काठमाडौं– सर्वोच्च अदालतले बिहीबार अदालत परिसरमा नेपाल बार एसोसियसनद्वारा आयोजित विरोध कार्यक्रममा भएको अप्रिय घटनाप्रति दुःख व्यक्त गरेको छ। आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै सर्वोच्चले उक्त घटनाप्रति दु:ख व्यक्त गरेको हो।
त्यस प्रकारको अवस्था आउन नदिन अदालत प्रशासन सदैव गम्भीर तथा संवेदनशील रहेको र सम्बद्ध सबैबाट आवश्यक संयमता, सहयोग र समन्वय प्राप्त हुने विश्वाससमेत सर्वोच्चले विज्ञप्तिमार्फत व्यक्त गरेको छ।
बिहीबार दिउँसो आन्दोलनरत कानुन व्यवसायीहरुमाथि नेपाल प्रहरीले लाठी प्रहार गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरु प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण, कपिलचन्द्र पोखरेल लगायत घाइते भएका थिए।