काठमाडौं- बुधबार दिउँसो संसद्मा शालीन शैलीमा प्रस्तुत भए, गृहमन्त्री रामबहादुर थापा 'बादल' । करिब आधा घण्टा संसद्मा विधिको शासन, लोकतन्त्र र कानूनी राज्यको विषयमा भाषण दिए, उनले । संयोगवस, त्यसको मुख्य स्रोता थियो, नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो इतिहास भएको नेपाली कांग्रेस । गृहमन्त्रीको भाषणको ६० प्रतिशतभन्दा बढी अंश कांग्रेसतिरै लक्षित थियो ।
कुनै बेला तत्कालीन माओवादी नेता बादलको टाउकाको मूल्य तोक्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा गाला मुसार्दै उनको भाषण सुनिरहेका थिए । र, एकटकले गृहमन्त्रीको अनुहार हेरिरहेका थिए । संयोग यस्तो पर्यो, देउवाले पनि त्यसबेला विधिको शासनकै कुरा गर्दै संकटकाल घोषणा गरेका थिए, टाउकाको मूल्य तोक्दै ।
विधिको शासन र कानूनी राजको कुरा विश्वकपको फुटबलजस्तो भएको छ, कहिले कसको खुट्टामा पुग्छ, कहिले कसको ।
माओवादीविरुद्ध संकटकाल घोषणा गर्दा विधिको शासन र कानूनी राजको फुटबल अहिलेका प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको खुट्टामा थियो । त्यसपछि धेरै पटक त्यो कसैले खोसे, कसैले हाने । यही क्रममा फाइनलमा त्यो कम्युनिस्टको खुट्टामा पुग्यो, तीनै तहको निर्वाचनबाट ।
जसरी चार वर्षमा विश्वकप हुन्छ, त्यसैगरी पाँच वर्षमा हुन्छ निर्वाचन । धेरै समय सत्ताको स्वाद चाखेको कांग्रेसका लागि यो समय निकै पट्यारलाग्दो हुनेछ । आफ्नै अगाडि कम्युनिस्टहरूले सत्ताको स्वाद चाखेर जिब्रो पड्काएको केवल स्रोता मात्र हुनेछ, कांग्रेस ।
बुधबार त्यही क्रममा रामबहादुर थापा 'बादल'को मुुखबाट सत्ताको स्वादको जिब्रोको आवाज सुन्यो, कांग्रेसले । अब उसलाई यस्तो सुन्नका लागि बानी पर्नुको विकल्प छैन ।
तत्कालीन माओवादी नेता रामबहादुर थापा 'बादल'को मुखबाट सत्ताको स्वादको जिब्रोको आवाज सुन्यो, कांग्रेसले । अब उसलाई यस्तो सुन्नका लागि बानी पर्नुको विकल्प छैन ।
कांग्रेस जन्मँदै लोकतन्त्रको आवाज निकालेको पार्टी हो । बीचमा हल्काफुल्का हतियार उठाए पनि त्यो अहिलेका लागि ठूलो घटना होइन । तत्कालीन नेकपा मालेले कम्युनिस्ट विचारबाट हतियार उठाए पनि त्यो व्यक्तिहत्यामा सीमित रह्यो । त्यसपछिका दिनमा हतियारबाट विस्तारै शान्तिपूर्ण बाटो हुँदै एमाले भएर प्रकट भयो, नेपाली राजनीतिमा ।
तर, बुधबार संसदमा लोकतन्त्र र विधिको शासनको उपदेश दिने गृहमन्त्री लोकतन्त्र र विधिको शासनविरुद्ध हतियार उठाएको पार्टी माओवादीको 'स्कुलिङ'बाट आएका हुन् ।
कांग्रेसको कार्यशैली जस्तोसुकै होस्, उसको मूल सिद्धान्त लोकतन्त्रबाट कहिल्यै विचलित देखिएन । २०१५ सालको पहिलो निर्वाचनमा दुई तिहाइ ल्याएको कांग्रेसले राजा महेन्द्रको तानाशाही सोच र आफ्नै शैलीका कारण सत्ता गुमायो । तर, राजा महेन्द्रको कदमलाई लोकतान्त्रिक भनेन ।
तत्कालीन राजाको कदमलाई त्यतिबेलाको नेकपाका महासचिव केशरजंग रायमाझीले समर्थन गरेपछि पार्टी विभाजित भयो । त्यतिबेलासम्म कम्युनिस्टहरूको लोकतन्त्रप्रतिको निष्ठा बलियो थिएन भन्न सकिन्छ । त्यसबेला राष्ट्रियता र प्रजातन्त्रको कुरा गर्दा महासचिव पुष्पलाल श्रेष्ठ नेतृत्वको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विभाजन हुन पुग्यो । कांग्रेसले भने आफ्नो कार्यशैली नराम्रो भए पनि लोकतन्त्र भन्न कहिल्यै छाडेन ।
कुनै बेला 'बादल'का लागि शेरबहादुर देउवा अमेरिका र तत्कालीन शाही नेपाली सेनाको 'नाइके' थिए । देउवाले भने बादललाई बेला-बेलामा शान्तिपूर्ण राजनीतिमा आउन आग्रह नगरेका पनि थिएनन् ।
'फ्ल्यास ब्याक'मा हेर्दा अहिले अचम्म लाग्न सक्छ । तिनै बादल कांग्रेसविरुद्ध निषेधित क्षेत्र घोषणा गर्दैछन् । अनि, कांग्रेस त्यसविरुद्ध आन्दोलन गर्दैछ । जुलुसमा बादलको लाठी कांग्रेसको पिठ्युँमा बज्रिन्छ । अनि, संसदमा बादल भन्छन्, 'बेलायत र भारतमा जता पायो त्यता विरोध प्रदर्शन गर्न पाइँदैन, तपाईंहरूले नियम, कानुन मान्नु पर्दैन ?'
कम्युनिस्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा अवतरण गराउने मुख्य जश कांग्रेसलाई नै जान्छ, चाहे त्यो झापा आन्दोलनको राप र तापबाट आएको एमाले होस् या १० वर्षे सशस्त्र विद्रोहबाट आएको माओवादी नै ।
संयोग यस्तो पर्यो, कांग्रेसले नै प्रजातान्त्रिक व्यवस्थामा ल्याएका कम्युनिस्टहरू अहिले सम्भवतः विश्वमै पहिलो पटक संसदीय व्यवस्थाको नेतृत्व गरिरहेका छन् । सशस्त्र विद्रोहमा कांग्रेसलाई गाउँ-गाउँबाट लखेट्न कसर बाँकी नराखेका तत्कालीन माओवादी नेता बादल अहिले त्यही पार्टीलाई लोकतन्त्र र विधिको शासनको पाठ पढाइरहेका छन् । यसैलाई भन्छन्, कुमालेको चक्र सधैं एकैतिर मात्र घुमिरहँदैन ।
यसको अर्को आयाम पनि छ । विगतमा माओवादीको आक्रमणबाट बचाउन सबै जिल्ला सदरमुकाम र मुख्य शहरहरूमा कर्फ्यू लगाउने कांग्रेसले अहिले त्यतिबेलाका विद्रोही नेता बादलको नेतृत्वमा रहेको गृह प्रशासनले घोषणा गरेको निषेधित क्षेत्रको सामना गरिरहेको छ । निषेधित क्षेत्र तोक्नु भनेको एक प्रकारले आन्दोलनको माहोल सिर्जना गर्नु पनि हो । र, कांग्रेस त्यही निषेधित क्षेत्रको निहुँ जोडेर आन्दोलित भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४