लाहुर जाने रेलैमा
जाउँ भो माइली सररर...
यो गीत सात महिना अगाडि कोरेका थिए, गायक प्रकाश दुतराजले। जन्मथलो म्याग्दी अर्मोनको आफ्नै घरको बार्दलीमा बसेर यो गीतको हरफ गुनगनाइरहँदा उनका बाले घर नजिकै बेरुलो(आँखाफोर)को घाँस झार्दै थिए।
बाले खासमा प्रकाशलाई घाँस झार्न भनेका थिए, तर प्रकाशको गीतको गुनगुन नसकिएपछि बा चुपचाप आफैँ घाँस झार्न लागे। बाले घाँस झारेको आवाज र बाल्यकालमा उनले पढेको स्कुलबाट मागेर ल्याएको हारमोनियको आवाज बराबर सुनिएको उनी सम्झिन्छन्, ‘बहकिने त हो मन, कताकता बहकियो बहकियो, हैन।’
बहकिएर उनले त्यो दिन तीनवटा गीत कोरेका थिए। भाका बनाए तर उनैलाई चित्त बुझेन। चित्त नबुझ्नुको कारण थियो अघिल्लो गीत– घर कता पर्यो बैनीको। उनको संगीतिक यात्रामा सबैभन्दा बढी दर्शकले हेरिदिएको गीत थियो, यो। गीतको सफलतापछि उनी अर्को गीतमा गम्भीर मात्रै थिएनन् निक्कै डराए पनि। घर कता पर्यो बैनीको गीतभन्दा राम्रो बनाउने सोंचले उनले तीनवटा गीतलाई ‘मर्ज’ गरेर एउटा गीत बनाए। जुन गीत नसोचेको भाइरल भइदियो।
चौतारीमा पिपल छायाँ
तिमलाई दिने माया
मेरो मनैभरी छ।
लाहुर जाने रेलैमा
जाम भो माइली सरर...
जीवनमा अझै रेल चढेका छैनन् उनी। तर, दार्जिलिङको छुकछुके रेल हेर्ने अवसरचाहीँ पाएका थिए, स्कुले जीवनमा। कक्षा दशमा पढ्दा स्कुलको शैक्षिक भ्रमणमा उनले दार्जिलिङ जाने अवसर पाएका थिए। त्यहाँ देखेका थिए, सानो छुकछुके रेल। देखेको रेलले भन्दा पनि सुनेको रेलले यो गीत बन्न सघाएको बताउँछन्, ‘गाउँघरमा लाहुरेहरुले सुनाउने रेलको कथा निकै घतलाग्दो हुन्थ्यो। त्यो बिम्ब गहिरोगरी बसेको छ।’
गाउँ घरमा एसएलसी (एसईई) दिएपछि युवाहरुको दुई लक्ष्य हुथ्यो, पास भए उच्च शिक्षा पढ्न सहर झर्ने, फेल भए लाहुरे जाने(अहिलेको विदेश)। उनलाई भने विदेश जानुपर्ने रहर र दबाब उस्तैउस्तै थियो।
अब के गर्छस् त? हुर्किएको छोरालाई घरदेखि गाउँभरिकाले सोधिनै रहन्थे। गीतसंगीतमा लाग्छु भन्न सकेनन् उनले ती दिनहरुमा। ‘सांगीतिक क्षेत्रमा केही गर्छु भनेर अहिले पनि भन्न सक्दिनँ,’ उनले भने।
गीतले मौलिक भाका, मौलिक शब्द र गाउँघरको झल्को मात्रै दिएको छैन, चेलिबेटी बेचबिखनविरुद्धको कथा पनि उठाएको छ।
लाहुर जाने रेलैमा बोलको गीत बन्नुमा साथीहरुको सहयोग र निरन्तरको प्रयास मान्छन्। जाम भो माइलीसम्म आइपुग्दा सांगीतिक क्षेत्रमा ११ वर्ष बितेको पत्तै पाएनन। गीतसंगीतिको नसामा परेर उनले विदेश जान मात्रै बिर्सिएनन् बाको केही लाख पैसा पनि सकिदिए। उनको संघर्षको कथा भने ११ वर्ष अर्थात २०६७ को एक हिउँदमा फर्किनुपर्छ।
बालापानदेखि गीत गुनगुनाउने प्रकाश बेनी बजारतिर सानोतिनो काम गर्दै स्कुल पढ्थे। स्कुल जाँदा आँउदा गीत गुनगुनाउँदै लेख्दै गर्थे। एकछिन गीत कोरेर भाका बनाइहाले- ‘सिमसिम पर्यो पानी, पिरती त लाम भने होकी होइन जुग जानी...’
आफैँलाई चित्त बुझे पनि रेडियो एफएमहरुमा बज्दैन्थ्यो रेकर्ड नगरी। रहर गरेर मात्रै पनि गीत नबन्ने। गीत बनाउन रेकर्ड गर्ने सोंच बनाए तर पैसाको समस्या उस्तै थियो। अलिअलि आफूले अलिअलि साथीहरुको साथ सहयोगबाट जुटाएको पैसा बोकेर उनी काठमाडौं आए। गीत रेकर्ड गरी ‘सीआरबीटी’, ‘पीआरबिटी’का नम्बर लिई गाउँ फर्किएका प्रकाश गाउँघरमा राम्रै गायक भइहाले।
प्रकाशले गीत गाएको सुनेर केही साथीहरु हाँसेर जिस्काउँथे। घरकाले पत्याउँथेनन्। ‘लाको बानी कहीँ नजानी’ भनेजस्तै स्कुलमा पनि उनले गीतसंगीत रुचाउनेसँग संगत गर्न थाले। गीत सुन्नेभन्दा पनि हेर्ने जमना आएको देखेर उनले ‘सिमसिम पर्यो पानी’लाई भिडियो बनाउने सोचले पैसाका लागि साथीहरु गुहारे। २०७३ सालमा भिडियो पनि बनाइ छाडे तर गीत चलेन।
हरेक अभिभावकले आफ्नो सन्तानले आर्थिक प्रगति गरेको हेर्नं चाहन्छन्। उनलाई पनि घरबाट निरन्तर विदेश जाने दबाब आइरह्यो। उनको मनले भने गीतसंगीततिर लाग्न दबाब दियो। यही लहरमा उनले ‘बैनी झ्यालैमा’,‘किन चल्छ बतासे हुरी’, ‘फूल लाउँथे शिरमा’, ‘तिरिरि मुरली बज्यो तारे भीरमा’, ‘आरने’, ‘टोपी मैलो भो’, ‘सोल्टी रोइला गरम्ला’, ‘कान्छी’मा पुगेर उनले आफ्नै नामको युट्युब च्यानल पनि खोले। जब ‘घर कता हो बैनी’ गीतले करोड भ्युज नाघ्यो उनी हौसिए।
यही हौसाला बोकेर उनले जाम भो माइली सररर बोलको गीतलाई सात महिना अगाडि रेकर्ड गराए। अनि भिडियो बनाउने सुरमा कस्सिए।
पातलो ज्यान होचो कद र नाक चुच्चो भएका प्रकाशले अभिनय गरौंला सोचेका थिएनन्। चलनचल्तीका मोडलहरुमा उनी कही फिट देखिन्नन्। तर लाहुर जाने रेलैमा गीतको म्युजिक भिडियोमा उनी फिट भइदिए। गीतको भिडियोमा उनको भूमिकाले लोभ्याउँछ। माझीको भूमिकामा देखिएका प्रकाशले अति सामान्य मानिसको प्रतिनिधित्व गर्छन्।
अग्लो कद, सुगठित शरीर, उज्यालो अनुहारको युवक मात्रै मोडलिङमा फिट हुन्छन् भन्ने मान्यतालाई उनले तोडिदिएका छन्। गीतको शब्द, भिडियोको परिकल्पना गायक प्रकाश र गायिका शान्तीश्री परियारको स्वर तथा कलाकारद्वय प्रकाश र रोशनी कार्कीको अभिनयले गाउँघर झलझल सम्झाइदिन्छ। सामान्यभन्दा नि अति सामान्यलाई यो गीत आफ्नो गीतजस्तो लाग्छ। यस किसिमको गीत बन्नुको जसचाहीँ उनी आफ्नै गाउँघर र डाडापाखाकै प्रेरणा मान्छन्।
अब के गर्छस् त? हुर्किएको छोरालाई घरदेखि गाउँभरिकाले सोधिनै रहन्थे। गीतसंगीतमा लाग्छु भन्न सकेनन् उनले ती दिनहरुमा। ‘सांगीतिक क्षेत्रमा केही गर्छु भनेर अहिले पनि भन्न सक्दिनँ,’ उनले भने।
उनी गीतमा केही न केही सन्देश दिने कथा पस्किन्छन्।
अहो गाउँमा लाहुरे आछ भन्छन्, कतै मेरो माइली पनि...।
एउटा पातलो लुखुरे युवक माझीले गाउँमा लाहुरे पसेपछि आफ्नी प्रेमिका सोच्दै चिन्ता गर्छ। गाउँघरका सोझी माइलीहरु फकाएर लैजाने लाहुरे गाउँमा पसेको छ। यता लाहुरेसँग जाने सपना देखेकी माइलीहरु भने सुखको खोजीमा लाहुरेसँग सुटुक्क भागेर जाने हिम्मत राख्छन्। लाहुरेको भेषमा आएर सोझी माइलीहरुलाई चमेलीको तेल, एकजोर लुगा र मिठाइको लोभमा लैजाने बाचा गर्छन्। सोझा गरिब माझीहरु आफूले मन पराएको युवती रोक्न लाहुर जाने रेलमा जाम भन्दैछन्। देवीदेउराली पुकार्छन्। जब लाहुरे भेषमा आएको युवक चेलीबेटी बेच्ने दलाली हो भन्ने माइलीले थाहा पाउँछे पछुतोमा परेर आत्माहत्या गर्न खोज्छे। माझी युवकले बचाउँछ। भौतिक सुख दिन नसके पनि मायाप्रेमका खातिर माइली माझीको प्रेममा समर्पित हुन्छिन्।
गीतले मौलिक भाका, मौलिक शब्द र गाउँघरको झल्को मात्रै दिएको छैन, चेलिबेटी बेचबिखनविरुद्धको कथा पनि उठाएको छ।
गीत यति साह्रै हिट होला भन्ने लागेको थिएन, गायक प्रकाशलाई। अझ नयाँ युवापुस्ताले मन पराइदिएकोमा छक्क परेका छन्, उनी। केही नयाँ गर्ने हुटहुटीले उनलाई गीतसंगीतमा लाग्न हौसाइरह्यो। गीतसंगीतमै भविष्य बनाउन नसके पनि यसलाई चटक्कै छोड्न नसक्ने भएका छन्, उनी। भन्छन्, ‘अबचाहिँ यो क्षेत्रबाट भाग्नु हुँदैन भन्ने लाग्छ।’
गीत हिट भएसँगै उनलाई स्टेज कार्यक्रमको निम्तो बाक्लिएको छ। उनी भर्खरै धौलागिरी काखमा रहेको लेकको गाउँमा सांगितिक कार्यक्रममा पुगेका थिए। आफूलाई कसरी चिनाउनु हुन्छभन्दा उनी अकमक्क परे। गायक कलाकार हुँ भनेर चिनाउन उनी डराउछन्। भन्छन्, ‘अन्तर आत्माबाटभन्दा गायक कलाकार हुँ भन्ने लाग्दैन।’
कसै न कसैको सहयोग भयो भने आधा समस्या समाधान हुन्छ। प्रकाशले त्यस्ता सहयोगी हात नखोजेका होइनन् तर उनको हात समाएर कसैले डोराइदिएनन्। आफ्नै संघर्षको सिलसिलामा खारिएर जाम भो माइलीसम्म पुगेका हुन्, उनी।
उमेरको तीन दशक पूरा नभएका प्रकाश आफूलाई गीतसंगीतको विद्यार्थी ठान्छन्। सुरुवाततिर प्रकाशले आफ्नै सम्झनाका लागि गीत बनाएका थिए। अहिले दुनियाँले सम्झिने गीत बनाउने प्रयासमा छन्।
सम्झिनेलाई होला के दिने
हेर मुटु धड्किने
तिम्रै नाम लिएर
लाहुर जाने रेलैमा
जाम भो माइली सररर...।