जनकपुरधाम- मिथिला क्षेत्रका प्रायजसो घरमा सुरिलो लोकभाकामा गीत सुन्न पाइन्छ। विवाहित र किशोरीले कात्तिक महिनाको सन्ध्याकालीन वातावरणलाई संगीतमय बनाइरहेका हुन्छन्। यी गीतमा दाजुभाइ-दिदीबहिनीको प्रेम झल्किएको हुन्छ। माटोबाट तयार पारिएका सामाचखेवाका आकृति घाममा सुकाई राती रातो ढाकीमा राखेर साँझ दियो बाली साथीहरुसँग मिलेर लोकभाका गाउँदै सामा खेलिन्छ यो पर्वमा।
मिथिलाका महिला तथा किशोरीहरु आ–आफ्नो ढाकी एक ठाउँमा राखी आफू चारैतिर वृत्ताकारमा बस्छन्, गीत गाउँदै ढाकीलाई दाहिने हातले अघि बढाउँदै बाँया हातले आफूतिर तान्छन्। आफ्ना दाजुभाइको श्रीवृद्धिको प्रशस्ती र कुरा काट्ने चुगलाप्रतिको घृणा दर्शाउने यो गीतलाई लिन सकिन्छ। गीत बिनाको सामाचकेवा पर्व अधुरो हुन्छ।
‘धान, धान, धान छई
भइया कोठी धान छई,
चुगला कोठी भूस्सा छई।
(मेरा दाजुभाइको कोठी (भकारी)मा धानैधान छ। चुगलाको भकारी भुसैभुसले भरिएको छ।)
पान, पान, पान छई,
भइया मुख पान छई,
चुगला मुख कोइला छई।
(मेरा दाजुभाइको मुखमा पानैपान छ। चुगलाको मुखमा कोइलैकोइला छ।)
चाउर, चाउर, चाउर छई,
भैया कोठी चाउर छई,
चुगला कोठी छाउर छई।’
(मेरा दाजुभाइको कोठीमा चामलैचामल छ। चुगलाको कोठीमा खरानी नै खरानी छ।)
बहिनीहरुले गीतकै माध्यमले आफ्नो दाजुभाइको वीरतालाई दर्शाउँछन्। लोकभाकामा लय हाले भाइको वीरता वर्णन गरिएको एक अंश:
वृन्दावनमे आगी लागै
कोइ ने मिझावे हे
हमर भइया फलना भैया
दौडी-दौडी मिझाबे हे..।
(वृन्दावनमा आगो लाग्यो, निभाउने कोही छैन। बहिनीलाई दाजुभाइमाथि विश्वास छ, उनी मात्र निभाउन सक्छन्।)
सामाचकेवामा दाजुभाइको प्रशंसा गरी चुगलालाई गाली गर्ने गीत गाएर बहिनीहरु मनोरञ्जन गर्छन्। गीतमा दाजुभाइको प्रशस्ती मात्र गरिँदैन, चुगलाप्रतिको घृणा पनि उतिकै प्रदर्शन गरिन्छ। गलत कुरा लगाएर आपसी द्वन्द्व निम्त्याउने चुडक (स्थानीय लोकभाषामा चुगला पनि भन्ने गरिन्छ) लाई घृणा गरिन्छ। यसरी कुरा लगाउने पात्रको जुगांलाई डढाउने गरिन्छ। बहिनीहरू मिलेर आगो लगाई डढाइदिन्छन्। चुगलालाई गरिएको गाली गीतको एक अंश यस्तो हुन्छ-
जहाँ मोरा बाबा बैसत तहाँ मोरा भैया बैसत
सात पण्डितवा बैसत तहाँ चुगिला चुगली लारए हे।
चुगिला तोरा कोन बानी अक बानी,
बक बानी चुगला गाढ़िसँ खसलै निछक बानी।
(जहाँ मेरो बाबा बस्छन् त्यहाँ मेरो भाई बस्छन्। सात पण्डित बस्ने ठाउँमा चुगलाचुगली लड्छन्। चुगला तिम्रो कस्तो यो बानी हो, तिम्रो यो खराब बानीकै कारण हामी गाली गर्छौँ, गालीले नै तिमी ढल्छौ।)
यो पर्वको वास्तविक नाम 'श्यामाचकेवा' रहेपनि लोकभाषामा यसलाई 'सामाचकेवा' भन्ने गरिन्छ। 'सामा' स्त्री पात्र हुन् भने 'चकेवा' पुरुष पात्र हुन्। दुईटैलाई चराको आकृतिको रुपमा माटोले बनाइएको हुन्छ।
सामाचकेवाका मूर्ति माटोले बनाइने भएकोले मैथिल महिलामा मूर्तिकलाको कौशलता देखिन्छ। यस्तो माटो समूह बनाएर नजिकैको नदी तलाउबाट ल्याइन्छ। माटोका कलात्मक वृन्दावन, चुगला, चकेवा, चरा, कजरौटा, सतभैयालगायतका मुर्तिहरु बनाइन्छ।
कार्तिक शुक्ल पञ्चमी अर्थात् छठको खरानादेखि यो क्रम सुरु भई कात्तिक शुक्ल पूर्णिमामा सकिने यो पर्वको अन्तिम दिनमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई निमन्त्रणा गर्छन्। च्युरा, दही, मिष्ठान, लगायतका मिठा पक्वान्न भोजन गराउँछन्।
यसपछि दाइभाइले घुँडामा राखेर सबै मुर्ति भाँच्छन् र ती मुर्तिलाई जोतेको खेतमा विसर्जन गर्ने चलन छ। यसलाई मैथिलीमा ‘फाँरभरी’ भन्ने गरिन्छ।
पूर्णिमाका दिनमा सामाचकेवाका आकृतिलाई खनजोत गरेको खेतमा लगेर विसर्जन गरिन्छ। 'अर्को वर्ष फेरि खेतमा आई बस्नु है' भन्दै सबै माटोका पात्रहरूको विसर्जन गर्ने चलन रहेको छ। सोही परम्परा अन्तर्गत कार्तिक पूर्णिमाका दिन ती माटाका मूर्तिहरु विसर्जन गरिएका छन्। विसर्जन गर्दा यो गीत गाइन्छ:
सामचको, सामचको अविह हे, अविह हे।
कुड खेतमे बैसिह हे, बैसिह हे।
पौराणिक कथा
पौराणिक कथाअनुसार सामाचकेवा पर्वमा कृष्ण, उनकी छोरी श्यामा (सामा), श्यामाका प्रेमी चक्रधर (चकेवा) र कुरा लगाउने चुडक (चुगला) जोडिएका छन्। सामा र चकेवाका मुर्ति अगाडि चुगलाको मुर्ति राखेर दाह्रीमा आगोले झोस्दै सामाचकेवाका लोकगीत गाइन्छ।
दाजुभाइ र दिदीबहिनीबीच प्रेम दर्शाउने यो पर्व करिब साढे पाँच हजार वर्ष पुरानो भएको विश्वास गरिन्छ। पौराणिक कथाअनुसार श्रीकृष्णकी छोरी सामा (श्यामा)को प्रेम सम्बन्ध चक्रधर (चकेवा)सँग हुन्छ। सामालाई त्यहाँका महासामन्त चुडक (चुगला)ले पनि मन पराएको हुन्छ। तर श्यामाले चुडकलाई अस्वीकार गर्छिन्। त्यसको रिस फेर्न चुडकले श्यामा विषयमा गलत कुरा कृष्णलाई भनिदिन्छ। श्यामाका बारेमा चुडकका कुरा सुन्दा श्रीकृष्ण अत्यन्त क्रोधित भएर श्यामा र चक्रधर (सामा र चकेवा) दुवैलाई चरा हुने श्राप दिन्छन्।
उता श्यामाले चरा बन्ने श्राप पाएपछि चूडकको नाम फेरेर चुगला राखिदिनुका साथै सबैले मुख झोसून् भनी श्राप दिन्छिन्। श्यामाको श्रापबाट रिसाएर चूडकले वृन्दावनमै आगो लगाइदिन्छ। आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ। आँधीका कारण एउटा रुख ढल्दा चूडक किचिएर मर्छ।
पिता कृष्णका श्रापले बहिनी श्यामा र उनका प्रेमी चक्रधर (चकेवा) चरा भएर विचरण गर्नुपरेको कुरा श्यामाका दाजु साम्ब (कृष्णका छोरा)ले थाहा पाउँछन्। बहिनी श्यामा र उनका प्रेमी चक्रधरको मुक्तिका लागि साम्बले तपस्या गर्छन् र पिता रिझाउन सक्ने वरदान पनि पाउँछन्। कृष्णसँग गरेको याचनाबाट श्यामा र चक्रधर (श्यामा र चक्रधर) श्रापमुक्त भई मनुष्य योनी प्राप्त गर्छन्। उनीहरूको विवाह हुन्छ भन्ने कथा छ।
दाजु साम्बको त्यही गुनलाई सम्झँदै श्यामाले गीत गाएको र दाजुप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको मिथिला संस्कृतिका जानकार बताउँछन्।
सामाचकेवासँगै मिथिलाको सांगितिक वातावरणको आनन्द लिन अब एक वर्ष कुर्नुपर्नेछ। यस वर्षको सामाचकेवा आज समापन भएको छ।