लन्डन (बेलायत)- कोरोना संक्रमितहरूको संख्या बढेसँगै युरोपेली देशले स्वास्थ्य मापदण्ड कार्यान्वयनमा कडाइ गरेका छन्। विशेषगरी नेदरल्यान्ड, अस्ट्रिया, क्रोएसिया, इटली र फ्रान्सलगायतका देशका सरकारले कार्यान्वयन गरेको कडा स्वास्थ्य सुरक्षा मापदण्डविरुद्ध विरोध जनाएका हुन्।
अनपेक्षित रूपमा संक्रमितको संख्या बढेपछि नेदरल्यान्डमा लकडाउन गरिएको बताइएको छ। लकडाउन गर्नु उपयुक्त नभएको भन्दै त्यहाँका नागरिकले विरोध प्रदर्शन गरेका छन्। पश्चिमी सहर हेगको सडकमा ओगो बालेर उनीहरूको विरोध ध्वंसात्मक बन्दै गएपछि प्रहरीले बल प्रयोग गरेको छ।
हेगमा शुक्रबारबाट सुरु भएको विरोध प्रदर्शन शनिबार नेदरल्यान्डका विभिन्न स्थानमा ध्वंसात्मक बनेको थियो। भिडलाई नियन्त्रणमा लिन प्रहरीले घोडा र कुकुर प्रयोग गरेको थियो भने केही स्थानमा लाठीचार्जसमेत गरिएको थियो। राजधानी हेगमा 'आपत्कालीन आदेश' जारी गरिएको छ। विरोध प्रदर्शनमा उत्रिएका कम्तीमा पनि ७ जना पक्राउ परेका छन् भने ५ जना घाइते भएका छन्। उता कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले फुटबल मैदानमा दर्शकलाई प्रवेश निषेध गरिएको छ।
यस्तै नेदरल्यान्ड मात्र नभएर अस्ट्रिया, कोएसिया र इटलीमा पनि सरकारले लागू गरेको लकडाउनविरुद्ध आक्रोश छ। अस्ट्रिया सरकारले सोमबारदेखि २० दिने लकडाउन घोषणा गरेको छन् भने फेब्रुअरी १ सम्ममा सबैलाई खोप लगाइसक्ने योजना बनाएको छ।
यस्तै क्रोएसियाको अनिवार्य खोप योजनाप्रति पनि स्थानीयले आक्रोश व्यक्त गरेका छन्। अनिवार्य खोपको व्यवस्थाप्रति राजधानी जाग्रेबमा प्रदर्शन गरेका छन्।
उता इटलीको राजधानी सर्कस म्याक्सीमसमा पिन प्रदर्शन भएको छ। कार्यस्थल, सार्वजनिक क्षेत्र र यातायातमा देखाउनपर्ने 'ग्रीन पास'विरुद्ध उनीहरूको आक्रोश छ। फ्रान्समा पनि सरकारले लगाएको मापदण्डविरुद्ध भएको प्रदर्शन दबाउनका लागि दर्जनौँ प्रहरी परिचालन भएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भने युरोपेली क्षेत्रमा कोरोना संक्रमित बढ्दै जानु चिन्ताजनक भएको उल्लेख गरेको छ। संगठनका क्षेत्री निर्देशक डा हान्स क्लगका अनुसार युरोपभर स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयनमा कडाइ नगरे आगामी अबको ६ महिनासम्ममा ५ लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने आकलन गरिएको छ।
'हाम्रो क्षेत्र (महादेश) मा कोभिड पुनः एकपटक मृत्युको मुख्य कारण बन्न सक्छ,' उनले भने, 'यो भाइरससँग लड्न के गर्नुपर्छ भन्ने कुरा हामीलाई थाहै छ।' उनले खोप लगाउन, मास्क लगाउन आग्रह गरे।