काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारलाई सच्चिन आग्रह गरेको छ । सरकार स्वेच्छाचारी ढंगले अघि बढेको आरोप लगाउँदै कांग्रेसले सरकारका लगातारका निर्णयले विधिको शासन उल्लंघन गर्नुका साथै द्वन्द्वका लागि प्रतिपक्षलाई आमन्त्रण गरिरहेको आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले यही अवस्थामा अघि बढे वर्तमान सरकार गम्भीर दुर्घटनामा फस्ने बताए । शर्माले भने, ‘माओवादको पेट्रोल र जबजको डिजेल हालेर अघि बढेको यो सरकार जहाँ गएर पनि दुर्घटनामा पर्ने देखियो । अब यसलाई जोगाउन कसैले सक्दैन ।’
शर्माले न्यायको माग गर्दै अनशनमा बसेकी गंगामायाको प्रसंग निकाल्दै छोरा र श्रीमान गुमाएकी एक चेलीको पीडा कसले महशुस गर्ने भन्ने विषय अहिले ठूलो रहेको बताए । उनले भने, ‘एउटी चेली वीरअस्पतालको बेडमा न्यायको भिख माग्दै छटपटाइरहेको बेला राष्ट्रपति भवनमा बस्ने अर्की चेलीको मन चसक्क घोच्छ कि खोज्दैन होला ।’
शर्माले सरकारले सबैलाई मिलाएर लैजानुको साटो एकतर्फी रुपमा अघि बढेको पनि आरोप लगाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४