काठमाडौं– सर्वोच्च अदालतको फुलकोर्टले गोला प्रथाबाट इजलास तोक्ने गरी नियमावली संशोधन गर्ने निर्णय गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गरिरहेका न्यायाधीशहहरूसमेत सम्मिलित बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो।
यद्यपि बार एसोसिएसनले भने ‘कुनै पनि बहाना र सर्तमा प्रधानन्यायाधीशको राजीनामा नभएसम्म आन्दोलन नरोकिने’ जनाएको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पत्रकारहरूसँग भने, ‘भोलि (शुक्रबार) ३ बजेसम्म राजीनामा आएन भने थप कार्यक्रम गर्ने तय गरेका छौँ।'
फुलकोर्टले निर्देशिका कार्यविधि पारित गरेको छ। उक्त कार्यविधिमा १८ जनाले न्यायाधीशले हस्ताक्षर गरेर प्रधानन्यायाधीशलाई पठाइएको छ। नियमावली संशोधन गरेर गोला प्रणालीबाट पेसी तोक्ने व्यवस्था बनाए पनि गोला कसरी तान्ने र इजलास कसरी गठन हुन्छ भन्नेबारे विस्तृत व्यवस्थाका लागि ‘गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका २०७८’ बनाइएको हो। फुलकोर्टमा प्रधानन्यायाधीश जबरा भने सहभागी थिएनन्।
प्रत्येक दिन बिहान १० बजे प्रधानन्यायाधीश, न्यायाधीश, मुख्य रजिस्ट्रार र मुद्दा व्यवस्थापनमा संलग्न कर्मचारी तथा सूचना प्रविधि प्राविधिकको उपस्थितिमा गोला प्रक्रियाद्वारा इजलास गठन र दैनिक पेसी सूची निर्धारण हुनेछ।