रोल्पा- सम्बन्धित निकायको बेवास्ताका कारण रोल्पाको बडाचौर विमानस्थल अलपत्र बनेको छ। संरक्षणमा सरकारी उदासिनताले विमानस्थल गौचरण र खेल मैदानका रुपमा परिणत भएको हो।
रोल्पाको लुङ्ग्री गाउँपालिका वडाचौरस्थित सो विमानस्थल राजनीतिक व्यवस्था फेरिएसँगै ओझेलमा परेको छ। वि.सं. २०४६ सम्म सञ्चालनमा ल्याइएको सो विमानस्थल पछिल्लो समय ओझेलमा पर्दै गएको छ।
तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री बालाराम घर्तीमगरको पहलमा २०३६ सालदेखि सञ्चालनमा ल्याइएको सो विमानस्थलबाट काठमाडौं, पोखराजस्ता सहरमा उडान हुने गर्दथ्यो। वि.सं. २०४८ पछि उडान स्थगित भएको सो विमानस्थल २०५२ सालदेखि सुरु भएको सशस्त्रद्वन्द्वका बेला थप थला परेको स्थानीयवासीको भनाइ छ।
तत्कालीन नेकपा माओवादीले सशस्त्र द्वन्द्वका बेला विमानस्थलमा भएका संरचना भत्काएपछि यो ओझलमा परेको स्थानीयवासी अम्मरबहादुर थापाले बताए। विमानस्थल पुनःसञ्चालनका लागि नेतृत्व गर्दै आउनुभएका थापाका अनुसार आफूहरूलाई दमन गर्न सेनाले हेलिकप्टर ल्याण्ड गर्न प्रयोग गर्ने त्रासमा माओवादीले विमान स्थलभर बङ्कर खनेका थिए।
रोल्पाको व्यापारिक नाका सुलिचौर बजारबाट करिब १० किलोमिटर दूरीमा रहेको सो विमानस्थललाई सरकारले बेवास्ता गर्दै आएको छ। विमानस्थल सञ्चालनका लागि पटक पटक सर्वदलीय र सर्वपक्षीयरुपमा सिंहदरबार पुगे पनि कसैले सुनेनन् स्थानीयवासी योगेन्द्र जिसीको भनाइ छ। उनले भने, 'मन्त्रीदेखि प्रधानमन्त्री र शक्तिमा रहेका सबै नेताले गर्छौं भन्छन् तर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन।' पटकपटकको दबाबले सामान्य घेराबारको काम भए पनि अहिलेसम्म सञ्चालनका लागि ठोस कार्य हुन नसकेको उनको गुनासो छ।
रोल्पाको ऐतिहासिक एकमात्र विमानस्थल खेलमैदान र गौचरणमा परिणत भएकोमा स्थानीयवासी चिन्तित छन्। गौचरण र खेलमैदानमा रुपान्तरण भएसँगै यसको अस्तित्व समाप्त हुने देखिन्छ स्थानीयवासी मिलन रोकाको भनाइ छ। 'गाईबाख्रा चराउनुका साथै फुटबल खेलका लागि विमानस्थल प्रयोग हुनु राम्रो होइन, यसको संरक्षणसँगै पुनःसञ्चालनमा जोड दिनुपर्छ', उनले भने।
पर्यटकीय दृष्टीकोणले वडाचौर विमानस्थल महत्वपूर्ण मानिन्छ। वडाचौरबाट महत्वपूर्ण धार्मिकस्थल जलजला, स्वर्गद्वारी र ढोरपाटन पर्यटकीय क्षेत्र नजिकको दूरीमा पर्दछन्। रोल्पाको युद्धपर्यटन प्रवद्र्धनमा समेत वडाचौर विमानस्थलले सहयोग गर्ने बताइन्छ।
हाल जलजला, स्वर्गद्वारी र ढोरपाटन पुग्ने पर्यटक गाडी तथा पैदलमार्गबाट पुग्ने गरेका छन्। अप्ठ्यारो सडकमार्गका कारण उनीहरु असहज यात्रा गर्न बाध्य हुने गरेका छन्। विमानस्थल सञ्चालनले रोल्पा, प्यूठान, ढोरपाटन क्षेत्र र रुकुमपूर्वका जनतालाई समेत सहज हुने स्थानीयवासीको भनाइ छ।
- रासस