काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रिय परीक्षा बोर्ड चुस्त हुनपर्ने बताएका छन्। शुक्रबार अनुगमनका गर्न सानोठिमी पुगेका मन्त्री पौडेलले परीक्षा अगावै प्रश्नपत्र बाहिरिने गुनासो आएको भन्दै संवेदनशील बन्न कर्मचारीलाई आग्रह गरेका हुन्।
'परीक्षा हुनुअगावै प्रश्नपत्र बाहिरिने गुनासो छ,’ मन्त्री पौडेलले भने, 'यदि त्यस्तो हो भने राष्ट्रसेवक कर्मचारी संवेदनशील हुनुस्।’ परीक्षा बोर्डमा भएका समस्याहरुको टिपोर्ट गरी समाधानका उपायसहित मन्त्रालयमा आउन मन्त्रीले कर्मचारीलाई निर्देशनसमेत दिएका थिए।
'जनशक्ति, भौतिक पूर्वाधार निर्माण र कमजोर आईटी पूर्वाधारलगायतका समस्या छन्,’ उनले भने, ‘यी समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा पनि ल्याउनुस्, छलफल गरेर समाधान गरौं।’
कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई भएको बताउँदै मन्त्रीले प्राविधिक कुरा मिलाएर नतिजा प्रकाशनमा गम्भीर बन्न निर्देशन दिएका थिए। कर्मचारीबीच समन्वय गरी जनताले देखिने गरी कार्यसम्पादन गर्न उनको आग्रह छ।
जनक शिक्षा सामग्री केन्द्रको समेत निरीक्षण गरेका मन्त्री पौडेलले समयमै विद्यार्थीको हातमा किताब पुर्याउन निर्देशन दिए। 'पुराना मेसिनहरुको तथ्यांक संकलन गरी मन्त्रालयमा ल्याउन निर्देशन दिँदै उनले भने, ‘कहिलेका मेसिन हुन् त्यसको तथ्यांक ल्याउनुस्। तथ्यांकपछि नयाँ मेसिन खरिदका लागि अर्थ मन्त्रालयलाई भनौँला।’