काठमाडौं– योग गुरु रामदेवले प्रवर्द्धन गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी उद्घाटन कार्यक्रममा शुक्रबार प्रधानमन्त्री लगायत ठूला राजनीतिक दलका सबैजसो शीर्ष नेताहरु पुगे।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेसका नेताहरु, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवा)दीका अध्यक्ष माधवकुमार नेपालसहित विभिन्न दलका नेताहरु सहभागी थिए। नेकपा (एमाले) अध्यक्ष केपी ओली भने कार्यक्रममा देखिएनन्।
राजधानीको मण्डीखाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री देउवाले दुई टेलिभिजनको उद्घाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले योगको महत्व संसारभर रहेको बताए। संसारमा दुष्प्रभाव नभएको एउटा मात्र औषधि आयुर्वेद भएको उनको भनाइ थियो। प्रधानमन्त्री देउवाले योग गुरु रामदेव र आचार्य बालकृष्णले नेपाल र नेपालीहरुको नाम उचाइमा लान र नेपाललाई विश्वसामु चिनाउनका लागि योगदान दिएको बताए।
प्रधानमन्त्री देउवाले सरकारले नेपालमा आयुर्वेदिक औषधि बनाउनका लागि आवश्यक पर्ने जग्गादेखि अन्य कुराहरुको उपलब्ध गराउने आश्वासन पनि दिए। योग आयुर्वेदका लागि गरेको अथक प्रयासका लागि रामदेवलाई नेपाल सरकारका तर्फबाट धन्यवाद दिएका प्रधानमन्त्री देउवाले रामदेव र आचार्य बालकृष्णलाई नेपाल आइरहन अनुरोध गरे।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय योगगुरु रामदेव आफूजस्तै भएको टिप्पणी गरे। कार्यक्रममा प्रचण्डले रामदेवकै सामु आफ्नो तुलना उनीसँग गरेका हुन्।
रामदेव पनि वैज्ञानिक र आफूजस्तै क्रान्तिकारी भएको उनले बताए। आफूसँग निकटता बढ्दै जाँदा रामदेवप्रति हेर्ने आफ्नो दृष्टिकोण फेरिएको प्रचण्डले सुनाए। भने, ‘बाबा रामदेव नभेट्दा रुढीवादी, अलि परम्परावादी हुनुहुन्छ होला भन्ने थियो। भेटेर छलफल गर्दै जाँदा, कुराकानी गर्दै जाँदा वैज्ञानिक हुनुहुँदो रहेछ। मजस्तै क्रान्तिकारी हुनुहुँदो रहेछ। योगलाई नयाँ क्रान्ति बनाउनुभयो। योगका माध्यमबाट समाजलाई निरोगीतिर लैजाने नेतृत्व गर्नुभयो। उत्पादन वृद्धिको महाभियान सञ्चालन गर्न थाल्नुभयो।’
नेपाल हिमालको काखमा भएकाले जडीबुटीको भण्डार समेत भएकाले त्यसलाई पतन्जलीका माध्यमबाट प्रयोगमा ल्याउनुपर्ने प्रचण्डले बताए। प्रचण्डले योगगुरु रामदेव र आचार्य बालकृष्ण थ्री इन वान भएको बताए।
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले योग साधनाको छुट्टै महत्व भएको बताए। उनले योगको अभ्यास सबैले गरेमात्रै शरीर स्वस्थ हुने बताए। उनले पहिला आफू धेरै यज्ञ, महायज्ञमा जाँदा पलेँटी कसेर बस्न नसकेको पछि योगाभ्यासले नै सहज बनाएको सुनाए।
नेपालले भने, ‘योग र साधनाको बेग्लै महत्व छ। योगको अभ्यास हामी सबैले गर्नुपर्छ। स्वास्थ्यलाई राम्रो बनाउनका लागि पनि आवश्यक छ, ध्यान केन्द्रित गर्नका लागि पनि आवश्यक छ। प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालय, होमियोपेथिकको पनि व्यापक प्रयोग गरौँ। यसले मनमा शान्ति ल्याउँछ।’