काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आजदेखि आन्दोलन थप सशक्त बनाउने भएको छ।
तेस्रो चरणको साताव्यापी आन्दोलनअन्तर्गत आज देशभरका कुनै पनि अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने बारको कार्यक्रम छ। बारको आह्वानमा आज पनि कानुन व्यवसायीहरूले सर्वोच्च अदालत अगाडी धर्ना दिँदैछन्।
बारले सर्वोच्चमा कानुन व्यवसायीमाथि भएको दमनलाई पनि आफ्नो एजेन्डा बनाएको छ। आन्दोलन २१औं दिनमा प्रवेश गर्दा यस अवधिमा तीन पटक प्रहरीले आन्दोलनका क्रममा बल प्रयोग गर्दा आफ्ना सदस्य घाइते भएको बारले जनाएको छ।
प्रधानन्यायाधीश जबराको वार्ताको प्रस्ताव अस्वीकार गरी थप आन्दोलनका कार्यक्रम घोषणा गरेको बारले भोलि संसद्मा रहेका सबै राजनीतिक दलका संसदीय दलहरूमा ज्ञापनपत्र/ध्यानाकर्षणपत्र दर्ता गराउने भएको छ ।
यसैगरी, मंगलबार भने कानुन व्यवसायीले हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादबाहेक कुनै पनि अदालत र न्यायाधिकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने भएका छन्।
बुधबार भने देशभरका सबै उच्च अदालतमा बृहत् विरोध सभा गर्ने बारको निर्णय छ। यसैगरी बिहीबार र शुक्रबार भने उपत्यकाका सबै बार इकाई सहभागी हुने गरी सर्वोच्चमा धर्ना दिने कार्यक्रमलाई निरन्तरता दिइने बारले जनाएको छ।
बारले प्रधानन्यायाधीश जबराको राजीनामा लाई बटमलाइन बनाएको छ। प्रधानन्यायाधीशले कार्यपालिकामा भाग मागेको, संवैधानिक नियुक्तिमा भागबन्डा गरेको, गैरन्यायिक आचरण देखाएको, न्यायमा विचलन ल्याएकोजस्ता आरोप लगाउँदै बारले राजीनामा माग गरिरहेको छ।