काठमाडौं- तेस्रो डिसहोम १२खरी कथा लेखन प्रतियोगितामा मनोजादित्य न्यौपानेको कथा ‘अन्तिम अतिथि’ पहिलो भएको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा न्यौपानेको कथा प्रथम घोषित भएको हो।
यस्तै, स्वप्निल नीरवको ‘बुढो घर’ दोस्रो भएको छ भने तेस्रो स्थान ‘मुडुली’ कथाका लागि रेणुका जिसीले प्राप्त गरेकी छन्। प्रथम, द्वितीय र तृतीय कथालाई कार्यक्रमका प्रमुख अतिथि रहेका रक्षामन्त्री मीनेन्द्र रिजालले क्रमशः एक लाख, साठी हजार र चालिस हजार रुपैयाँसहित सम्मान गरेका थिए।
कार्यक्रममा विजेता घोषणासँगै प्रतिस्पर्धामा आएका कथाहरूमध्ये उत्कृष्ट २५ कथाको सँगालो ‘उत्कृष्ट कथा-२०७८’ को लोकापर्ण पनि गरिएको थियो। उत्कृष्ट २२ कथाकार पनि प्रमाणपत्रसहित पाँच/पाँच हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भएका थिए।
प्रतियोगितामा प्राप्त ४०० बढी कथाहरूमध्येबाट ५० वटा कथा चयन गरी बाह्य निर्णायक समितिलाई बुझाइएको थियो। उक्त ५० कथाहरू मध्येबाट समितिले उत्कृष्ट २५ कथासहित प्रथम, द्वितीय र तृतीय घोषित गरेको थियो।
डिसहोम १२खरी कथा प्रतियोगिता–२०७८ को मुख्य प्रायोजकमा डिसहोम र प्रायोजकहरूमा नेपाल इन्भेस्टमेन्ट बैंक, अजोड इन्स्योरेन्स र नेपाल आयल निगम रहेका थिए।
१२खरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुईवटा मूल्यांकन समिति गठन गरेको थियो। बाह्य निर्णायकहरूमा वरिष्ठ आख्यानकार नारायण ढकाल संयोजक तथा समालोचक कुमारी लामा र कथाकार विवश पोखरेल सदस्य रहेका थिए। आन्तरिक समिति बाह्रखरीका कार्यकारी सम्पादक गोविन्द अधिकारीको संयोजकत्वमा रहेको थियो।
गत वर्ष असहज परिस्थितिका कारण ‘१२खरी उत्कृष्ट कथा–२०७७’ पुस्तकका रूपमा प्रकाशित गर्न नसकिएको र प्रकाशन गर्न बाँकी उक्त कथासंग्रह केही समयपछि प्रकाशित गरिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि रहेका रक्षामन्त्री डा. रिजालले समाज प्रतिबिम्बित गर्ने साहित्य सधैँ सार्वकालिक हुने बताएका थिए। समाज प्रतिबिम्बन गरेकै कारण मुनामदन खण्डकाव्य अझै पनि उत्तिकै लोकप्रिय रहेको उनको भनाइ थियो।
बाह्रखरीका कार्यकारी सम्पादक गोविन्द अधिकारीले कथा प्रतियोगिताको तेस्रो संस्करणमा आइपुग्दा गौरव महसुस भएको बताएका थिए।
यस वर्षका उत्कृष्ट २२ कथाकारहरूमा आन अच्युत, कमल नेपाल, डा. गोविन्दसिंह रावत, चन्द्र पन्जियार, जीवन खत्री, डीके विरही, तिलक राई, त्रिभुवनचन्द्र वाग्ले, बुद्धिराज पाण्डे, मनोहर पोखरेल, महेन्द्र उपाध्याय, मोद ढकाल, डा. राजु अधिकारी, वीरसिंह विश्वकर्मा, विशालबाबु बस्नेत, शारदा पराजुली, श्रेयज सुवेदी, सञ्जय भट्टराई, सपना अधिकारी, सरिता अर्याल, साजन केसी र हरिबोल काफ्ले छन्।
कथा प्रतियोगिताका लागि देश–विदेशबाट प्राप्त कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाहरूको सँगालो ‘१२खरी उत्कृष्ट कथा–२०७८’ को सम्पादन साहित्यकार राजेन्द्र पराजुलीले गरेका हुन्।