काठमाडौं- ‘अन्डरवेयरमा बेरेर सुन भित्रिँदैछ’ भन्ने सूचना पाएपछि केही दिनयता विदेशबाट फर्किने व्यक्तिहरूमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरीले निरन्तर निगरानी गरिरहेको थियो।
शुक्रबार बिहान करिब ९:४५ बजे त्रिभुवन विमानस्थलमा दुबईबाट नेपाल एयरलाइन्सको जहाज अवतरण भयो। यो विमानमार्फत् त्यसरी नै सुन भित्रिएको हुनसक्ने विशेष सूचना प्रहरीसम्म आइपुगेको थियो। त्यसैले विमानस्थल प्रहरीहरु पार्किङ क्षेत्रमा तैनाथ अवस्थामा थिए।
करिब साढे १० बजेतिर एक्सरे मेसिनको सूरक्षा जाँच पार गरेर दुई व्यक्तिहरु बाहिर शंकास्पद अवस्थामा बाहिर भेटिए। उनीहरु थिए, दाङका सीताराम चौधरी र सिरहाका सरोज सहनी। पार्किङस्थलसम्म आइपुग्दा उनीहरुको हिँडाइ र व्यवहार अरुभन्दा फरक र असहज देखियो।
प्रहरीलाई शंका लाग्यो। तत्काल उनीहरुको खानतलासी गरियो। खानतलासीका क्रममा उनीहरुको भित्री वस्त्र (कट्टु)भित्र लेदो अवस्थामा पँहेलो वस्तु फेला पर्यो।
प्रहरीले प्रश्न गर्यो, ‘के हो यो?’
जवाफमा उनीहरुले नै सहजै स्वीकारे, ‘सुन।’
करिब दुई किलो रहेको उक्त वस्तु प्लाष्टिकमा लेदो बनाएर हालिएको अवस्थामा थियो। ‘प्रारम्भिक अनुसन्धानमा लगभग सुन नै हो भन्ने 'कन्फर्म' छ, त्यही पनि हो कि होइन भनेर कन्फर्म गर्न परीक्षणका भन्सार कार्यालय पठाएका छौं, त्यसपछि मात्रै प्रेस विज्ञप्ति निकाल्छौं,’ नेपाल समयसँग विमानस्थल प्रहरीका एसएसपी राजेशनाथ बास्तोलाले भने।
‘उनीहरुले अन्डरवेयरभित्र त्यो पनि कपडाको सेनिटेरी प्याडजस्तो बनाएर बनाएर ल्याएका रहेछन्, दुवैले प्रारम्भिक सोधपुछका क्रममा सुन रहेको स्वीकारेका छन्। परीक्षणको परिणाम आएपछि सबै प्रष्ट हुन्छ,’ एसएसपी बास्तोलाले जानकारी दिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका दुवै वैदेशिक रोजगारीबाट फर्किएको खुलेको छ। प्रारम्भिक सोधपुछमा दुवैले यो सुन आफूहरुको नरहेको बताएका छन्। ‘एकजना भारतीयको अनुरोधमा लिएर आएको उनीहरुले बताएका छन्,’ एसएसपी बास्तोला भन्छन्, ‘तर, वास्तविकता के हो, हामी अनुसन्धानकै क्रममा छौं। चाँडै सबै क्लियर गर्नेछौं।’
यसअघि पनि खाडी मुलुकबाट घर फर्किने नेपाली कामदारको साथमा सुन भेटिएका उदाहरण छन्। सुन तस्करको आर्थिक प्रलोभनमा परेर उनीहरुले तस्करले भनेझै सुन बोकेर आउने गरेको पाइएका छन्। यो घटनामा पनि त्यही शैलीमा कामदारको प्रयोग भएको हुनसक्ने प्रहरीको प्रारम्भिक आशंका छ।
विमानस्थलमा एक्सरे मेसिनको सुरक्षा जाँच नै पार गरेर पटकपटक सुन भित्रिने गरेका छन्। यसपटक पनि विमानस्थलबाट बाहिरिएपछि पार्किङस्थलमा सुन फेला परेको हो। सूरक्षा जाँच नै पार गरेर कसरी बाहिरियो, यो पाटोमा पनि अनुसन्धान भइरहेको बुझिएको छ।