काठमाडौं- अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दाबी गरेका छन्।
पार्टी निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट तथा साहसबाट मात्रै सम्भव भएको बताएका हुन्।
नेता शर्माले अध्यक्ष प्रचण्ड र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको सच्याइलाई स्थापित गर्ने काममा लाग्न पनि पार्टी निकट प्रेस सेन्टर नेपालका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले त्यसो गर्दामात्रै जनता र राष्ट्रप्रति न्याय गरेको ठहरिने बताएका हुन्।
नेता शर्माले मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्नका लागि पनि सञ्चार माध्यामहरूले परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरूलाई स्थापित गर्दै लैजान आवश्यक रहेको बताए। उनले भने, ‘सत्य के हो? त्यसलाई स्थापित गर्नुस्। जे सत्य हो, त्यही कुरा स्थापित गरियोभने हाम्रो भूमिका पुग्छ जस्तो लाग्छ। आजको सत्य के हो? नेपाली राजनीतिको सत्य के हो? नेपाली समाजको सत्य के हो? आजको हाम्रो समग्र अवस्था के हो? भन्ने कुरालाई स्थापित गर्नुस्', उनले भने।
सत्यलाई स्थापित गर्दा त्यहाँ आइपुग्ने पात्रलाई हेर्नसमेत आवश्यक रहेको उनले बताए। सत्य कुरा स्थापित गर्न लाग्दा राष्ट्र र जनताप्रति न्याय हुने उनको धारणा छ।
'नेपाली राजनीतिको पछिल्लो विकासक्रममा हामी दुई दशक, तीन दशकयता आइपुग्दाखेरी परिवर्तनको एउटा ठूलो आन्दोलन जनयुद्ध, जनआन्दोलनको एउटा प्रक्रियाबाट नेपाललाई सामन्तवादबाट मुक्त गर्दै समावेशी लोकतन्त्र र सुदृढ प्रजातन्त्रमा छौं। यो समावेशी लोकतन्त्र हो। समावेशी लोकतन्त्रसम्म ल्याई पुर्याउनका लागि के–के सत्य हुन? यो विचार कसले पैदा गर्यो, यो अभियान कसेले थालनी गर्यो? यो आँट कसले गर्यो? भन्ने कुरा स्वतः स्पष्ट छ', उनले भने।
उनले नेकपा माओवादी केन्द्रले गरेको यो आटलाई जनतामाझमा लैजान आवश्यक रहेको धारणा राखेका छन्। अर्थमन्त्री शर्माले जनतालाई सही सूचना दिने र सरकारले गरेका कामहरूको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आबद्ध संघ, संगठनहरूले जोड दिनुपर्ने जरुरी रहेको बताए।