काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा तीन जना चिकित्सक १२औं तहमा बढुवा भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा. श्यामसुन्दर यादव, डा भीमसिंह तिंकरी र गुणराज लोहनीलाई बढुवा गर्ने निर्णय गरेको हो।
सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका १२औँ तहका तीन पदका लागि ५ जनाको नाम सिफारिस गरेको थियो। सिफारिस समितिले पहिलो नम्बरमा बाँकेको भेरी अस्पतालका डा श्यामसुन्दर यादव, दोस्रो नम्बरमा व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिंकरीलाई राखेर सिफारिस गरेको थियो।
यस्तै सिफारिसको तेस्रो नम्बरमा पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा श्रीकृष्ण श्रेष्ठ, चौँथो नम्बरमा प्रसूतिगृहकी निर्देशक डा संगिता मिश्र र पाँचौ नम्बरमा मन्त्रालयको नीति योजना तथा अनुमगन महाशाखा प्रमुख डा गुणराज लोहनीलाई सिफारिस गरेको थियो। सरकारले तेस्रो र चौथो नम्बरमा सिफारिस भएकाले बढुवा नगरी सिफारिसको पाचौँ नम्बरमा परेका लोहनीलाई बढुवा गर्ने निर्णय गरेको हो।
१२औं तहका रिक्त तीन वटा पदका लागि २१ जनाले निवेदन दिएका थिए।