काठमाडौं- काठमाडौं र ललितपुर प्रहरी परिसर प्रमुख फेरिएका छन्। काठमाडौं प्रहरी परिसरको कमाण्ड एसएसपी सुदीप गिरीले समाल्ने भएका छन् भने ललितपुर परिसरको नेतृत्व एसएसपी यज्ञबिनोद पोखरेलले सम्हाल्ने भएका छन्।
गृह मन्त्रालयले नेपाल प्रहरीका केही डिआइजी र एसएसपीको काज सरुवा गर्दै उनीहरूलाई परिसरमा तानेको हो। यस्तै काठमाडौं परिसरका एसएसपी अशोक सिंहलाई भरतपुर तालिम केन्द्रमा सरुवा गरिएको छ।
त्यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी मुकुन्द आचार्यलाई करिब पाँच महिनामै हटाइएको छ। लुम्बिनीको कमाण्ड सम्हाल्न डिआइजी प्रकाश अधिकारीलाई पठाइएको छ।
यस्तै नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक एसपीहरूको पनि सरुवा गरिएको छ। प्रहरी महानिरीक्षकस्तरीय बैठकले हिजो बेलुका गरिएको निर्णयअनुसार उननीहरुकाो सरुवा भएको हो।
यो निर्णयसँगै विभिन्न जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका छन्। सरुवाअनुसार पर्सामा रमेशकुमार बस्नेत, मकवानपुरमा सुरेन्द्र गुरुङ, नुवाकोटमा रामप्रसाद शाह, तनहुँमा राजेन्द्रबाबु रेग्मी, स्याङजामा राजीव बस्नेत, धादिङमा राकेश सिंह र सप्तरीमा अविनारायण काफ्लेलाई पठाइएको छ।