काठमाडौं– २०५३ सालदेखि मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको १०औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। संस्थाको अध्यक्षमा फेरि पनि भवानीप्रसाद खरेल निर्वाचित भएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा प्रमुख आतिथि रहेको कार्यक्रममा प्रतिष्ठानका संस्थापक, सल्लाहकार, आजीवन सदस्य र ३६ भन्दा बढी जिल्लाका प्रतिनिधि÷पर्यवेक्षकलगायतको उपस्थिति थियो। कार्यक्रममा थापाले संविधान, कानुन र ऐनमा लेखिएर मात्र व्यक्तिको मानव अधिकार स्थापित नहुने हुँदा त्यसको कार्यान्वयनतर्फ राज्य र सम्बन्धित निकाय लाग्नुपर्ने बताइन्। ग्रामीण बस्तीका जनता, श्रमिक, अल्पसङ्ख्यक, एकल महिला, अपाङ्गता भएका व्यक्तिको न्यूनतम आवश्यकतासमेत पूरा नभएकोमा सरकार र मानव अधिकारको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुङ्गाना, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, प्राध्यापक कपिल श्रेष्ठ, इन्हुरेन्ड इन्टरनेसनलका अध्यक्ष डा. गोपालकृष्ण सिवाकोटीलगायतले मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा प्रतिष्ठानले गरेको गतिविधिको प्रशंसा गर्दै मानव अधिकार, विधिको शासन र न्यायिक क्षेत्रमा हाल भइरहेको गतिविधितर्फ आआफ्नो धारणा व्यक्त गरेका थिए।
सम्मेलनमा प्रतिष्ठानका पूर्व उपाध्यक्ष एवं वरिष्ठ अधिकारकर्मी लेखबहादुर थापालाई मानार्थ सदस्यता प्रदान गरिएको छ। साथै कोभिड १९ को महामारी र सम्मेलन सफल पार्न सहयोग गर्नुहुने प्रतिष्ठानमा संस्थापक, आजीवन, सक्रिय सदस्य र शाखाहरूलाई सम्मान गरिएको छ।
सम्मेलनले खरेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति र २१ सदस्यीय केन्द्रीय परिषद् सदस्य निर्वाचित गरेको छ। कार्यसमितिको उपाध्यक्षमा लक्ष्मणनाथ उप्रेती, डा. रूपकप्रसाद खनाल र राजकुमार गुरुङ निर्वाचित भएका छन्। महासचिवमा हरिशचन्द्र भट्टराई, उपमहासचिवमा घमान तामाङ, कोषाध्यक्षमा सोनाम शेर्पा, सदस्यहरूमा सुमित्रा प्रसाई, टिएन न्यौपाने, भोगेन्द्र झा, ज्ञानध्वज तामाङ, अनुराधा जोशी, प्रदीप श्रेष्ठ निर्वाचित भएको प्रतिष्ठानले जनाएको छ।