मंगलबार, असार ३०, २०८३

सदर चिडियाखाना आधुनिक बन्दै : डिजिटल प्रविधि बनाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ललितपुर-राणाकालमा निर्माण भएको जाउलाखेलस्थित सदर चिडियाखाना आधुनिक बन्दैछ ।
 
चिडियाखानालाई भौतिक सुधारसँगै सूचना प्रणालीको प्रयोगमार्फत आधुनिक बनाउने तयारी व्यवस्थापनको छ । 
 
चिडियाखानाको जनावरका खोर, भान्सा, कार्यालयलगायतका भवन सबै सुधारका क्रममा रहेको सदर चिडियाखानाका प्रमुख डा. चिरञ्जीवी खरेलले जानकारी दिए । उनका अनुसार ६० प्रतिशत पुराना संरचनामा पुनःनिर्माण भइसकेका छन् । 

राणाकालीन संरचना सुधार भएर नयाँ बन्ने क्रममा रहेको छ । राणाकालमा बनेका पुराना खोरमध्ये अहिले भालुको खोर मात्रै बन्न बाँकी छ । 'अब भालुको खोर बनाउन बाँकी छ,' प्रमुख खरेलले भने, 'त्यो पनि हामीले पहिले यस्तो खोर थियो भन्ने आगन्तुकलाई देखाउन पुर्ननिर्माण नगरी राखिएको हो ।'
 
चिडियाखानामा सूचना प्रविधि डिजिटल प्रविधिमा लैजाने तयारी भइरहेको छ । आगन्तुकले चिडियाखाना छिर्नासाथ भित्रका बारेमा जानकारी पाउन् भन्नका लागि टिकट काउन्टर नजिकै डिस्प्ले राख्न लागिएको छ । आगामी वर्षदेखि सञ्चालनमा ल्याउने गरी योजना अघि बढेको हो ।
 
नक्साका आधारमा आगन्तुक आफूले हेर्न चाहेको जनावरको खोरमा पुग्न सक्ने व्यवस्थासहित चिडियाखानालाई डिजिटल मैत्री बनाइने खरेलले बताए । 
 

अहिले चिडियाखानामा खोर वरपर फुटपाथ निर्माणको टेण्डर प्रक्रिया भइसकेको छ । बाघ खोरदेखि टिकट काउण्टरसम्म ढुंगा छाप्न लागिएको छ । यस ठाउँमा पहिले इँटा छापिएको थियो । 
 
जनावरका लागि खाना बन्ने मुख्य भान्सा फराकिलो बनाउने काम भइरहेको सहायक क्युरेट गणेश कोइरालाले जानकारी दिए । उनका अनुसार नयाँ भान्सा आधुनिक छ । ठूलो हुनाले खाना राख्न र पकाउन पुरानो भान्साजस्तो समस्या छैन ।

आगन्तुकका लागि शौचालय बनिरहेको भन्दै कोइरालाले आगन्तुकको सहजतालाई ध्यानमा राख्दै अपांगतामैत्री खालको शौचालय बनाइएको बताए । त्यस्तै दुई ठाउँमा खानेपानीको व्यवस्था मिलाइएको छ । 

चिडियाखानाले भित्र छिर्नासाथ आगन्तुकले सम्पूर्ण जानकारी एक ठाउँमा पाउन सकून् भन्नका लागि 'सूचना कक्ष' निर्माणको योजना बनाइरहेको छ । चिडियाखाना र त्यससँग सम्बन्धित विभिन्न जानकारी आगन्तुकले कक्षमा कम्प्युटर थिचेर आफैँले थाहा पाउन सक्छन् । 

चराको खोर निर्माणका लागि टेण्डर आह्वान भएको छ । अहिलेभन्दा ठूलो र फराकिलो ठाउँ बनाउन लागिएको हो । त्यस्तै 'पुतलीको घर' निर्माणको योजना बन्दैछ । पुतलीको घरमा आगन्तुक भित्र पस्न पाउँछन् । 

विसं १९८९ मा शुरु भएको चिडियाखानाको व्यवस्थापन २२ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले गरिरहेको छ । ३० वर्षका लागि संरक्षण गर्ने गरेर सम्झौता भएको थियो । चिडियाखानामा वार्षिक झण्डै ११ लाख आगन्तुक आइरहेका छन् । चिडियाखानामा एकसय २४ प्रजातिका आठ सय ३७ वटा जनावर छन् । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।