दाङ- दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरमा गएराति पौने २ बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका २९ मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा काठमाडौं बस्ने २७ वर्षीय आयुषकुमार लामा, सुर्खेतको लेखबेसी नगरपालिका-६ की ३२ वर्षीया लक्ष्मी शर्मा, कालीकोट निलागुफा-९ का २१ वर्षीय बमबहादुर शाही र मुगुका २८ वर्षीय धर्मराज जैसी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।
अन्य घाइतेको अवस्था भने सामान्य रहेको छ। घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले पक्राउ गरेर दुर्घटना बारे अनुसन्धान थालेको छ।