेखमा भने टिभी उद्घाटन गरिने उल्लेख छ।
शिलालेखमा भनिएको छ, 'पतञ्जली योगपीठ नेपाल अन्तर्गत सञ्चालन हुने पतञ्जली नेपाल तथा आस्था नेपाल टिभीको सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको प्रमुख आतिथ्यतामा तथा भारत केन्द्र सरकारका माननीय सडक परिवन तथा रामार्ग श्री नितिन गड्करीज्यूको विशिष्ट आतिथ्यतामा...उद्घाटन कार्यक्रम सम्पन्न भयो।'
तर, आतइबार जारी गरिएको विज्ञप्तिमा भने भवन उद्घाटन गरिएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, 'हाल टिभी प्रसारण गरिएको छैन। केवल प्राविधिक तयारीको क्रममा मात्र रहेको हो। मंसिर ३ गते सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको उपस्थितिको... महत्वपूर्ण अवसरमा शुभ साइतका लागि टिभीको भवन उद्घाटन गरिएको हो। तर, प्रशासरण गर्ने, सञ्चालन गर्ने कार्य भने हाल नगरिएको व्यहोरा जानकारी गराउँदै नेपाल सरकारको नीति नियम कानुनको अधिनमा रही नियमानुसार अनुमति प्राप्त भएपछि मात्र टिभी सञ्चालन हुने जानकारी गराइन्छ।'

वाल्मीकिले सञ्चालक समितिको बैठकबाट टीभी संचालनसम्बन्धी निर्णय गरी गत असोज ८ गते गते कम्पनी रजिस्ट्रारको कार्यालयबाट प्रमाणीकरण लिइएको पतञ्जलीको दाबी छ।
पतञ्जली योगपिठ नेपालका आईटी इन्चार्जले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्टै नेपालका सञ्चारमाध्यमहरुलाई नै भ्रम फैलाएको आरोप लगाएको छ।
दर्ता नै नगरी टेलिभिजन सञ्चालन गरेको भन्दै चर्को आलोचना भएपछि आइतबार सूचना विभागको टोली पनि मण्डिखाटार पुगेको थियो।
नेपालमा आमसञ्चारमाध्यममा विदेशी लगानी भित्र्याउन नपाइने कानुन भए पनि टेलिभिजनमा रामदेवले सत्तापक्षीय सबै नेताहरुलाई उपस्थित गराएर आफ्नो लगानीको वैधानिकता प्राप्त गर्न चाहेको आरोपसमेत लागिरहेको छ। टेलिभिजनको उद्घाटन कार्यक्रममाप्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव, गृहमन्त्री बालकृष्णा खाँणसहित कयौँ नेताहरु उपस्थित भएका थिए।